ब्रह्माकुमारी बिन्नी, नयाँबजार, पोखरा
शिवरात्रीको आगमनसँगै एक नयाँ उत्साह र खुशीका साथै भगवान शिवप्रतिको दिलको प्रेम शिवका भक्तजनहरुमा उजागर भएर अवश्य आउँछ । आसुतोष शिवलाई प्रसन्न गर्नका लागि त्यस शुभ दिनमा व्रत बस्ने, शिवको मन्दिरमा गएर दुध, फुल चढाउने र रातमा जागरण बस्ने अठोट पनि कैयौंको मनमा आएको हुन्छ । इन्टरनेट, सामाजिक सञ्जाल र संचारको व्यापकतामा अभुतपूर्वक वृद्धि सँगसँगै अहिलेको नयाँ युगमा मानवसभ्यता र नैतिकता धरासलमा परिरहेको छ । चाडपर्वहरु मनाउने तरिका, लगन, शोक र आस्थामा आएको भिन्नता किन सर्वमान्य भइरहेको होला ? हुन त हरेक सम्प्रदायमा मनाइने यि विभिन्न चाडपर्वहरुले मानिसलाई समयको परिर्वतन र माग अनुसार स्वयंप्रति, समाज र विश्वप्रति व्यक्तिले दिनसक्ने योगदानका बारेमा झकझकाइरहेका हुन्छन् । तर मुल आध्यात्मिक भावलाई ननियालेर सतही रुपमा र रितिरिवाजका रुपमा मात्र मनाईरहदादा साधकको जीवनमा कुनै आमुल प्राप्ती र परिवर्तन नदेखिएका कारणले गर्दा पनि होला अहिलेका आधुनिक र शिक्षित युवा पिढिमा धर्म र संस्कृतिप्रतिको आस्था र लगन अझै घटिरहेका छन् ।
एक योगीलाई आभाष हुन्छ कि धर्म, कर्म र बिज्ञान वास्तवमा तिन वटा अलग अलग सत्ता हुँदै होइनन् । धार्मिक रितिरिवाज र चाडपर्वले मानिसको कर्ममा कुशलता ल्याउन मार्गदर्शन गरिरहेका हुन्छन् भने ति पर्वहरु मनाइनुको पछाडि केही न केही बैज्ञानिक कारण पनि लुकेका हुन्छन् । आध्यात्मिकता, आन्तरिक शान्तिको गहन खोज र योग आफैमा सर्वश्रेष्ठ बिज्ञान हो र भौतिक बिज्ञानको पनि सृजक हो । तर अहिलेको समयको विषमता के छ भने हरेक पर्व मनाउने तरिकामा विकृतिहरु पनि आएका छन् र क्षणिक रमणिकता , बाहरमुखता र तडक भडकलाई नै धेरै महत्व दिइएको पाइन्छ । सच्चा व्रत बसेर जीवनभरी जागृती ल्याएर यो जीवनका सार्थ कैयौं जन्मलाई प्रकाशित पार्ने यो शिवरात्री एउटा स्वर्णीम अवसर बन्न सक्छ ।
जन्म जन्मदेखि र वर्षौंदेखि हामीले शिवको वा दुखहर्ता सुखकर्ता परमात्माको खोज र भक्ति त गरिरहेकाछौं तर यो सत्य सुन्दा कति नमिठो अनुभव होला कि जसको खोज यति लामो समयदेखि गरियो त्यो सर्वोच्च सत्ता धर्तिमा आएर आफ्नो आफ्नो कर्तव्य सम्पन्न गरेर अर्कै लोकमा प्रस्थान गरिसक्नुभएको रहेछ । यद्यपी यस्तो तितो पश्चाताप गर्ने परिस्थिति आउनभन्दा पुर्व नै यहा खुशीको खबर पनि हामीले पाइरहेका छौं कि वर्तमान समय परमात्मा शिवसँग नै सिधा सम्वन्ध जोडेर ज्ञान योगको लगनको नशामा आफुलाई पुरै डुबाउने अवसर सबैलाई मिलिरहेको छ । आसुतोष परमात्मालाई प्रसन्न गर्न उहाँले दिएको मन्त्र नष्टोमोहा स्मृतिलब्धा को स्वरुपमा स्थित भई असार संसारबाट अनासक्त बनेर नकरात्मकता र पुरानो संस्कारको सम्पुर्ण सन्यास लिने समयको स्मृती गराउँदैछ यसपटकको शिवरात्रीले ।
शिव शब्दले हाम्रो मानसपटलमा कहिले त आकारी तपस्वी शकंरको आकृती निर्माण गर्दछ त कहिले पिण्डीकार ज्योतीर्लिगंम शिवको याद दिलाउँछ । शिवरात्री पर्वको आध्यात्मिक रहस्य बुझ्नको लागि यी प्रश्नहरुको सहि उत्तर जान्न जरुरी छ कि शिव को हुनुहुन्छ ? उहाँको स्वरुप कस्तो छ ? उहाँ कहाँ निवास गर्नुहुन्छ ? उहाँ कहाँहाट कहाँ अवतरित हुनुहुन्छ ? उहाँले कस्तो कर्तव्य गर्नुहुन्छ ? उहाँका जन्मदाता को होलान् ? शिव शब्द परमात्माको नै पर्यायवाची नाम हो र सबैभन्दा प्राचिन र उहाँबाट स्वउद्घोषित नाम हो । “शिव” शब्दको अर्थ हुन्छ शुभकारी, कल्याणकारी ,बिजरुप अर्थात् जो मनुष्य सृष्टिरुपि कल्पवृक्षको बिजरुप । स्वयंभू, पशुपतिनाथ, पापकटेश्वर, अमरनाथ आदि नामहरु उहाँकै कर्तव्यवाचक र गुणवाचक नामहरु हुन् । शिव परमात्मा ज्योति स्वरुप हुनुहुन्छ र अनन्त शक्तिहरुको भण्डार हुनुहुन्छ । उहाँ सत्य र सुन्दर हुनुहुन्छ र सदाशिव हुनुहुन्छ । उहाँका शक्तिमा कहिल्यै ह्रास आउँदैन । सृष्टिको सर्वोच्च सत्ता परमात्मा शिवलाई कुनै पनि मात–पिताले गर्वमा धारण गर्न सक्दैनन् । परमात्माको संज्ञा उही हस्तिलाई दिन सकिन्छ जो सर्वधर्ममान्य हुन्छ र साधारण प्राणीले पार गर्ने प्राय चक्रहरुबाट जो अछुत रहनुहुन्छ । दुख, सुख, लाभ हानी , मान अपमान, जन्म मरणका चक्रमा उहाँ आउनुहुन्न । शकंरको शारीरिक आकृति एकातीर योगीको अलंकार हो भने अर्कोतिर परमात्मा शिवकै कर्तव्यलाई पुरुषीकरण (Personofication of Shiva) गरिएको पनि हो । किनकी शिव र शकंरको नाम, निवास स्थान, कर्तव्य, स्वरुप सबै अलग देखाइएको छ । शंकरलाई नै शिवको संज्ञा दिएर फेरि वर्षौंको तपस्या पश्चात प्रचण्ड क्रोध प्रदर्शन गर्ने भगवान भनेर विरोधाभाषी कुराहरु शास्त्रमा उल्लेखित छन् ।
संसारभरी गरिएका वास्तु उत्खनन (Architectural Excavations) का अनुसार पिण्डिकार शिवलिंगको प्रतिमा प्राय सबै देशहरुमा पाइएका छन् । परमात्मा न स्त्रिलिगं हुनुहुन्छ न त पुलिगं त्यसैले उहाँलाई यो तेस्रो नाम शिवलिंग दिइयो । उहाँ सृष्टिका सर्वआत्माहरु, धर्मात्मा, देवात्मा, महात्माहरुका पनि मात पिता हुनुहुन्छ । परमात्माको ज्याति स्वरुप संसारभरीका धर्म सम्प्रदायहरु विच स्वीकार्य छ । सनातन धर्ममा ज्योतिको प्रतीक ज्योर्तिलिंगमको रुपमा पुजिन्छ । ईसाइ धर्ममा इसाले परमात्मालाई ज्योतिको रुपमा परिचित गराउनुभएको छ । इस्लाम धर्ममा संग ए असवद नामको कालो पत्थरको प्रतिमा आस्थाको केन्द्र रहेको छ । फ्रान्स र इटालीका गिरीजाघरहरुमा शिवलिगं राखिएको छ भने रोममा प्रियसस भनिन्छ । जापानमा सेन्टोनिजम वर्गका बुद्धिस्ट धर्मावलम्बिहरुले चेनकोनसेकी नामक रातो पत्थरसँग ध्यान लगाउँने गर्छन् । यि सबै कर्मकाण्ड र अलंकारहरुका पछाडि यही रहस्य लुकेको छ कि परमात्माको साकारी मनुष्यको तुलनामा साकारी स्वरुप छैन तसर्थ उहाँ निराकार हुनुहुन्छ । सुर्य, चन्द्रमा, तारागढ भन्दा पनि धेरै पर सुनौलो लाल प्रकाशको घर उहाँको मुलवतन हो । आज बिज्ञानले पनि मानेको छ कि मानवमनमा ध्यान प्रक्रियामा त्यही छैठो तत्वबाट अथाह उर्जा आउँछ ।
सर्वशास्त्रमयी शिरोमणी भागवत गितामा उल्लेख भए अनुसार कलियुगमा देखा परेका विकट परिस्थितिहरु नै परमात्मा आगमनका कारण बन्दछन् । परमात्मा अजन्मा, अकर्ता र अभोक्त हुनुका साथै अरुकै तनमा प्रविष्ट हुनुहुन्छ जुन प्रक्रियालाई परकाया प्रवेश भनेर उल्लेख गरिएको छ । स्कन्ध पुराणको रेवा खण्डमा भनिएको छ कि भगवान बुढो ब्राम्हण तनमा आउनुभयो र सदगतिको मार्ग बताउँनुभयो । त्यसैगरी शिव पुराणमा भनिएको छ स्वयं निराकार परमात्मा प्रकट भएर ती मुर्तीहरु उत्पन्न गर्नुभयो र पहिलो मुर्ती ब्रह्मालाई नयाँ सृष्टि उत्पन्न गर्ने कार्य सुम्पिनुभयो । कुरान शरीफमा भनिएको छ कि हर ५००० वर्षपछि जब कयामतको समय आउँछ तब भगवान यस धर्तीमा आएर कब्रगाह आत्माहरुलाई फरिश्ता बनाएर आफुसँगै लैजानुहुन्छ । खुदा अर्थात् खुद आउने वाला । यि सबैग्रन्थका महावाक्यहरुले यही पुष्टि गरिरहेका छन् कि परमात्मा साधारण मानवीय तनमा आएर सृष्टिलाई अज्ञान अन्धकार र तमोप्रधानताबाट निकालेर स्वर्णिम युग बनाउने अभियानमा हुनुहुन्छ । उहाँको यही दिव्य कर्तव्यको स्मरणेत्सव त शिवरात्री हो ।
रात्री अर्थात् त्यो घोर अज्ञानताको समय जब आत्माको ज्ञान संसारबाट गायव भएको थियो । मानव पूर्ण रुपले भौतिकवादी भएका थिए, उनीहरुको मन र आचरण र निकै प्रदुशित भएका थिए । शान्ति र आनन्दको चाहना हुँदा हुँदै पनि मानिसहरु दुखी, अशान्त र व्याकुल भएका थिए । प्रकृतिमाथि विजय प्राप्त गर्ने अभिलाषा सँगै प्रकृतिमाथि अत्याचार भइरहेको थियो । पृथ्वीको जनसंख्या विस्फोट भइरहेको थियो तर अनाजको उत्पत्ती प्रयाप्त वृद्धि भइरहेको थिएन । भौतिकताले सम्पन्न भएतापनि डर, दुश्मनीको वातावरण जताततै भएकोले मानवमनमा शान्तिको तिव्र इच्छा थियोे । सृष्टि चक्रको इतिहासमा हामी त्यो बिन्दुमा छौं जब परमात्मा अवतरित भएर आसुरी समाजलाई परिवर्तन गरेर इश्वरीय समाज स्थापना गराइरहनुभएको छ । यही त्यो समय हो जब तनाव सबैको जीवनको साधारण कुरा भएको छ र आत्माहत्या र मृत्यूदर दिनप्रतिदिन बढिरहेका छन् । मानव मनको प्रदुषण सँगै वातावरणीय प्रदुषण पनि चरम सिमामा पुगेका छन् । अन्तर्राष्टिय स्तरमा राष्टका वीचमा तनाव चर्कदो छ । परमाणु युद्धको सम्पूर्ण तयारी भइसकेको छ ।। त्यसैले यो मानव जगतको उत्थानको लागि परमात्मा अवतरित हुन उपयुक्त समय छ ।
परमात्माको यही सन्देश छ कि सर्व मानव समस्याहरुका मुल कारण स्वयंको सत्य स्वरुप र गुणहरुको विस्मृति हो । हामी वास्तवमा यो भौतिक शरीरका साथै शरीरलाई चलाउने एक पराभौतिक उर्जा ज्योतिबिन्दु आत्मा हौं । आत्मा आफैमा सुख, शान्ति, पवित्रता, ज्ञान, प्रेम, आनन्द र शक्तिको स्वरुप रहेको छ । आत्म स्मृतिमा जागरुक भएर गरिएका हरेक कर्महरु सत्कर्म बन्छन् र आत्म स्मृतिमा सन्तुलित गरिएका हरेक सम्वन्धहरु सुमधुर बन्छन् । आत्म स्मृति नै परमात्मा प्राप्तीका लागि अपरिहार्य कदम हो । गुणको भण्डारसँग सम्वन्ध स्थापित गर्ने राजयोगको नियमित अभ्यासी बन्नु भनेको नै सच्चा शिवरात्रीको जागरण हो । आत्म स्मृतिमा रहेर मन भित्रका कलुषित, व्यर्थ विचार र संस्कारहरुलाई सदाका लागि त्याग्ने प्रण गर्नु नै सच्चा शिवरात्रीको व्रत र उपवास हो । सर्वोच्च पिता परमात्मा शिवले देखाएको यो बाटो पछ्याउने हो भने मात्र यो उत्सव अर्थपूर्ण हुन सक्छ । तसर्थ यस शिवरात्रीमा यही वाचा गरौं कि हामी देह अभिमानलाई त्यागेर निरन्तर आत्म अभिमानी बनेर अन्तरनिहित दिव्य गुणहरुलाई उजागर गर्नेछौं । अन्यलाई पनि यही स्थितिमा पुराउन सहयोगी बन्नका लागि हामी आफुलाई यस ईश्वरीय सेवामा समर्पित गरेर विश्व कल्याणार्थ परमात्मा द्वारा उद्घोषित यस आध्यात्मिक क्रान्तिमा सहभागी बनौं ।