जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवदेन सम्बन्धमा अनुसन्धान हुँदा निज केशवनन्द बनिया मिति २०७४।०३।१४ गतेको स्थानीय निर्वाचनबाट निर्वावित भई जिल्ला रूपन्देही, मर्चवारी गाउँपालिकाको अध्यक्ष मिति २०७४।०३।२१ देखि मिति २०७९।०१।०९ सम्म पदमा रही काम गरेको देखिंदा निजले सार्वजनिक पद धारण गरेको मिति २०७४।०३।२१ गतेदेखि मिति २०७८।११।३० गतेसम्मको अवधिलाई जाँच अवधि मानी सोही जाँच अबधिमा स्वआर्जित तथा सिर्जित सम्पत्ति एवं लगानी तथा खर्चहरुका सम्बन्धमा निज केशवनन्द बनिया गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएदेखि जाँच अवधिसम्ममा पारिश्रमिक, बैठक भत्ता लगायत, ट्र्याक्टर र हार्वेस्टर बिक्रीबाट प्राप्त रकम, निजको छोराको नाममा रहेको घर गाउँपालिकालाई बहालमा दिएबापत प्राप्त रकम, कृषि आय, बीमाबापत प्राप्त रकम, शाखारहीत बैंक संचालन गरी प्राप्त गरेको आय र राईस मिलबाट प्राप्त आयसमेत गरी निज गाउँपालिका अध्यक्ष भएपछि जाँच अवधिसम्म रु. ८४,१०,४५१।०६ (चौरासी लाख दश हजार चार सय एकाउन्न रूपैंया छ पैसा) आम्दानी गरेको देखिन्छ।
जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई सेवाग्राहीबाट रु. ५०,०००।- (पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी हस्पिटल नजिकबाट मिति २०७९।१२।०८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।