रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग रु.३०,०००।– घुसको माग

-


     सुचनाको हक     
     चैत्र १० गते २०७९ मा प्रकाशित


वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्बा प्रमोद पाण्डेलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डेले बैंक खाता सुचारु गरिदिने तथा तारेख लगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ३०,०००।- घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले निज प्रमोद पाण्डेलाई बिगो  रु.३०,०००।- (तीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद र विगो वमोजिम जरिवाना हुन मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।