चालकको ठगीमा सरकार मौन : सीमित व्यक्ति मालामाल, यात्रु कंगाल

-


     सुचनाको हक     
     फागुन १४ गते २०७९ मा प्रकाशित


राजधानीको मिनभवनस्थित देउराली क्लबनजिकै दिउँसो २ बजेको समयमा गत साता एउटा महिला बृद्ध मानिसको हात समात्दै आईपुगिन् । तिब्र खबरका अनुसार ती बृद्धा मान्छेको उपचारका लागि नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल जानुपर्ने भएकाले उनले त्यँहा पार्किङ गरेर बसिरहेको बा १ ज ४५६० नम्बरको ट्याक्सीलाई भाडा सोधिन् ।

भाडा सोध्नासाथ ट्याक्सी चालकले सुरुमै तीन सय रुपैयाँ लिने बताए । ती महिलाले आफुसँग त्यति पैसा छैन् भन्दै मिटरमा लगिदिन आग्रह गरिन् । तर धेरै पटक भन्दासमेत ट्याक्सी चालकले नमानेपछि उनी पछि हटिन् । त्यही समयमा त्यँहा अर्को एउटा ट्याक्सी आइपुग्यो । जुन थियो, बा २ ज ३६८८ नम्बर ।

उनी त्यस ट्याक्सी भएको ठाउँमा पुगिन् । अनि सोधिन्, ‘दाइ यहाँबाट एभरेष्ट अस्पतालसम्म गएको कति भाडा लिनुहुन्छ ?’ ट्याक्सी चालकले दुई सय रुपैयाँ माग्यो । महिलाले मिटरमा लगिदिनुस् भन्दै अनुरोध गरिन् तर ट्याक्सी चालक भने मानेन भनेर तिब्र खबरले समाचार बनाएको छ ।

यता धेरै पटक अनुरोध गर्दा समेत नमान्दा त्यहाँ बसिरहेको बुढोको पनि अवस्था बिग्रिदैँ गएपछि उनी त्यति रकम तिर्न बाध्य भइन् । मिनभवनको देउराली क्लबबाट नयाँ बानेश्वरस्थित इभरेष्ट अस्पतालसम्म लगभग १ किलोमिटर बाटो छ । ट्याक्सी चालकले मिटरमा लगिदिएको भए ती महिलाले सय रुपैयाँ तिनुपथ्र्यो ।

सरकारले ट्याक्सी चढ्ने बित्तिकै ५० रुपैयाँ र प्रत्येक किलोमिटर ५० रुपैयाँ तोकिदिएको छ । यो ता भयो राजधानीको एक ट्याक्सी चालक र सेवाग्राहीबीच भएको वार्ता ।

सो वार्ताबाटै प्रष्ट हुन्छ संघिय राजधानी काठमाडौंमा ट्याक्सी चालकहरुबाट यात्रुमाथी गरिने ठगी । आफु खुशी ट्याक्सीको भाडा निर्धारण गरेर यात्रुमाथी खुला लुट मञ्चाउदै आउदाँ समेत सरकारको खासै चासो भने अझै गएको छैन ।

जसको फाईदा ट्याक्सी चालकहरुले लिदै आएका छन् भने उता यात्रु भने दिउसै ठगीदै आएका छन् । यहाँ त ती महिला दिउँसै दुई सय रुपैयाँ तिर्न बाध्य भइन् । बागमती प्रदेश सरकार वा प्रदेश सरकारले २०७९ साल वैशाख १ गते ट्याक्सीको भाडा बढायो ।

त्यसअघि ट्याक्सी चढ्नेबित्तिकै १४ रुपैयाँ र प्रत्येक किलोमिटर ३९ रुपैयाँ आउनेमा सरकारले भाडा बढाएर ट्याक्सी चढ्ने बित्तिकै ५० र प्रत्येक किलोमिटर ५० रुपैयाँ बनायो ।

यसरी सरकारले ट्याक्सीको भाडा हवात्तै बढायो । यता ट्याक्सी व्यवसायीहरुले पनि लामो समयावधि देखि भाडा नबढेको दाबी गर्दै आएकाले सरकारले व्यवसायीले भनेजति भाडा बढायो । तर, सरकारले २०६९, ०७०, ०७२, ०७५ र ०७९ सालमा ट्याक्सीको भाडा बढाउँदै आएको छ ।

यसरी सरकार ट्याक्सीको भाडा बढाइरहेको छ । व्यवसायीहरु जहिलेपनि सरकारलाई घुडा टेकाउँछन् । भाडा बढाएपटि यात्रुले मिटरमा जान पाउँछन् भन्ने आश सरकारको थियो ।

तर, भाडा बढाएपछि पनि ट्याक्सी व्यवसायीहरुले सर्वसाधारणलाई ठग्न र लुट्न छोडेका छैनन् । अहिलेपनि ट्याक्सी मिटरमा यात्रु बोक्न र यात्रुले भनेको ठाउँमा जान मान्दैँन । यता जनताले ट्याक्सी चढेबापत मात्र पनि दिनहुँ ५ करोड सेवाशूल्क तिर्नुपरिरहेको छ ।

तर त्यसमा ट्याक्सीको पनि पेट्रोल खर्च हुदैँन । सरकारले ३५ वर्षदेखि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन । उपत्यकाभित्र अहिले ९ हजार ट्याक्सी सञ्चालनमा छन् तर यहाँको जनसंख्या हेर्ने हो भने करोडभन्दा माथि छ ।

अहिलेपनि कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी र फलफूल ढुवानी गर्ने गाडीको संख्या ३ सय ५० वटा रहेको छ । जुन २०४३ सालमै गाडीको संख्या हो । जसले गर्दा त्यहाँ निजी प्लेटका गाडीले तरकारी ढुवानी गर्ने गर्छन् ।

यी गाडीको भाडा ज्यादै महंगो छ । जसले गर्दा पनि सर्वसाधारणको भान्छामा पाक्ने तरकारी मूल्यउ बढिरहेको छ । सातै प्रदेशमा नयाँ ट्याक्सी दर्ता खुलेको छैन । उपत्यका नजिकैको जिल्ला काभ्रेपलाञ्चोकमा हतारको समयमा ट्याक्सी पाइदैँन ।

त्यहाँ बिरामी हुँदा अस्पताल जानुपरेमा निजी प्लेटको गाडीमा जानुपर्छ । तर निजी प्लेटका गाडीले एक किलोमिटरमै ५ सयदेखि हजार रुपैयाँसम्म असुल्छन् । हाम्रो देशमा अहिलेपनि ७ सय ९६ सिसिको मारुती ट्याक्सी बाटोमा गुड्छन् ।

अन्य मुलुकमा लक्जरी ट्याक्सी गुडिरहेका छन् । त्यहाँ कम्पनीमार्फत ट्याक्सी चलाइन्छ । त्यँहाको ट्याक्सी चढ्दा ट्याक्सी हो कि कार ? भन्नेमा सर्वसाधारण अन्योलमा पर्छन् ।

तर हाम्रो देशमा भने बाटोमा गुडिरहेको ट्याक्सी देख्दा कबाडीमा समेत बिक्री नहोला जस्तो लाग्छ । नेपालमा सञ्चालन भइरहेका ट्याक्सी सबै थोत्र्रा, पुराना र कबाडी भइसकेका छन् ।

यता ट्याक्सी पनि सलाईको बट्टा जस्तो देखिन्छ । मोटामोटा तीन जना ट्याक्सीमा चढेमा यात्रु आफैँले ट्याक्सीलाई धकेल्नुपर्छ । तर भाडा हेर्ने हो भने कतै नभएको महंगो छ ।

यहाँ सञ्चालन भएका ट्याक्सी व्यवसायीहरुले न जनतालाई सस्तोमा सेवा प्रदान गरेका छन् न सरकारको ऐनकानून नै मानेका छन् । यीनीहरु आफ्रनै मनोमानी गरिरहेका छन् त सरकारको ऐनकानूनको धज्जी उडाइरहेका छन् ।

अस्पतालअगाडि नै होस् या विभिन्न चोक । जहाँपनि मानिसहरु ट्याक्सी व्यवसायीसँग भाडाको विषयमा मोलमलाई गरिरहेको देखिन्छ । यता ट्याक्सीबाहेक मिटरजडान कुनै पनि सवारी साधन नभएकाले पनि ट्याक्सी व्यवसायीहरुले राज गरिरहेका छन् ।

अहिले पैसा नभएका मानिसहरु जतिसुकै गाह्रो वा हतार भएपनि सार्वजनिक सवारी साधन वा पैदल यात्रा गर्न बाध्य छन् । नेपालमा व्यक्तिमार्फत ट्याक्सी सञ्चालन भएका छन् ।

जसले गर्दा व्यक्तिहरुले जनतालाई सेवा प्रदान गर्नुभन्दा पनि नाफा कमाउनतिर चासो दिइरहेका छन् । अन्य मुलुकमा कम्पनीमार्फत ट्याक्सी सञ्चालन गरिएको छ । यता ट्याक्सीमा लगानी गरेको र आम्दानी गरिएको दुवैको राजस्व पनि राज्यले पाउँछ तर व्यक्तिमार्फत सञ्चालन गर्दा अहिले सरकारले ट्याक्सीमा लगानी गरेको र आम्दानी गरेको रकमको राजस्व पाएको छैन ।

व्यवसायीहरुले एउटा ट्याक्सीमा ५ लाखदेखि ३० लाखसम्म लगानी गर्छन् । यता दिनहुँ ४ हजारदेखि ७ हजारसम्म कमाउँछन् । तर लगानी र आम्दानी दुवैको राजस्व राज्यलाई तिदैँनन् ।

ट्याक्सी चढेर पैसा तिरेपछि पनि यात्रुले बिल पाउँदैनन् । ट्याक्सीको एकाधिकार तोड्न सरकारले फो स्टक हुटवाला मिटरजडान ट्याम्पोको दर्ता पनि खुलेको छैन । विकसित देशमा फो स्टक तीन पाङ्ग्रे हुटवाला मिटरजडान ट्याम्पो चलेको छ । तर, हाम्रो देशमा भने अहिलेपनि यो ट्याम्पोको दर्ता बन्द छ ।

यदि सरकारले यो ट्याम्पोको नयाँ दर्ता खोल्ने हो भने ट्याक्सी नजाने ठाउँमा ट्याम्पो जान्छ त पैसा नहुने मान्छे ट्याम्पो चढ्छन् । यसले एकातिर राज्यले राजस्व पाउँछ त अर्कोतिर मानिसहरुले रोजगारी पाउँछन् ।

अहिले ट्याक्सी चढ्नेबित्तिकै ५० र प्रत्येक किलोमिटर ५० रुपैयाँ छ । तर ५० हटाएर शून्य र प्रत्येक किलोमिटर २५ रुपैयाँमा चलाउँछुभन्दा पनि सरकार नयाँ ट्याक्सीको दर्ता खोल्दैँन ।

यता प्रत्येक किलोमिटर १० रुपैयाँमा चलाएर सर्वसाधारणलाई सेवा दिन्छु भनिरहँदा पनि सरकार फो स्टक ट्याम्पोको दर्ता खोल्दैँन । अहिले उपत्यकाबाहिर सञ्चालनमा भएका ट्याम्पो, रिक्सा यातायात कार्यालयमा दर्ता नभई वडा कार्यालय र नगरपालिकामा दर्ता छन् ।

जसले गर्दा यी ट्याम्पो, रिक्साले न राज्यलाई राजस्व नै तिर्छन् न सरकारले यीनीहरुको भाडा नै निर्धारण गर्छ । त्यसैले, अब सरकारले फोस्टक ट्याम्पो, ट्याक्सी र ढुवानी गाडीको दर्ता खोल्नुपर्छ । साथै, यीनीहरुमा भएको सिण्डिकेट हटाउनुपर्छ ।

अब सरकारले आफ्नै देशमा युवा पुस्ताका लागि रोजगारीको व्यवस्था गरिदिनुपर्छ र सर्वसाधारणले सस्तोमा सेवासुविधा पाउनुपर्छ । अहिले सीमित व्यक्तिहरु मालामाल भएका छन् त जनता र सरकार कंगाल भएको छ ।