१३ करोड को पुल अलपत्र पार्दै जलजला निर्माण सेवा, सरोकार वाला मौन

-


     सुचनाको हक     
     माघ १७ गते २०७९ मा प्रकाशित


दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ को गैरागाउँ–घनीबगिया सडकखण्डको कुटवा खोला पुल निर्माण कार्य पुस १३ गतेसम्म पूरा भइसक्नुपर्ने थियो।

२०७८ असार १४ गते कटुवा खोला पुल डेढ वर्षमा निर्माण सक्ने गरी करिब ४ करोड १७ लाख २४ हजार रुपैयाँमा सम्झौता भएको थियो।

सोही मितिमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ को बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्न हापुर खोलामा पक्की पुल निर्माणको सम्झौता भएको थियो।

हापुर खोलाको पुल ८ करोड ३६ लाख ८३ हजार रुपैयाँ लागतमा निर्माण गर्न सम्झौता भएको छ।

यी दुवै पुल निर्माणको जिम्मा महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौंले लिएको थियो। काम गर्ने जिम्मा भने एकल रूपमा जलजला निर्माण सेवाले लिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

सम्झौता अनुसार पुल निर्माण गर्ने समय सीमा सकिए पनि हालसम्म २५ प्रतिशतमात्रै भौतिक प्रगति भएको पाइएको छ।  

पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इन्जिनियर मनिष अर्यालका अनुसार दुबै ठाउँमा हालसम्म पुलको पाइलिङ फाउन्डेसनको करिब २५ प्रतिशत मात्रै काम भएको पाइएको छ।

निर्माणको जिम्मा लिएका ठेकेदारको लापरबाहीका कारण निर्माण गरी पुल हस्तान्तरण भइसक्नुपर्ने समयमा फाउन्डेसनको काम पनि पूरा हुन नसकेको अर्यालले बताए।

‘तै पनि काम धमाधम भएको भए अलग कुरा हुन्थ्यो,’ अर्यालले भने, ‘पछिल्लो समय दुवै पुल निर्माणको काम ठप्प प्राय: देखिएको छ।’

काम सन्तोषजनक नभएको र समय थप गर्दा पनि पुल निर्माण हुने अवस्था नदेखिएको हुँदा निर्माण व्यवसायीलाई जरिवाना हुन सक्ने उनले बताए।

उनका अनुसार निर्माण कम्पनीको तर्फबाट ठेकेदारले म्याद थपको लागि हालसम्म निवेदन पनि पेश गरेको छैन।

‘सम्झौता सकिएको मितिले दुई सय दिनको गणना सुरू हुन थालेको छ,’ प्रमुख अर्यालले भने, ‘त्यो अवधि कटेपछि स्वत: कारबाहीको प्रक्रिया सुरू हुन्छ।’

निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन पनि नदिएको र सम्पर्कमा पनि नभएकाले अब कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था देखिएको अर्यालले जानकारी दिए।

भने अनुरूप पुल निर्माणको काम नहुँदा स्थानीयले विरोध सुरू गरेको तथा कार्यालयसमेत कार्यसम्पादनमा पछि परेको अर्यालले बताए।

घोराही १७ का वडाध्यक्ष रामलौटन चौधरीले पुल निर्माणको काम अलपत्र छोडेर ठेकेदार सम्पर्कविहीन हुँदा आफूले समेत खेप्नु परेको बताए।

‘आजकल त पुल निर्माण गर्ने ठाउँमा कोही देखिँदैनन् र काम पनि ठप्प छ,’ उनले भने, ‘अब पुल बन्ने हो वा होइन आशंका उत्पन्न भएको छ।’

वडाध्यक्ष चौधरीका अनुसार असार महिनादेखि पुल निर्माणको काम रोकिएको छ। 

‘माथिबाट  ठेक्का भएको कुरामा हाम्रो भूमिका हुने कुरै हुँदैन,’ उनले भने, ‘तै पनि स्थानीयले हाम्रो पनि मिलेमतो छ कि भनेर आशंका गर्दै प्रश्न गरिरहन्छन्।’