बाजुरामा स्याउ उत्पादनको राम्रो सम्भावना तर बजार सम्म ल्याउन समस्या

-


     सुचनाको हक     
     मंसिर २८ गते २०७९ मा प्रकाशित


करिब ३५ वर्षअघिको कुरा, हुँर्कंदो युवा उमेरका कर्ण रोकाया बाजुराबाट स्याउको भारी बोक्न डोटीको दिपायलमा आएका थिए। उनको घर बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-१, जरु मस्तोला हो।

एक पटक भारी पुर्‍याएको चार सय रुपैयाँ ज्याला पाइने सुनेर उनी घरबाट हिँडेका थिए। उनले दिपायलबाट सिलगढीसम्म स्याउका बिरुवाका भारी बोके।

कर्णले त्यहाँ स्याउका बोटहरू देखेपछि आफ्नो बारीमा पनि घरमा रोप्ने विचार गरे।

उनले दुई पटक भारी बोकेर कमाएको आठ सय रुपैयाँ मध्येबाट स्याउका ३२ वटा बिरुवा किने। बिक्रेता खुसी भएर सित्तैमा तीन वटा थपिदिए।

कर्णले आफ्नो बारीमा रोपे तर धेरै जसो बिरुवा सप्रेनन्, त्यसै सुकेर गए। थोरैमा स्याउ फल्यो। गाउँलेहरू समेत मिलेर खाए। पहिलो पटक एक डोको स्याउसँग अन्न साटे। त्यसपछि झन्डै दस वर्ष त्यतिकै बित्यो।

कर्णले भने, ‘अरू काममा व्यस्त हुँदा स्याउमा ध्यान गएन। त्यो बेला स्याउबाट पैसा आउँछ भन्ने सोचेको पनि थिएन।’

करिब २५ वर्षअघि, २०५५ सालमा कर्णले स्याउ खेती गर्ने विचार गरे। बिरुवा खोज्दै जुम्ला पुगे।

जुम्लामा स्याउको व्यावसायिक खेती हुन थालेको थियो। त्यहाँको कृषि फर्मबाट कर्णले ११ सय वटा बिरुवा किने। आफ्नो बारीमा रोपे, हुर्काए। फल्न पनि थाल्यो।

उनका अनुसार स्याउ प्रशस्तै फल्थ्यो। बिक्रीको कुरा नै थिएन। केही स्याउसँग अन्न साट्थे। बाँकी सबै घरमा खायो, आफन्त र छरछिमकीलाई बाँड्यो, यसै सकिन्थ्यो।

तैपनि कर्ण स्याउ खेती गर्न तम्सिए। उनी २०६३ सालमा थप बिरुवा लिन जुम्ला गए। देशमा चलेको सशस्त्र द्वन्द्वका कारण त्यहाँको कृषि फर्म जलेको थियो।

उनले एक किसानसँग २५ रुपैयाँका दरले दुई हजार वटा बिरुवा किने।

‘हिँडेर जुम्ला आउन–जान एक हप्ता लागेको थियो,’ उनले भने, यसपटक चाहिँ केही बिरुवा छिमेकीहरूलाई पनि दिएँ।’

अब उनी एक्ला भएनन्। गाउँमा स्याउ खेती बढ्दै गयो। पाँच वर्षअघि एक गैरसरकारी संस्थाले स्याउ खेती गर्ने किसानलाई सहयोग गर्ने भयो।

सहयोग पाउने भएपछि केही किसान स्याउ खेतीमा लागे।

स्याउ त फल्यो तर बेच्ने बजार भएन। गाउँमा अलिअलि बिक्री हुन्थ्यो। बाँकी सबै गाईभैँसीलाई खुवाउँथे। कर्ण पनि त्यसै गर्थे।
कर्णले स्याउ खेतीको प्रारम्भिक दिनका कुरा सुनाए, ‘पहिला फलायौँ मात्रै बिक्री गर्न जानेनौँ। टाढा लैजान बाटो थिएन। गाईभैँसीलाई खुवायौँ। गाउँतिर लगेर अलिअलि अन्न साट्थ्यौँ।’

यसै बीच कर्ण केही रुपैयाँ कमाउने उद्देश्यले भारतको हिमाञ्चल प्रदेशमा गए। त्यहाँ पनि उनले स्याउ टिप्ने काम गरे।
एक वर्षमा उनले स्याउ खेतीको धेरै काइदा थाहा पाए। अनि घर फर्किने निर्णय गरे।

‘भारतमा स्याउको काम धेरै सिकेँ। यस्तो काम त मेरो गाउँमै छ, आफ्नै गाउँमा मेहनत गर्छु भनेर त्यहाँबाट एक वर्षमै फर्कें,’ उनले भने।

अहिले कर्ण आफूले फलाएको स्याउ बजार पुर्‍याएर बेच्छन्। यसरी बेच्न थालेको दुई वर्ष भयो। उनी व्यावसायिक किसान भएका छन्।
यस वर्ष उनले आफ्नो बगैँचामा करिब एक क्विन्टल स्याउ फलाए। गाउँका अन्य किसानले फलाएको स्याउ प्रतिकिलो २० रुपैयाँका दरले किने।

यस वर्ष भदौदेखि कात्तिकसम्ममा उनले २४ क्विन्टल स्याउ बेचे।

कर्ण जुम्लाको स्याउ ढुवानी गरेर नेपालगन्ज पुर्‍याएर बेच्छन्। यस पटक बाटो अवरुद्ध हुँदा बजार पुर्‍याउन केही दिन ढिलो भयो। यही कारणले मूल्य केही कम पाए।

‘बाटो बन्द हुँदा स्याउ समयमै बजार पुर्‍याउन पाइएन। ढुवानीमा धेरै खर्च भयो। सबै खर्च कटाएर मलाई ५५ हजारमात्रै बच्यो। मेरो लागि त यो पनि ठूलो हो,’ उनले भने, ‘पहिलोपटक म बजार बुझ्न आएको थिएँ, धेरै कुरा थाहा पाएँ।’

कर्णले आफूले उत्पादन गरेको स्याउ बजारमा सस्तो हुनुमा आफ्नै कमजोरी रहेको पनि थाहा पाए।

‘स्याउ काटछाँटमा कमजोरी रहेछ, जुम्लाको रातो हुन्छ। हाम्रोमा एकातिर रातो र अर्कोतिर सेतो हुन्छ,’ उनले भने, ‘मिलाएर बोट काटछाँट गर्न नजानेर स्याउ दुई रङको भएको रहेछ।’

आफ्नो गाउँका स्याउ कृषकलाई कृषि विज्ञको सहयोग चाहिएको उनको भनाइ छ।

उनका अनुसार स्याउको बोट काटछाँटका लागि जिल्ला कृषि ज्ञान केन्द्र र गाउँपालिकाले तालिम दिन्छन् तर बगँैचामा अभ्यास गराउँदैनन्।

स्वामीकार्तिक खापर गाउँपालिका–३ का अनिल शाहीले पनि यो वर्ष ४० क्विन्टल स्याउ बेचे।

जिल्ला कृषि ज्ञान केन्द्रले स्याउ ढुवानीमा अनुदान दिन्छ भन्ने सुनेको भए पनि आफूले पहल नगरेको उनले बताए। अनिलले सुर्खेत, नेपालगन्ज र धनगढी पुर्‍याएर स्याउ बेचे। उनले १२ क्विन्टल स्याउ फलाएका थिए। थप स्याउ गुणस्तर अनुसार फरक–फरक मूल्यमा गाउँमै खरिद गरेर बजार पुर्‍याए।

‘घरबाट बोकेर गाडी पाइने ठाउँसम्म पुर्‍याउन धेरै समय लाग्छ, मान्छेले धेरै समय बोक्दा स्याउमा दाग लाग्छ,’ अनिलले भने, ‘मैले स्याउ लैजाँदा बाटो भत्केको थियो। केही कुहिएर बाटोमै खेर गयो।’

कृषि ज्ञान केन्द्रबाट ढुवानीमा अनुदान नदिने हो भने लगानी उठाउन नसकिने उनको भनाइ छ।

भन्छन्, ‘यहाँ बाटोकै कारण धेरै समस्या छ। स्याउकै सिजनमा साँफे–मार्तडी सडकखण्ड बेलाबेला बन्द हुन्छ। कर्णाली करिडोर पनि बन्द हुन्छ।’

बगैँचाअनुसार स्याउ किसानले सिँचाइका पानी ट्याङ्की पाउनुपर्ने पनि उनको भनाइ छ।

जिल्ला कृषि ज्ञान केन्द्र कार्यालय, बाजुराका अनुसार यस वर्ष कर्ण र अनिलसहित केही किसानले आफ्नो उत्पादन र खरिदबाट बजारमा स्याउ पुर्‍याएका थिए।

केही किसानले सहकारी र समूह मार्फत् पनि स्याउ बजारमा पु¥याए। कृषि ज्ञान केन्द्रका प्रमुख हरि पनेरुका अनुसार यस वर्ष करिब पाँच सय क्विन्टल स्याउ बाजुराबाहिर गयो।

उनका अनुसार किसानले प्याकेजिङमा पनि अनुदान पाउँछन्।

बाजुराको स्याउ मुख्यतया धनगढी, सुर्खेत र नेपालगन्ज पुग्ने गरेको पनेरुले बताए।

यस वर्ष बाजुरामा ६ सय हेक्टर क्षेत्रफल स्याउ खेती भएको थियो। यसमध्ये २४० हेक्टरमा मात्रै स्याउ फलेको उनले बताए।

यस वर्ष बजार पुर्‍याउँदा प्रतिकेजी ७० रुपैँयादेखि ११० रुपैयाँसम्ममा बिक्री भएको किसानहरूको भनाइ छ।

पनेरुका अनुसार सबै खर्च कटाएर किसानले प्रतिकिलो बीसदेखि पचास रुपैयाँ बचाउन सके।

बाजुराका गाउँपालिकाहरू स्वामिकार्तिक जगन्नाथ, गौमुल, हिमाली तथा बुढीनन्दा नगरपालिकामा केही किसान व्यावसायिक स्याउ खेतीमा लागेका छन्।

किसानहरूका अनुसार बिस्तारै बाजुराको स्याउले बजारमा भाउ पाउन थालेको छ।

बाटो नहुँदा कहिलेकाहीँ हेलिकोप्टर र हवाईजहाजबाट समेत ढुवानी गर्नुपरेको उनीहरूको गुनासो छ।

बाजुरामा स्याउ उत्पादनको राम्रो सम्भावना भए पनि ढुवानीको समस्याले किसानहरू उत्साहित हुन नसकेको अनिलको भनाइ छ। ढुवानीमा अनुदान, सिँचाइ, कृषि विज्ञ लगायतमा सरकारको सहयोग पाए बाजुरामा धेरै स्याउन उत्पादन हुनसक्ने उनको विश्वास छ।