शुद्धोधन-७ का वडा अध्यक्ष ५० हजार घुससहित पक्राउ

-


     सुचनाको हक     
     चैत्र १६ गते २०७९ मा प्रकाशित


जिल्ला रुपन्देही, शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष भीम बहादुर यादवले उत्खनन गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु. ५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, वडा अध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोद भरलाई सेवाग्राहीबाट रु. ५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही, शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयबाट मिति २०७९।१२।१६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

वडा अध्यक्ष भीम बहादुर यादव

शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई घुस रकमसहित पक्राउ गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनी

पक्राउ पर्नेमा बिचौलिया विनोद भरसमेत छन् । गिट्टी बालुवा उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

अख्तियारको टोलीले गाउँपालिकाको चमेना गृहबाट विहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरेको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिए ।