तालिम गर्न सक्ने अघि बढ्दै जान्छन्, नसक्ने बीचमै कुलेलम ठोक्छन् तर अब भने सेनाले यसरी भाग्नेहरुको खोजी गर्न थालेको छ । विभिन्न तालिम केन्द्रमा रहेकाहरू बेपत्ता हुन थालेसागै छ्याप्छ्याप्ती खोज्न शुरु गरिएको हो । प्राप्त विवरणअनुसार यसरी बेपत्ता हुनेमा अधिकांश मधेशी मूलका छन् । सैन्य आधार तालिमबाट चार जना प्राविधिक अमल्दार गायब भएका छन् । सिसं ६२ अन्तर्गत ६८ सैन्यलाई तालिम क्यालेण्डर तथा घटनाक्रमअनुसार गत फागुन २ गतेबाट १५ गतेसम्म पहिलो चरणको टर्म ब्रेकमा छोडिएको थियो । तर, तीमध्ये चार जना हालसम्म पनि नफर्किएको सैनिक शिक्षालयले बताएको छ । सो दिन अपराह्न ४ बजे हाजिर भइसक्नुपर्ने उनीहरू फिर्ता नभएपछि स्वदेश तालिम महाशाखाले मातहत युनिटहरूलाई परिपत्र गर्दै तिनलाई जहाँ कहींबाट समातेर उपस्थित गराउन निर्देशन दिएको छ ।
‘उल्लिखित सैन्यहरू हाजिर नभएको, घर बिदामा गएको र हालसम्म पनि सम्पर्कमा समेत नआएको हुँदा त्यस युनिटहरूको जिम्मेवारी क्षेत्रभित्र कहीं कतै फेला परेमा पक्राउ गरी जानकारी दिनुहुन अनुरोध’, पत्रमा भनिएको छ । हराउनेमा सैनिक पुनः स्थापना केन्द्रमा कार्यरत ब्याच नम्बर ३०६६३२ भएका सीताराम कुमार रजक रहेका छन् । उनी रौतहटको मौलापुर नगरपालिका वडा नम्बर १ का स्थायी निवासी असर्फी बैठाका नाति र वीरेन्द्र बैठाका छोरा हुन् । त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर २ का ठकुरी महतोको नाति तथा श्यामसुन्दर महतोका छोरा दिपेन्द्र कुशवाहा पनि गायब रहेको बताइएको छ । ब्याच नम्बर ३०६६३६ भएका उनी श्री नम्बर २७ फि.ए.मा कार्यरत थिए ।
सैनिक अस्पताल, ईटहरीमा कार्यरत ब्याच नम्बर ३०६६४४ भएका सिताबमियाँ अन्सारीका नाति एवम् कासिम अन्सारीका छोरा सातरे आलम पनि बेपत्ता छन् । उनी रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ का निवासी हुन् । वीरेन्द्र अस्पतालमा कार्यरत ब्याच नम्बर ३०६६९४ रहेका सर्लाहीको कविलासी नगरपालिका ९ का निवासी सुवालाल रायको नाति र प्रेमशंकर रायका छोरा विवेककुमार यादव पनि तालिममा नफर्किएको जानकारी दिइएको छ । यता, सि.सं.२ सैन्य आधार तालिममा तालिमरत ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर १ का ज्ञानेन्द्र श्रेष्ठ पनि सम्पर्कविहिन भएका छन् । अतनारायण श्रेष्ठका नाति एवम् धनबहादुर श्रेष्ठका छोरा उनी फागुन २ गतेदेखि घर बिदामा बसेका थिए ।
फागुन १५ गतेसम्म छुट्टी दिइएका उनी हाजिर हुन नआएपछि खोजी कार्य थालिएको हो । अस्थायी ब्याच नम्बर ४३७२१ भएका उनी हाजिर नभई आफूखुशी भागेर सम्पर्कमा पनि नआएको हुँदा आफ्नो कार्यक्षेत्रभित्र फेला परेमा पक्राउ गरी जानकारी गराउन युनिटहरूलाई भनिएको छ । अर्का सैनिक शिवराजा यादव पनि सम्पर्कविहिन बनेपछि उनी कार्यरत २ नम्बर बाहिनी इटहरीले खोजी कार्यलाई तीव्रता दिएको छ । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ८ बस्ने उनी फागुन १५ गते कार्यालयमा उपस्थित हुनुपर्ने थियो । तर, कुनै जानकारी नै नदिइकन उनी कार्यालय नगएका हुन् । अस्थायी ब्याच नम्बर ४६५८४ भएका यादव हरिलाल यादवको नाति तथा रामसेवक यादवको छोरा हुन् ।