मनोरोग भुतप्रेत, पिशाच, दैवी स्राप, बोक्सीको बिगार र जंगली लागेर हुन्छ यसैले डाक्टरी दबाइले यो रोग निको हुँदैन भन्ने भ्रम हाम्रो समाजमा छ । मनोरोगीहरु हिंसात्मक हुन्छन् र एकपल्ट मनोरोग लागेपछि ठीक हुनै सक्दैन, मनोरोग लागेको मान्छेसँग सम्पर्क गरयो भने आफुलाई पनि सर्छ र मनोरोगको उपचार महंगो हुन्छ भन्ने पनि भ्रमहरु छन् । त्यस्तै युवा अवस्थामा मनोरोग लाग्यो भने बिहे गरिदिएपछि ठीक हुन्छ भन्ने कतिपयको मान्यता छ ।
हाम्रो समाजमा अझै पनि मनोरोग अन्य रोग जस्तै समान्य रोग हो र यो सबैलाई लाग्छ भन्ने बुझाइ प्रस्ट भैसकेको छैन । धेरैले मनोरोग लागेमा रोग लागेको व्यक्तिलाई मात्र हैन, परिवारलाई नै हेयको दृष्टिले हेर्ने र असहयोग गर्ने गलत व्यवहार कायमै छ । अझ मनोरोगीहरुलाई पागल (म्याड) भनेर होच्याउने, हीन भावना उत्पन्न गरइदिने र कमजोर बनाइदिने गरिन्छ ।
मनोरोगीहरुको व्यवहार असाधारण हुने भएकाले उनीहरुको व्यवहारलाई अतिको रुपमा लिएर उनीहरुलाई गाली गर्ने कुुटपिट गर्ने गरिएको छ । मनोरोग लागेकाहरुलाई असल व्यवहार गर्नुपर्छ भन्ने आम बुझाइको विकास भएकै छैन ।
अझ छोरी मान्छेलाई मनोरोग लागेमा त झन सिँगो परिवार मात्र नभएर कुललाई नै बदनाम गराउने खराब सोच पनि छँदैछ । मनोरोगबारे नेपाली समाजमा नपढेका, कम पढेकाहरु मात्र हैन, पढेलेखेका शिक्षितहरुमा पनि गलत धारण व्याप्त छ ।
मनोरोग पनि अन्य शारीरिक रोगजस्तै हो
मनोरोग पनि अन्य रोगहरु जस्तै हो । जसरी रुघाखोकी लागेको व्यक्ति उपचार गर्दा ठीक हुन्छ, उसैगरी मनोरोग लागेको व्यक्ति पनि समयमै उचित उपचार गरे ठीक हुन्छ । जसरी समयमा उपचार नगर्दा रुघाखोकी बिग्रेर निमोनिया हुन्छ, उसैगरी सुरुमा उदासीनता -डिप्रेसन) बाट सुरु भएको रोग कडा मानसिक रोगमा परिणत हुन्छ र उपचारमा समय लिन्छ । अझै भनौं समयमै उपचार नगर्दा जसरी शरीरमा क्यान्सर हुन्छ, उसैगरी मनोरोग पनि बढेर गएमा जटिल प्रकारको हुन पुग्छ र यसले व्यक्ति, परिवार र देशलाई समेत हानी पुर्याउँछ ।
मनोरोगबारे डा. धनरत्न शाक्य
मनोरोगबारे धेरै भ्रमहरु हटाउन र रोगबारे जान्नका लागि तपाई हामीलाई मनोरोग विज्ञ डा.धनरत्न शाक्यले सजिलो बनाइदिएका छन् । उनी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एडिसनल प्रोफेसर तथा न्यूरोसाइकियाट्री हुन् ।
केही ज्ञानीहरु ज्ञानको सामथ्र्य ज्ञान लुकाउनुलाई मान्छन् । तर, बरिष्ठ मनोरोग विज्ञ डा शाक्य आफुसँग भएको ज्ञान जति बाँड्यो, उति धेरै ज्ञानको सार्थकता हुने र समाजले फाइदा पाउने ठान्छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभाग स्थापना भएदेखि नै एडिसनल प्रोफेसरका रुपमा कार्यरत डा.शाक्यले भर्खरै सरल भाषामा ‘मानसिक स्वास्थ्य र मनोरोग हाम्रो दायित्व’ नामको उपयोगी पुस्तक लेखेका छन् । पुस्तकमा मनोरोगको अवस्था, किसिम र कारणदेखि समाधानका उपायहरु जान्न र समाजमा विद्यमान विभिन्न भ्रमहरु हटाएर मनोरोगीहरुसँग कसरी सही व्यवहार गर्ने भन्ने जान्नका लागि पुस्तकले जो कोहीलाई सहयोग पुरयाउँछ ।
पुस्तकमा मनोरोग लाग्ने कारणदेखि यसैगरी मनोरोगको उपचार पद्दति, औषधि र त्यसको प्रतिकूल असर, मनोवैज्ञानिक उपचार विधिका किसिमहरु पनि चर्चा गरिएको छ । मनोरोगको भोक निन्द्रा अनि यौन समस्याको सम्बन्धबारे पनि पुस्तकमा सरल भाषामा सबैले बुझनेगरी उल्लेख गरिएको छ ।
लेखक शाक्य मनोरोगको सही उपचारका लागि सबैभन्दा पहिले गलत धारणहरु हटाउनुपर्नेमा जोड दिन्छन् । लेखकले सुरुमै भनेका छन – ‘मनोरोगको निदानका लागि व्यक्ति समाज, राज्य र विश्वस्तरमा पर्याप्त जानकारीको अभाव छ । मनोरोगबारे धेरै भ्रम र अन्धविश्वास अझै पनि हटेको छैन । यसैले मानसिक स्वास्थ्य र मनोरोग सम्बन्धी व्याप्त कतिपय धारणाहरु वैज्ञानिक रुपले सोच मनन गर्दै लगेमा आमस्तरमा नै स्वास्थ्य स्थिति सुध्रने देखिन्छ ।’
चिकित्सा क्षेत्रमा एमबीबीएस र न्युरोसाइकियाट्रीमा एमडी गरेका डा. शाक्यले आफना अनुभवसहित आत्महत्या र मनोरोग हाम्रो दायित्ब , कानका रोगहरु र हाम्रो दायित्व , हेपाटाइटिस बी र हाम्रो दायित्व, वालस्यार र हाम्रो भूमिका, मुटु तथा रक्तसञ्चार प्रणालीका रोगहरु र हाम्रो भूमिका, दन्त स्वास्थ्य र हाम्रो भूमिका आदि किताबहरु पनि लेखेका छन् । डा. शाक्यले डा.अनिलकुमार झाको सहलेखनमा छालाका रोगहरु र हाम्रो भूमिका अनि डा.रीता मानन्धरको सहलेखनमा स्तनका रोगहरु र हाम्रो भूमिका नामक पुस्तक पनि लेखेका छन् ।
सरल स्वभावका प्रोफेसर डा. शाक्य रोगको उपचार गर्नुमात्र हैन, रोगलाई समाजबाट क्रमशः निर्मूल गर्दै लान चिकित्सक र स्वास्थ्यकर्मी मात्र नभई समाजकासबैको उत्तिकै जिम्मेबारी रहेको बताउँछन् । रोगबारे बिरामी, परिवारजनदेखि लिएर तिनको हेरचाहमा संलग्न व्यक्तिसमेत सचेत हुनसके मात्रै लुकेका रोगहरु पत्ता लगाउन सहज हुने विश्वास डाक्टर शाक्यको छ ।
उनको बुझाइमा अझै पनि मनोरोगबारे अन्य विधाका चिकित्सकमा समेत भ्रममा रहेका छन् । डा शाक्य भन्छन्, – ‘सबैले मनोरोगबारे जानुन् र भ्रमहरु हटाएर सही सत्य कुरा बुझुन् भनेर मैले यो पुस्तक लेखेको हुँ ।’