चलनचल्तीको मूल्यभन्दा उच्च धितो राखेर बढी ऋण प्रवाह गरेको आरोेपमा पक्राउ परेका कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जना छुटेका छन् ।
इलाका प्रहरी कार्यालय, दमकका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप गिरीका अनुसार बस्नेतसहित तत्कालीन शाखाका रिस्क प्रमुख वीरेन्द्र सिंह भण्डारी, ऋणि हरेन्द्र दाहाल र चन्द्रबहादुर थापालाई हाजिरी जमानतमा छाडिएको हो ।
‘आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी हाजिरी जमानीमा छाडेका छौं’, गिरीले अनलाइनखबरसँग भने, ‘यसमा जोडिएका अझै ११ जना फरार छन् ।’ कमसल धितोमा कर्जा प्रवाह गरेको आशंकामा सुरुमा कामना सेवा विकास बैंकले अनुसन्धान थालेको थियो ।
हाल पक्राउ परेका सीईओ बस्नेत स्वयम्ले आन्तरिक छानबिन सुरु गराएका थिए । समस्या देखिएपछि कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकलाई खबर गरेको थियो । राष्ट्र बैंकले छानबिनपछि कैफियत देखिएको भन्दै अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई खबर गरेको थियो ।
सीआईबीको सहयोगमा इलाका प्रहरी कार्यालय, दमकले अनुसन्धान अघि बढाएको थियो । छानबिनका क्रममा झापा र मोरङका जग्गाहरुको उच्च मूल्यांकन देखाएर कम्तिमा पनि ८ करोड रुपैयाँ कर्जा अनियमितरुपमा प्रवाह गरेको देखिएको डीएसपी गिरी बताउँछन् । धेरै रकम ऋण दिँदा बैंकको प्रधान कार्यालयबाट पनि स्वीकृति लिनुपर्ने भएकाले सीईओ पनि छानबिनमा तानिएका हुन् ।
डीएसपी गिरीका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा चार जनालाई अनियमितरुपमा यो रकम प्रवाह भएको पाइएको छ । घटनामा संलग्नहरुलाई बैंकिङ कसूर र सरकारी दस्तखत कीर्ते सम्बन्धी कसूरमा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय, झापाका एसपी दुर्गाराज रेग्मीले बताए ।
कामना सेवा विकास बैङ्कको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय दमकले बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ गरेको डिएसपी दिलीप गिरीले जानकारी दिएका थिए ।
उनीसँगै हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा ऋणी हुन्।
डिएसपी गिरीका अनुसार उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो। प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैङ्किङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको थियो ।
उनीहरूले बैङ्कबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भएनभएको नखुलेपछि अनुसन्धान अघि बढेको थियो। ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थिए।
नेपाल राष्ट्र बैङ्कबाट केन्द्रीय अनुसन्धान ब्युरोलाई यस सम्बन्धमा अनुसन्धान गर्न पत्र लेखेको थियो। ब्युरोले प्रारम्भिक रूपमा अनुसन्धान गरेर दमक शाखाको घटना भएकाले थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयमा पठाएको थियो।
बैङ्कका निर्देशक विश्वेश्वर सुवेदीका अनुसार यसरी धितो कम राखेर ऋण प्रवाह गर्दा ४ देखि ५ करोडसम्म घाटा हुन आएको देखिएको थियो ।
अनुसन्धानका लागि प्रहरीले ऋण दिँदा फाइलमा हस्ताक्षर गरेकाहरूलाई पनि बोलाएर सोधपुछ गरेको थियो ।
सुरूमा ३१ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो। जग्गा(व्यवसाय अधिकतम पैसामा लिलामी गर्दा पनि ऋण नउठ्ने देखिएको हो। त्यसमा ४ देखि ५ करोडसम्म घाटा हुन आउने उनी बताउँछन्।
ऋण लिएर चलाएको व्यवसाय पनि चौपट भएको पनि उनले बताए। यसरी कम धितोमा ऋण प्रवाह धेरै भएकोबारे बैङ्कले थाहा पाएको पनि एक वर्ष बढी भइसकेको उनले बताए।
बैङ्कलाई घाटा भएपछि आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको थियो। यसमा बैङ्कका तत्कालीन प्रदेश प्रमुख लगायत अन्य केहीको पनि संलग्नता रहेको उनले बताए।