कस्ता हुन्छन् मिथ्या सूचना ? के असर गर्छ ? अनि कसरी बच्ने ?

-


     सुचनाको हक     
     मंसिर १९ गते २०७९ मा प्रकाशित


साउथ एसिया चेकका सम्पादक दीपक अधिकारीको भनाइको भाब ।

हामी निष्क्रिय उपभोक्ता भयौ भने गलत सूचनाको धेरै सिकार हुन्छौँ। हामी जति सचेत हुन्छौ, त्यति भ्रामक सूचना कम आउँछन्। अर्को कुरा, मिडियाले पुरा सूचना र सबैले बुझ्ने भाषामा सूचना दिएमा भ्रामक सूचना फैलाउने मौका कसैले पाउँदैन।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अहिले मिथ्या सूचना फैलाउनमा यसले सघाउँदै आएको देखिन्छ। कुनै पनि सूचना सही हो कि होइन पत्ता लगाउनका लागि त्यसमा प्रयोग गरिएका तथ्य, तथ्यांक, घटना, घटनाक्रम, स्रोत, व्यक्ति, अभिव्यक्ति, तस्बिर, समय र सन्दर्भबारे मिहिन अध्ययन गर्नुपर्छ। तर घटनाक्रमसँग मिल्ने गरी ती मिथ्या सूचना फैलाइन्छ, ताकी आममानिसले त्यसलाई विश्वास गरुन्।

मिसइन्फर्मेसन
यस्ता भ्रामक सूचनालाई तीन किसिममा वर्गीकरण गरिएको छ। पहिलो मिसइन्फर्मेसन, दोस्रो डिसइन्फर्मेसन र अर्को मालइन्फर्मेसन। अर्थात् मिथ्या सूचना, दुष्प्रचार र सूचना तोडमोड। मिसइन्फरमेसन भनेको अन्जानवश कसैले फैलाएको गलत सूचना हो। यसमा कसैले केही सूचना पायो भने भेरिफाइ नगरी शेयर गर्ने हुन्छ।

आलोचनात्मक चेत राखी विश्लेषण गरियो भने यसबाट बच्न सकिन्छ। अन्यथा सूचना उपभोक्ताले भ्रामक सूचनामा विश्वास गर्न सक्छन्। मिसइन्फर्मेसनको एउटा उदाहरण लिऊँ। कुनै एक आयुर्वेदिक औषधिले ‘कोभिड निको हुन्छ’ भनेर राम्रै नियतले सूचना शेयर गरिएको हुनसक्छ। अरूलाई सचेत गराउने नियत हुनसक्छ। तर, त्यो उपचार विधि अपनायो भने अरू हानी गर्न सक्छ।
डिसइन्फर्मेसन
डिसइन्फर्मेसन भनेको चाहिँ नियतवशे गलत सूचना फैलाउनु हो। फैलाउनेलाई गलत हो भनेर थाहा हुन्छ। तर, त्यसो हुँदाहुँदै पनि जानाजानी र नियतवश अरूलाई भ्रमित पार्न यस्ता सूचना फैलाइन्छ। यसको उद्देश्य कसैको चरित्र हत्या गर्नु, हानी गर्नु वा नोक्सानी गर्नुहुन्छ।

डिसइन्फर्मेसन प्रायजसो सङ्गठित समूह, सरकार, राजनीतिक दल कुनै वा समूहलाई बदनाम गर्न प्रयोग भएको पाइन्छ। विशेष गरी यो चुनावको समयमा धेरै फैलिन्छ। आफ्नो कामको बढाइचढाइ गर्ने, अरूको नराम्रो भन्ने नियतले यो सूचना फैलाउने गरेको पाइन्छ। यस्ता सूचनाको भर पर्दा मानिसलाई जानाजानी अन्योलमा पर्ने बनाइदिन्छ। सार्वजनिक सुरक्षामा चुनौती हुनसक्छ । साम्प्रदायिक सहिष्णुता र सद्भाव बिग्रिन सक्छ ।

मालइन्फर्मेसन
मालइन्फर्मेसन भनेको कुनै पनि सूचनालाई गलत उद्देश्यका साथ प्रयोग गर्ने कार्य हो। मिसइन्फर्मेसन र डिसइन्फर्मेसनभन्दा यो मालइन्फर्मेसन अझ घातक हुन्छ । किनभने यो देश, व्यक्ति, कुनै संस्था वा समूहप्रति हानि पुर्‍याउने उद्देश्यले फैलाइन्छ । उदाहरणको लागि विकिलिक्समा आएको सूचनालाई आफ्नो विपक्षीको लागि प्रयोग गरेर देखाउने हो।

विकिलिक्सले प्रकाशित गरेको सूचना अमेरिकी दूतावासले पठाएको केबल हो। त्यो सार्वजनिक भएपछि कुनै नेताले अमेरिकी दूतावासका कर्मचारीसँग भेटेको खबर बाहिर आयो। त्यो नेता त एजेन्ट रहेछ भनेर सूचना फैलाउने काम गरियो। यो मालइन्फर्मेसन हो। कसैमाथि कुनै सूचनामा खेलेर हानी पु¥याउन बदनाम गर्ने उद्देश्यले यो मालइन्फर्मेसन प्रयोग गरिन्छ।

गलत निर्णयको फन्दामा कसरी परिन्छ ?
यस्ता गलत सूचनाबाट नागरिक गलत निर्णय लिन प्रेरित हुन्छन्। यसको एक उदाहरण लिऔँ। ‘गुर्जो धेरै सेवा गरेमा कोरोना निको भन्छ’ भनेर समाचार र सामग्रीहरू आए। धेरैले पत्याएर सेवन गरे। पछि कलेजोमा समस्या भएको पुष्टि भयो। हामी सबै डाक्टर होइन, विज्ञ होइन।

यसैले कुनै सूचना सामाजिक सञ्जालमा भेटेकै भरमा पत्याउने चेष्टा गर्नुहुँदैन। अहिले आम मानिसले कुन सूचना सही हो, कुन सूचना गलत हो भनेर छुटाउन सक्दैनन्। इन्टरनेटमा आएका सबै सूचना सही होला भनेर शेयर गर्छन्। यस कारण गलत सूचनाको मलजल भइरहेको पाइन्छ।

कसरी चिन्ने मिथ्या सूचना?
प्रधानमन्त्री, मन्त्री, सांसद, शिक्षक र समाजका अगुवा, सामाजिक सञ्जालमा सक्रिय व्यक्तिलगायतले मिथ्या सूचना फैलाएको पाइन्छ। ती सूचनामा पत्रकारदेखि अधिकारकर्मी र कानुन व्यवसायीले समेत प्रतिक्रिया दिन्छन्, शेयर गर्छन्। तर, उनीहरूले त्यो सूचना सही हो वा होइन, जाँच गर्दैनन्।

सूचना तथा सञ्चार साक्षरता भएमा मात्र भ्रामक सूचनाको मलजल हुनबाट रोकिन्छ। नत्र यो रोक्न सकिँदैन। सामाजिक सञ्जाल प्रयोगकर्ता वा मिडियामा समाचार हेर्नेले कुनै पनि सूचनालाई आलोचनात्मक तरिकाबाट हेर्न सक्नुपर्छ। त्यो सूचनाको स्रोत के हो? कहाँबाट आयो? कसले शेयर गरेको छ ? त्यो जाँचपड्ताल गरेर शेयर गर्नुपर्दछ।

अर्को कुरा हाम्रो स्कुल कलेजमा सञ्चार साक्षरताको बारेमा पढाई हुँदैन। मिडियाले समाचार कसरी उत्पादन गर्छ? समाचार पढ्नेहेर्ने मानिसले समाचार उत्पादनको तरिका थाहा पाउँदैन भने त्यहाँ गलत समाचार आएको बारेमा उसलाई शङ्का हुँदैन। यदि गलत भए पनि उसले त्यसको बारेमा जानकारी पाउँदैन। कुनै सोसल मिडियामा सत्यझैँ लाग्ने गरी आएको डकुमेन्ट फर्जी पनि हुनसक्छ। त्यहाँ प्रयोग गरिएको मिति, भाषा शैली, लोगो, हस्ताक्षर, अक्षरका फन्टहरूबाट पनि केही क्लु पाउन सकिन्छ।

मिडियाका नाम बेचेर मिथ्या सूचनाको खेती
कुनै विश्वसनीय अनलाइन मिडियाको छुट्टै ब्रान्ड भएको हुनसक्छ। जहाँ धेरै पत्रकार काम गर्छन् र सम्पादकीय अनुगमन हुन्छ। त्यसमा त्रुटिसहितका समाचार जाने सम्भावना कम हुन्छ। त्यही अनलाइन न्यूज पोर्टलको नामसँग मिल्ने गरी अर्कोले साइट बनाएर चलाउन पनि सक्छ। पाठकलाई झुक्याएर धेरै पटक समाचार क्लिक होस् भनेर यस्तो गरिन्छ। जस्तै तपाईँले ‘सुर्खेतबाट काठमाडौंबाट आएको प्लेन दुर्घटना’ भनेर समाचार देख्नुभयो भने त्यहाँ क्लिक नगरी हेडलाइन कपी गरेर गुगलमा सर्च गरेर अरू मिडियामा आएको छ कि छैन त्यो हेर्न सक्नुहुनेछ।

पत्याउन मुस्किल लाग्ने समाचार आएमा यसो गर्दा विश्वासिलो अर्थात् समाचारको स्रोत तथा तथ्यसहित समाचार प्रकाशन प्रसारण गर्ने अरू मिडियाले त्यो समाचार राखेका छन् वा छैनन् त्यहाँबाट समाचारको सत्यता थाहा पाउन सकिन्छ। अरू विश्वासिलो मिडियामा त्यो आएको भेटिएन भने केही समय रोकिनुपर्याे। यदि आयो भने सत्य रहेछ। आएन भने त्यो समाचार गलत हुने सम्भावना हुन्छ।

अर्को ठूलो समस्या के हो भने, समाचार वा सूचनामा आउने दाबीहरूको सत्यपन नगरिएको हुनसक्छ्। त्यो भनेको जसले भनेको उसको दाबी मात्र हो। तर, विश्वासिलो मिडियाले तथ्यजाँच गरेरै लेखेको छ भने त्यसलाई पत्याउनै पर्याे। तर, नाम नै नसुनेको, धेरै पटक गल्ती गरेको मिडियाले लेखेको छ भने त्यसमा भर पर्नु भएन। त्यो समाचारको स्रोत के हो? र अरू विश्वासिलो मिडियामा आएको छ वा छैन, हेर्नुपर्छ। नत्र हामी भ्रमको सिकार हुनसक्छौं।

इन्फरमेसन गलत छ भन्ने लाग्यो भने के गर्ने?
अहिलेको जमानामा हरेक व्यक्ति पत्रकार हो। सूचना अरू सामु पुर्‍याउने सन्दर्भमा धेरै सामु सूचना दिन सकिन्छ। फेसबुक, ट्विटर, टकटकलगायत धेरै प्रयोगकर्ता भएका सामाजिक सञ्जालमा तथ्य के हो, त्यो राखिदिन सकिन्छ। अर्को भनेको हामीजस्ता फ्याक्टचेकर वा रिपोर्टरलाई ती जानकारी दिन सकिन्छ र हामीले तथ्य जाँच गर्छौ।

अर्को कुनै कुरा सामाजिक सञ्जालमा फैलियो भने, त्यो किवर्ड सर्च गरेर पनि सत्य थाहा पाउन सकिन्छ। ती शब्द वा त्यहाँ भएको विवरणलाई सर्च इन्जिन –जस्तै गुगल, टिनआई) मा खोज्ने। त्यसबाट थप कुरा थाहा पाउन सकिन्छ। वा कुनै शङ्कास्पद फोटो भेटिएमा गुगल इमेज सर्चमा गएर त्यो फोटो सम्बन्धित घटनाको हो वा पुरानो हो त्यहाँ देख्न सकिन्छ। यदि त्यो फोटो पहिला नै आइसकेको रहेछ भने गुगलले देखाउँछ। र थाहा पाउन सकिन्छ, यो पुरानो फोटो प्रयोग गरेर भ्रम फैलाइएको रहेछ भन्ने।

हामी निष्क्रिय उपभोक्ता भयौ भने गलत सूचनाको धेरै सिकार हुन्छौँ। हामी जति सचेत हुन्छौ, त्यति भ्रामक सूचना कम आउँछन्। अर्को कुरा, मिडियाले पुरा सूचना र सबैले बुझ्ने भाषामा सूचना दिएमा भ्रामक सूचना फैलाउने मौका कसैले पाउँदैन।

तथ्य जाँचको इतिहास
शूरुमा तथ्यजाँच अमेरिकाबाट शुरु भएको मानिन्छ। सन् २०१६ मा अर्जेन्टिनामा भएको विश्वभरका तथ्य जाँचकीहरूको भेलाले इन्टरनेशनल फ्याक्ट चेकर्स नेटवर्कको स्थापना गरेर हरेक वर्षको अप्रिल २ तारिखलाई अन्तर्राष्ट्रिय ‘फ्याक्ट चेकिङ डे’ को रुपमा मनाउने निर्णय गरेको थियो। अहिले विश्वभर एक सयभन्दा धेरै फ्याक्ट चेकर्स अर्थात् तथ्य जाँच गर्ने संस्थाहरू रहेका छन्।

आमनागरिकमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको पहुँच बढेसँगै मिथ्या सूचना सम्प्रेषण पनि बढेको र यसले समाजमा विभिन्न समस्या पैदा गरेपछि हामीले पनि नेपालमा शुरु गरेका हौँ। पछिल्लो दुई वर्षयता हामीले सामाजिक सञ्जाललाई ध्यानमा राखेर फ्याक्ट चेक गरिरहेका छौँ। किनकि धेरै जसो भ्रामक सूचना सामाजिक सञ्जालबाट नै फैलिरहेको छ।

हामीले गर्ने फ्याक्ट चेकिङ दुई खाले हुन्छ। एउटा प्री पब्लिकेसन फ्याक्ट चेक। अर्को पोस्ट पब्लिकेसन फ्याक्ट चेक। कसैले भिडिओ शेयर गर्याे वा कसैले भाषण गर्याे, कुनै सूचना सनसनी रूपमा फैलियो भने त्यो गलत हो भन्ने लागेमा हामी पछिपछि दौडन्छौँ। अर्थात् त्यसको तथ्य जाँच गर्छौ। किनकि त्यो दाबी वा सूचना गलत हो भने त्यसले क्षति गर्न सक्छ। त्यसैले क्षति नगरोस् भनेर हामी सत्य तथ्य खोज्न लाग्छौँ।

अर्को छ, एडिटोरियल फ्याक्ट चेकिङ। त्यो भनेको मिडियाले एउटा न्यूज तयार गर्छ। त्यो प्रकाशन पूर्व, नाम, ठेगाना, मिति, पद, घटनाको विवरण, ठाउँहरू बारेमा फ्याक्ट चेकिङ गर्ने हो। त्यसो गर्दा गलत सूचना प्रकाशन हुन पाउँदैन। कतिपय भ्रष्टाचारलगायत संवेदनशील समाचारमा त मुद्दा पर्नबाट पनि जोगिन्छ। यसले कसैको मानहानि वा ठूलो क्षति हुनबाट बचाउँछ।

तथ्य जाँचको चुनौती
तथ्य जाँचको लागि तथ्यहरूको आवश्यकता पर्छ। जस्तो कुनै नेताले भन्छ कि मैले यति किलोमिटर सडक बनाएँ भनेर। त्यसलाई काउन्टर गर्नको लागि हामीसँग तथ्य हुनुपर्छ। नत्र उसले भनेको कुरा गलत हो भनेर कसरी भन्ने? हामीकहाँ या त पर्याप्त तथ्य तथ्यांक छैन या ती सार्वजनिक रुपमा उपलब्ध छैनन्। हाम्रो सानो टिम छ। त्यसैले स्थलगत रिपोर्टिङ गर्न हामीलाई गाह्रो छ। त्यसैले हाम्रा तथ्यांक खुल्ला गरिनुपर्‍यो। ती तथ्यांक र सूचना तथ्य जाँचकी, शोध अनुसन्धानकर्ता सबैको पहुँचमा हुनुपर्‍यो।

यदि त्यहाँ तथ्य पाइयो भनी त्यो नेताको भाषण गलत भनेर भन्न सकियो। यदि रहेनछ भने त्यो नेताको कुरालाई गलत भन्नै सकिएन। अरूलाई गल्ती देखाउँदा आफू फसियो भने त आफ्नै विश्वसनीयता धरापमा पर्छ। यसकारण अरूलाई गलत देखाउन सजिलो छैन। धेरै चुनौतीपूर्ण छ। कतिपय सूचना समाचार देख्ने बित्तिकै शङ्का लाग्छ। तर, तथ्य जाँच गर्न सकिँदैन किनभने हामीले धेरै समय विश्वसनीय, भरपर्दो र गुणस्तरीय तथ्यको खोजीमा लगाउँछौँ।

कतिपय अवस्थामा विभिन्न मिडियामा फरक फरक तथ्य आयो भने त्यसलाई हामी फ्याक्ट चेक गछौं। यसरी फ्याक्ट चेक गर्दा धेरै फैलिएको, भाइरल विषयमा गरिन्छ। त्यो सूचना कति फैलिएको छ, कति असर गर्न सक्छ, त्यसको अवस्था हेरेर फ्याक्ट चेक गर्ने गरेका छौँ।
सार्वजनिक वृत्तमा भएका मानिसहरू, नेता तथा प्रभावशाली व्यक्तिका दाबी तथा भनाइहरूमाथि फ्याक्ट चेक गछौं। हामीले फ्याक्ट चेक गरेर सामग्री लेख्दा हामीले गरेका विधिहरू पनि लेख्ने गछौं। जसले गर्दा पाठकले पनि त्यही विधि अपनाएर फ्याक्ट चेक गर्न सकुन्।

नेपालीमाझ तथ्यचाँज
हामीले गरिहरेका तथ्य जाँच धेरै मिडियाले प्रकाशित गर्छन्। धेरैभन्दा धेरै पाठकमाझ पुगोस् भनेर नेपालका मिडियालाई हाम्रा सामग्री प्रकाशनका लागि उपलब्ध गराइन्छ। विशेष गरी कोरोना महामारीपछि धेरै सर्वसाधारण सचेत हुँदै गएका छन्। फ्याक्ट चेकको महत्त्व बुझ्दै गएका छन्।

भ्रामक सूचनाबाट बचाउन स्कुलबाटै विद्यार्थीलाई पठाउनुपर्छ। समाचार के हो? कसरी उत्पादन हुन्छ ? सोसल मिडियामा कसरी कस्ता सामग्री आउँछन्? के उद्देश्यले आउँछ ? शङ्का लागेमा के गर्ने? कसरी तथ्य जाँच गर्नेलगायतका कुराहरू सिकाउनुपर्छ। किनकि सानो बच्चाले पनि सही सूचना पाउनुपर्छ नि। जस्तो बच्चाले म कसरी जन्मिएँ भनेर सोध्यो भने तिमी आकाशबाट आएको, बाटोमा भेटिएको भनेर टारिदिने चलन छ। एक छिनको लागि बच्चाको मुख टाल्नको लागि टारिदिएको जवाफले त्यो बच्चालाई पछिसम्म त्यही धारणा बसिरहन सक्छ। यस्ता अरू पनि धेरै उदाहरण छन्। हामीले बालबालिकालाई सही तथ्य दिनुपर्छ। उनीहरूलाई बुझाउने कोसिस गर्नुपर्छ।

अप्रिल १ को भोलिपल्ट नै किन तथ्य जाँच दिवस?
अप्रिल १ मा धेरैले हाँसो मजाकको रूपमा मूर्ख बनाउने गर्छन्। यो प्रचलन विश्वभर छ। तर, अघिल्लो दिनको आफूलाई आएको सूचना सही हो या गलत हो भन्ने थाहा पाउन भोलिपल्ट फ्याक्टचेक गर्ने हो।

लोकतन्त्र र तथ्य जाँचको अन्तरसबन्ध ?
गलत सूचनाले लोकतन्त्रलाई असर गर्छ। लोकतन्त्र भनेको के हो ? जनताले सही प्रतिनिधि छान्ने र तिनलाई जबाफदेही बनाउने हो। को उम्मेदवार सही हो, को गलत हो, कसले के गरिरहेको छ, कुन दलले सही काम गरेको छ भन्ने जान्न सूचना समाचार हेर्नुपर्ने हुन्छ।

मिथ्या सूचनाले दिने झुटो जानकारीका कारण मतदाताले गलत निर्णय गर्न सक्छन्। त्यसैले लोकतन्त्र बलियो बनाउन पनि मिथ्या सूचनाबाट जोगिनु र खबरदारी गर्नु आवश्यक हुन्छ।

यदि, जनताले सही सूचना पाएका भए जनताहरूले सही मानिसलाई चयन गर्न सक्थे। यस कारण सही सूचना जनतालाई दिन सकेमा लोकतन्त्र मजबुत हुन्छ।

मिथ्या सूचनाबाट यसरी बचौँ ?
कुनै पनि नपत्याउने खालका घटना भएका सामग्री इन्टरनेटमा देख्ने, पढ्ने बित्तिकै तुरुन्तै विश्वास गरिनहालौँ। आलोचनात्मक चेत विकास गर्नुपर्छ। दोस्रो, समय छ भने सामग्री सही छन् कि छैनन्, परीक्षण गर्नुपर्छ। यसको लागि अरू मिडियाहरू पनि अध्ययन गर्नुपर्छ। तेस्रो, कुनै पनि सामग्री आफ्नो सोसल मिडियामा सेयर गर्न वा त्यसका सूचनाका आधारमा आफ्नो विचार राख्न हतार नगर्नुहोस्।

कुनै विश्वसनीय समाचार माध्यममा तथ्य प्रमाणसहित ती कुरा आउने समयसम्म पर्खनुहोस्। ती सामग्री अन्त कतै आएनन् भने रोकिनुहोस्। पुराना सामग्रीलाइ नयाँ घटनाको भनेर राखिएका हुनसक्छन्। त्यसको पुष्टि नभई त्यसमा रियाक्सन गर्ने वा कमेन्ट लेख्ने काम नगर्नुहोस्। त्यसो गर्दा त्यो पोस्ट झन् धेरै फैलिन सक्छ।

नेपाल सूचना प्रविधिको विकासकै क्रममा रहेको र यससम्बन्धी धेरैलाई कम मात्रै ज्ञान रहेकाले मिथ्या सूचना फैलने र त्यसैलाई विश्वास गर्ने समस्या धेरै देखिएको छ। मिथ्या सूचनाको जोखिम घटाउन सबै जना जिम्मेवार बन्नुपर्छ। सूचनाको आधिकारिकतामा ध्यान दिनुपर्छ।