अरूण चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सांसद छन्। उनि अदालतको आदेश अनुसार थुनामा बसेका पनि छैनन र जरिवाना पनि बुझाएका छैनन तर एमाले संसदलाई पकाउ नगरेको भनि रविको खेदो खन्ने मिडिया यी बिषयमा किन मौन रह्यो एक रेग्मी थर गरेका पूर्व शिक्षक भन्नुहुन्छ कांग्रेश हरु भोट घट्छ भनेर बोल्दैनन एमालेले चौधरी हाम्रै मतदाता हुन् भनेर मौन बस्छन यो बिषय सबैलाई थाहा भएको तर आफुले हारिन्छ कि भनेर बिरोध नगरेको हो भन्नुहुन्छ अहिले उसैले जितेपछी बल्ल यो कुरा झिकिएको बताउछन
गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जिते।यसअघि पनि उनले दुई पटक निर्वाचन लडिसकेका थिए। ती दुबै चुनाव उनले हारेका थिए।
२०७४ मा भएको स्थानीय तह निर्वाचनमा मेयरका लागि उम्मेदवारी दिएका थिए। त्यतिबेला एमालेका महादेव बजगाईंले मेयरमा जितेका थिए।
त्यही वर्ष भएको प्रदेश सभाको निर्वाचनमा पनि चौधरीले उम्मेदवारी दिए। त्यसमा पनि उनी पराजित भए।
स्थानीय तह र प्रदेश सभामा पराजित भएका चौधरी यसपालि प्रतिनिधि सभा निर्वाचन लडे र निर्वाचित भए। अहिले उनी प्रहरीको फरार सूचीमा रहेको तथ्य बाहिर आएको छ।
९ वर्षसम्म फरार रहेको र पटक-पटक निर्वाचन लडेको भए पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको थिएन। लामो समयसम्म यसरी पक्राउ नगरेपछि प्रहरीको आलोचना समेत भएको छ।
सांसद चौधरीलगायत तीन जना आगजनी मुद्दामा दोषी ठहर भएकाहरू हुन्।
अरूण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलाशले २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय तोकेको थियो। अदालतले ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो भराउन पनि आदेश दिएको थियो।
लामो समयसम्म फरार रहेका एक जना प्रतिवादी वीरबहादुर चौधरी गत बिहीबार अदालतमा पुगेका थिए। उनी अहिले अदालतमा किन हाजिर भए भन्ने खुलेको छैन। तर उनी एक निवेदन लिएर जिल्ला अदालत कैलालीमा पुगेका थिए।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार माग सहितको निवेदन लिएर उनी अदालत गएका थिए।
उक्त दफामा कैदबापत रकम तिर्न सकिने उल्लेख छ।
‘कुनै कसूरमा पहिलो पटक कसूरदार ठहरी एक वर्ष वा एकवर्षभन्दा कम कैदको सजाय भएको मुद्दामा कसूरदारको उमेर, कसुरको गम्भीरता, कसूर गरेको तरिका, आचरण समेतलाई विचार गर्दा कारागारमा राख्नु उपयुक्त नदेखिएमा तथा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानून र व्यवस्थामा खतरा पुग्ने समेत नदेखिएमा त्यसको कारण खुलाई अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यसबापत रकम लिई कैदबाट छाडिदिन उपयुक्त ठहर्याएमा कैद बापतको रकम तिरी कैद बस्नु नपर्ने गरी आदेश दिन सक्नेछ,’ उक्त दफामा भनिएको छ।
उनले कैद सजायबापत र बिगो रकम तिर्नेगरी माग गरेका थिए। अदालतले उनको माग बमोजिम आदेश नदिई उनलाई कारागारमा पठाएको जिल्ला अदालतका शाखा अधिकृत नवराज पाण्डेयले बताए।
‘उनले माग गरेजस्तो सुविधा नपाउने भएकाले आदेश भएन। त्यसपछि उनलाई कारागारमा पठाएको छ,’ उनले भने, ‘उनले दैनिक ३०० रुपैयाँ तिर्ने गरी माग गरेका थिए।’
अदालतले वीरबहादुरलाई कारागारमा पठाएपछि एउटै मुद्दामा प्रतिवादी रहेका अरू दुई जना अझै पनि फरार रहेको खुल्यो।
उनीहरू को हुन् भन्ने बुझ्दा फरार रहेका सांसद अरूण चौधरी पनि फरार रहेको खुलेको अधिकृत पाण्डेयले बताए।
‘यसमा तीन जना प्रतिवादी थिए। अदालतले उनीहरूलाई दोषी ठहर गर्यो। तर उनीहरू सुरूदेखि नै फरार नै रहे,’ उनले भने, ‘अदालतले जारी गरेको मितिमा पनि उनीहरू हाजिर भएनन्। हाजिर नभएपछि यस मुद्दामा फैसला सुनाएको थियो। अहिले वीरबहादुर अदालतमा उपस्थित भएपछि घटना बाहिरिएको हो।’
शाखा अधिकृत पाण्डेयका अनुसार आगजनी मुद्दा २०६५ साल भदौ ३ गतेको हो।
लु २ त २११ नम्बरको ट्याक्टर साजन चौधरीले चलाएर चिसापानीस्थित गोरांगा खोलामा ढुंगा लिन गएका थिए। त्यहाँबाट ढुंगा लोड गरी फर्किने क्रममा सांसद अरूण चौधरी लगायतले ट्याक्टर रोक्न लगाएर चालकमाथि कुटपिट तथा ट्याक्टरमा आगो समेत लगाएका थिए।
उक्त ट्याक्टर लम्कीचुहा नगरपालिकाका महादेव बजगाईंको थियो। जो २०७४ मेयर भएका थिए। उनकै जाहेरीले उनीहरूविरूद्ध मुद्दा दर्ता भई अदालतबाट आदेश भएको थियो।
उनले आफ्नो ट्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरेका थिए। अदालतले पनि उक्त बिगो असुल्न आदेश दिएको थियो।
यसरी आदेश भएर पनि लामो समयसम्म फरार सूचीमा रहेका सांसद चौधरीलगायतलाई प्रहरीले पक्राउ गरेको थिएन।
अरूण चौधरीले २०७४ मा लम्कीचुहाको मेयरका लागि महादेव बजगाईंसँगै प्रतिस्पर्धा गरेका थिए। तर फौजदारी कसुरमा दोषी ठहर भइसकेका उनीविरूद्ध निर्वाचन आयोगमा पनि कुनै उजुरी हालेनन्।
पटक-पटक निर्वाचन लडेका फौजदारी कसूरका दोषी उनीविरूद्ध आयोगमा कसैले मुद्दा हालेनन्।
अहिले उनी फरार सूचीमा रहेको कुरा बाहिर आए पनि प्रहरी भने यसबारे मौन छ।
प्रहरीको फरार सूचीमा रहेकोबारे नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले यसबारे बुझ्ने काम भइरहेको बताए।
सांसद नै फरार सूचीका अपराधी रहेको बाहिरिएपछि त्यसबारे बोल्नसमेत प्रहरीलाई कठिन भएको छ।
‘मिसिल अध्ययनबाट त थाहा होला। सबै कुराहरू हुन्छन्। तर उनी फरार सूचीमा छन् भन्ने कुरा मलाई थाहा भएन,’ उनले भने, ‘फरार अपराधी त धेरै छन्। एक जनामात्रै होइन। थुप्रै संख्यामा छन्। हामीले अपडेट पनि गर्दैछौं। स्पष्ट नभइकन पनि बोल्न मिलेन।’
35_067-CR-0016_230128_154925-1