गुठी संस्थानले कृषि बाली लगाउन भाडामा लगाएको जग्गा माछा पालन गर्न पोखरी खनेको पाइएपछि वीरगञ्जमा विवाद भएको छ ।
वीरगञ्ज महानगरपालिका–२८ दर्दवास्थित ३० विघा १२ कठ्ठा १० धुर जमिनमा माछापोखरी बनाउन माटो खनेपछि विवाद भएको हो । स्थानीय वासिन्दाले नदी छेउको जमिनमा पोखरी खन्दा वर्षायाममा गाउँ नै डुबान हुने खतरा बढेको बताएका छन् ।
बाली लगाउने शर्तमा ०७२ वैशाख २४ गते मदनप्रसाद यादवले उक्त जमिन ठेक्कामा लिएका थिए । सम्झौतामा बार्षिक १० मन प्रतिविघा धान वा सो बराबरको रकम बुझाउने उल्लेख छ । तर यो जग्गा २०७३ जेठ २८ गते अजय द्विवेदीले ठेक्का रकम आफूले बुझाउने गरी लिएका थिए । द्विवेदी गत स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्यासीसमेत हुन् ।
आइतबार वीरगञ्ज महानगरले अनुमति नलिई माटो उत्खनन गरेको भन्दै एउटा स्काभेटर र ४ वटा टिपर नियन्त्रणमा लिएको छ । सोमबार गुठी संस्थान वीरगञ्जका प्रमुख चुडामणि घिमिरे र वीरगञ्ज महानगरका प्रतिनिधिले माटो उत्खनन भइरहेको जग्गाको स्थलगत निरीक्षणसमेत गरेका छन् ।
गुठी संस्थान वीरगञ्जका प्रमुख घिमिरेले ३ वर्षदेखि ठेक्का रकमसमेत नपाएको बताए । ‘बाली लगाउन भनेर जमिन ठेक्कामा दिइएको हो, तर माटो खनेर विजोग नै पारेका रहेछन्’, उनले भने, ‘माटो बिक्रीसमेत गरेको गुनासो आएको छ । खेती गर्नलाई दिएको जग्गाको दुरुपयोग भएको देखिन्छ ।’
ठेक्का लिएको उद्देश्य भन्दा विपरीत जग्गाको प्रकृति बिगारेकाले जरिवानासमेत तिर्नुपर्ने र ठेक्का भंग हुनेबारे केन्द्रीय कार्यालयलाई लिखित जानकारी गराउने प्रमुख घिमिरेले बताए ।
महानगरको अनावश्यक हस्तक्षेप : द्विवेदी
गुठी संस्थानको उक्त जमिन उपयोग गरिरहेका द्विवेदीले गुठीको जग्गामा महानगरले अनावश्यक हस्तक्षेप गरेको बताए । उनले जग्गाबारे गुनासो आएको छ भने गुठी संस्थानले बोलाएर सोधपुछ गर्ने वा पत्राचार गर्नुपर्ने बताए ।
‘महानगरले हेर्ने जग्गा नै होइन, दुर्भावनापूर्ण कार्य गरिरहेको छ’, उनले भने ‘माटो बेचेको आरोप झुठो हो । खेती हुने जमिन नै होइन, आफ्नो खर्चमा माछा पोखरी खनेर झन् राम्रो बनाउँदैछु ।’
१० औं विघा गुठीको जमिनमा माछा पोखरी खनिएको बताउँदै उनले आफ्नो नाम जोडिएकोले महानगरले गलत दृष्टि राखेको आरोप लगाए ।
गुठी संस्थान वीरगञ्जका प्रमुख घिमिरले भने माछा पोखरी बनाउने हो भने संस्थानसँग अनुमति लिनुपर्ने बताए ।
‘कृषि बालीका लागि अनुपयुक्त जग्गा छ माछा पोखरी बनाउने हो भने संस्थानमा निवेदन दिनुपर्छ, त्यसपछि पोखरी खन्न भनेर इजाजत दिन्छौं’, उनले भने ‘बालीको भन्दा पोखरीको बढी पैसा आउँछ । ५ विघाको पोखरी छ भने ५ वर्षमा ६०/७० लाख आम्दानी हुन्छ ।’