भ्रस्टचारको आरोपमा प्रहरी नायव निरीक्षक चौधरीलाई मुद्धा

-


     सुचनाको हक     
     पौष ५ गते २०७९ मा प्रकाशित


धनुषा जिल्ला , नगराइन नगरपालिका-२, जटहीस्थित पसलका संचालकसँग पसल संचालन गर्न महिनावारी रुपमा रकम दिनुपर्ने अन्यथा पसल संचालन गर्न नदिने भनी सीमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीले घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीलाई सेवाग्राहीसँग रु.४,०००/- (चार हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति  २०७९।०७।१७ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सीमा प्रहरी चौकी, लग्मा, जटही धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक देवकी लाल चौधरीले आफ्नो कार्यालयको मोटरसाइकल बनाउने बहाना गरी व्यवसाय संचालन गरेवापत गैरकानुनी रुपमा मिति २०७९।०७।१७ गते रु.४,०००।–र सोही कार्यको लागि सोभन्दा अगाडि रु.५,०००।–गरी जम्मा रु.९,०००।–घुस रिसवत माग गरी लिएको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐ.को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर भएकोले निज देवकी लाल चौधरीलाई रु.९,०००।– (नौ हजार रुपैयाँ मात्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र विगो बमोजिम जरिवाना गरी विगो जफत हुन मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।