मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाइ भ्रष्टाचार सम्बन्धी आरोप-पत्र दायर।

-


     सुचनाको हक     
     पौष १५ गते २०७८ मा प्रकाशित


मालपोत कार्यालय, चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेलले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग रु. ५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज मुकुन्द पौडेललाई सेवाग्राहीबाट रु. ५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत तथा भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन (करार) बिरेन्द्र बहादुर कठायतले अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ५,००,०००।– घुस/रिसवत माग गरी निज बिरेन्द्र बहादुर कठायतलाई सेवाग्राहीसँग रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) नगद र ३,५०,०००।- (तीन लाख पचास हजार रुपैयाँ) रकम बराबरको चेकसमेत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

जिल्ला चितवन, भरतपुर म.न.पा. वडा नं. २० स्थित अमिन पदमा कार्यरत बिरेन्द्र बहादुर कठायतले नामसारी एवं अंशबण्डा गर्दा राख्नु पर्ने बाटोको लगत कट्टा गर्नको लागि सहजिकरण गरे वापत सेवाग्राहीसँग रु.१,५०,०००।–नगद र रु.३,५०,०००।–को चेकसहित जम्मा रु.५,००,०००।–र मालपोत कार्यालय, चनौली, चितवनमा कार्यालय प्रमुखको रुपमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेलले रु.५०,०००।– माग गरी आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्बक रकमको बार्गेनिङ गरी घुस/रिसवत वापतको रकम लिएको पुष्टी हुन आएको हुँदा बिरेन्द्र बहादुर कठायतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निजलाई रु.१,५०,०००।– (अक्षेरुपी एक लाख पचास हजार रुपैयाँ) नगद र रु.३,५०,०००।– (अक्षेरुपी तीन लाख पचास हजार रुपैयाँ) को चेक गरी जम्मा बिगो रु.५,००,०००।– (अक्षेरुपी पाँच लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) वमोजिम सजाय हुन र मुकुन्द पौडेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.५०,०००।– (अक्षेरुपी पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ बमोजिम एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाण्डौमा अरोपपत्र दायर भएको छ ।