![](https://suchanakohak.com/wp-content/uploads/2022/10/bank.jpeg)
बैंक तथा फाइनान्स कम्पनीहरुको लागि आर्थिक वर्ष २०७८/०७९ असहज बन्यो ।
वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव अर्थात् तरलता अभावको समस्या चुलिँदा बैंक तथा फाइनान्सले बजारको मागअनुसार कर्जा प्रवाह गर्न सकेनन् ।
वित्तीय प्रणालीमा अपेक्षा गरेअनुसार निक्षेप पनि आएन । यसको असर कर्जामा प-यो ।
यो अवस्थामा बैंक तथा फाइनान्स कम्पनीहरुले निक्षेप बढाउनकै लागि उच्च ब्याजदरसहितका विभिन्न किसिमका निक्षेप योजनाहरु ल्याए तर पनि निक्षेप संकलन बढ्न सकेन । यसले वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा सुरु भयो ।
नयाँ निक्षेप नआएपछि बैंक तथा फाइनान्स कम्पनीहरुबीच एक आपसमा नै चर्को ब्याजमा निक्षेप तान्ने होडबाजी सुरु भयो ।
यो अवस्थामा थप नयाँ कर्जा दिन नसक्ने अवस्थामा बैंक तथा फाइनान्स कम्पनीहरु पुगे पनि यसले कर्जाको ब्याज बढायो ।
बैंकिङ क्षेत्रको वित्तीय सन्तुलनमा केही समस्या देखियो । जुन समस्या अहिले पनि बैंकिङ क्षेत्रमा कायम नै रहेको छ ।
यो अवस्थामा राष्ट्र बैंकले अनुत्पादक क्षेत्रतर्फको कर्जामा कटौती गर्दै उत्पादनमूलक क्षेत्रतर्फको कर्जा प्रवामा जोड दिने नीति अघि सारेको थियो ।
तर यहीबीचमा पनि बैंक तथा फाइनान्स कम्पनीहरुले अनुत्पादक क्षेत्रमा भने कर्जा बढाएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकको बैंक तथा फाइनान्स कम्पनीहको निक्षेप तथा कर्जा लगानीसम्बन्धी मासिक तथ्यांकअनुसार सञ्चालनमा रहेका २६ वटा विकास बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरुले सुनचाँदी धितोमा मात्र चालू आर्थिक वर्ष असार २०७९ साउन मसान्तसम्ममा ५२ अर्ब ६० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंकहरुले प्रवाह गरेको यो कर्जा गत आवको सोही अवधिको तुलनामा आठ अर्ब ८२ करोड ६० लाख रुपैयाँले बढी हो । राष्ट्र बैंकका अनुसार २०७८ साउन मसान्तसम्ममा भने बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितो शीर्षकमा कुल ४३ अर्ब ७७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार गत आवको साउनको तुलनामा चालू आवको साउन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले सबैले सुनचाँदी धितो कर्जा बढाएको देखिएको छ ।
सो अनुसार वाणिज्य बैंकहरुले चालू आवको साउन मसान्तसम्ममा सुनचाँदी धितो शीर्षकमा ४७ अर्ब ५७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा आठ अर्ब ४१ करोड ८० लाख रुपैयाँले बढी हो । गत आवको साउनमा वाणिज्य बैंकहरुको यस्तो कर्जा ३९ अर्ब १५ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
यसैगरी विकास बैंकहरुमा पनि सुनचाँदी धितो कर्जा बढेको देखिएको छ । विकास बैंकहरुले चालू आवको साउन मसान्तसम्ममा सुनचाँदी धितोमा चार अर्ब तीन करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३० करोड ३० लाख रुपैयाँलो बढी हो । गत आवको साउनको विकास बैंकहरुको यस्तो कर्जा रकम तीन अर्ब ७३ करोड २० लाख रुपैयाँ रहेको थियो ।
फाइनान्स कम्पनीहरुले सुनचाँदी धितो कर्जा बढाएका छन् । राष्ट्र बैंकका अनुसार चालू आवको साउन मसान्तसम्ममा फाइनान्सहरुले सुनचाँदी धितोमा ९९ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
फाइनान्सहरुले प्रवाह गरेको यो कर्जा गत आवको सोही अवधिको तुलनामा १० करोड ५० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुको यस्तो कर्जा ८८ करोड ७० लाख रुपैयाँ रहेको थियो ।