संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीेले पूर्वाग्रह राखेर कर्मचारीको सरुवा नगरिने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ । अझ मन्त्री मोदीले कार्यभार सम्हालेपछि त सामान्यका सरुवामा खुलेआम आर्थिक लेनदेन हुँदैआएको गुनासो ब्याप्त छ । विगतमा सरुवाको सूची मन्त्रालयको बेबसाइटमार्फत् सार्वजनिक गर्ने प्रचलन रहे पनि मोदी आएपछि गुपचुप राखिने गरेको छ ।
र, आर्थिक लेनदेन मिलेपछि गुपचुपमै सरुवा संशोधन समेत हुँदैआएको छ । सहसचिव, सचिव र मन्त्रीस्तरीय निर्णयबाट भएका सरुवामात्र होइन, मन्त्रिपरिषदबाट भएका सरुवा समेतमा आर्थिक लेनदेन गरी कैंची लगाउने काम सामान्य प्रशासन मन्त्रालयबाट हुँदैआएको गुनासो कर्मचारीहरु गर्छन् । घरमै बिदामा बसेका कर्मचारीलाई एक दिन समेत पर्खिने धैर्यता नदेखाई सरुवापत्रमा हस्ताक्षर गर्न कार्यालय सहयोगीलाई पठाउने प्रचलन पनि मन्त्री मोदीकै पालामा सुरु भएको छ ।
यस्तो बेथितिपूर्ण सरुवाको पछिल्लो उदाहरण हो, सहसचिव मदन भुजेल र महेश भट्टराईको सरुवा संशोधन । अघिल्लो दिनसम्म सरुवा सूचीमा नामैै नभएका महेशले रातारात आफ्नो सरुवा राष्ट्रिय योजना आयोगमा गराए । बाणिज्य बिभागको महानिर्देशक पदमा रहेका उनले मन्त्रालयले भनेको काम नगरेका कारण कारबाहीमा पर्ने भएपछि हतार हतार जोगिन आयोगतिर सरुवा मिलाएको चर्चा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत उनलाई कारबाही गर्न तत्कालीन उद्योग, बाणिज्य मन्त्री दामोदर भण्डारीलाई निर्देशन दिएको र त्यसको सुइँको पाएपछि रातारात मन्त्रिपरिषदले गरेको निर्णयको माइन्युटमा संशोधन गरी मुख्यसचिव शंकरदास बैरागीले भट्टराईको नाम सरुवा सूचीमा राखेका थिए ।
उनी योजना आयोगमा रहँदा थप अध्ययन गर्ने योजना बनाएका छन् । योजना आयोगमा सरुवा मिलाएका भट्टराईले भोलिपल्टै सामान्यमा सरुवाको पत्र बनाउन लगाई सोही दिन रमाना लिई योजना आयोगमा हाजिर भएका थिए । २४ घन्टामा सरुवा संशोधन गरी नाम राखेर पत्र बनाई सोही दिन रमाना र बिदाई सँगसँगै नयाँ कार्यालयमा हाजिर समेत हुने आतुरता देखाउनुमा भट्टराईका अन्य कुराहरु पनि खोतलिन सक्ने भय नै भएको बताइन्छ । सोही संशोधनमा योजना आयोगमा सरुवा भएका मदन भूजेल भने उद्योग मन्त्रालयमा गएका थिए ।
मगर दिवसका दिन बिदामा बसेका उपसचिव कमानसिंह थापाको निवासमै गएर भट्टराईको सरुवा पत्रमा हस्ताक्षर गरिएको थियो । यो संशोधनमा सामान्य प्रशासन मन्त्रीको समेत ग्रिनसिग्नल रहेको बताइन्छ । सहसचिव सरुवामा समेत यतिसम्मको बेथितिलाई निरन्तरता दिएका सामान्यको नेतृत्वले अन्य तहको सरुवामा पनि नियम, बिधि, पद्धति र आवश्यकताभन्दा आर्थिक लाभलाई नै महत्व दिने गरेको गुनासो प्राप्त भएको छ ।
सामान्य प्रशासन मन्त्रालय मोदीले लिएपछि सरुवामा आर्थिक चलखेल हुने पूर्वानुमान छँदैथियो, त्यसमा पनि चतुर र चलखेलमा अनुभवी सचिव कृष्णहरि पुस्कर कर्ण र सहसचिवमा पनि उनकै विश्वासपात्र कमलप्रसाद भट्टराई आएपछि पूर्वानुमान सत्यतामा परिणत हुँदैछ । यो टीमले बजारमा अनुमान गरिएबमोजिमको कुरालाई पुष्ट्याँई गर्ने काम गरिरहेको छ । अहिले त झन् मोदीका निजी सचिवका रुपमा उपसचिव ज्ञाननाथ ढकालसमेत यो टीममा मिसिएका छन् । सामान्यका पछिल्ला सरुवामा ढकालले बिचौलियाको भूमिका खेलेको चर्चा मन्त्रालयभित्रै ब्याप्त छ । सरुवामा खुलेआम असुली गर्ने क्रम बढेपछि सामान्य प्रशासन मन्त्रालय मालपोत कार्यालयमै रुपान्तरण हुन लागेको टिप्पणी हुन थालेको छ ।
राजनीतिक पहुँच नभएका कर्मचारीहरु अहिले आकर्षक कार्यालयमा टिक्न र सरुवा हुनका लागि निजी सचिव ढकालको दररेट अनुसार बुझाउनुपर्ने बाध्यतामा रहेको बताउछन् । उनले माथि बुझाउनुपर्छ भन्दै कर्मचारीसँग असुली गर्ने गरेको आरोप छ । प्रशासन समूहकै उपसचिव ढकाल मन्त्रीको सचिवालयमा भएपछि कमाउ अड्डामा रहेका कर्मचारीहरुलाई हाइसन्चो भएको छ । काठमाडौं उपत्यकाका स्थानीय तहमा बसेर त्यहाँको बजेटबाट कुस्त कमिसन खान पल्किएका केही धनपति प्रमुख प्रशासकीय अधिकृतहरु ढकालको चित्त बुझाएर थमौती हुने अभियानमा छन् । यो अभियानमा एक बर्ष अवधि पुगेका काठमाडांै उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरु लागेका छन् ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुन्ठप्रसाद सापकोटा, बुढानीलकन्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेल पद थमौतीका ढकालसँग सेटिङ मिलाइसकेको चर्चा सामान्यमा ब्याप्त छ । नागार्जुन नगरपालिकामा गएको २०७९ फागुन १८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ । त्यहाँ कार्यरत ईश्वरीप्रसाद ढकालको सरुवा भएपछि मन्त्रालयले निमित्त पनि नतोक्दा उक्त नगरपालिकमा दैनिक प्रशासनिक बाहेकका काम ठप्प छन् । नागार्जुनमा जान चाहने उपसचिवका लागि पनि ढकालसम्म पु¥याउन सक्ने पात्रको खोजी गरिरहेको चर्चा छ ।
बुढानीलकन्ठका लामिछाने १४ महिनादेखि कार्यरत छन् । यसअघिका मेयर उद्धवप्रसाद खरेलकै सहमतिमा लगिएका उनी त्यहाँ गएपछि स्वार्थ अनुकूलका काम गरिरहेका छन् । हालका मेयर मिठाराम अधिकारीलाई प्रभावमा पार्न सफल भइसकेका लामिछानेले नगरभित्र भन्ने गरेका छन्–मेयरलाई मिलाइसकें, केही वडाध्यक्षहरुलाई मिलाएर मन्त्रालयलाई प्रभावमा पार्ने योजना सफल भयो भने बुढानीलकन्ठमा चालु आर्थिक बर्षभर काम गर्छु ।
वडाध्यक्षहरुसँग रुखो ब्यवहार गर्ने लामिछानेले मिठारामसँग मिलेर काम र दाम लिने गरेको चर्चा छ । बुनपाका एक वडाध्यक्षले लामिछानेका सवालमा यस्तो टिप्पणी गरे–‘लोभ र मोहले जति भए नपुग्ने उदाहारण हाम्रा प्रमुख प्रशासकीय अधिकृत हुन् र मेयरले पनि कनि हो साथ सहयोग गरिरहको छन् ।’
बुढानीलकन्ठबाट अथाह कमाएर गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका बैकुन्ठप्रसाद सापकोटा क्षमताका हिसाबले कमजोर उपसचिवका रुपमा चिनिन्छन् । मातृकाप्रसाद यादव उद्योग मन्त्री हुँदा आफूलाई माओवादी निकट कर्मचारी हँु भन्दै सचिवालयमा समेत बसेका बैकुन्ठले त्यहाँ रहँदा उद्योग, बाणिज्य विभाग र कम्पनी रजिष्टार कार्यालयका कर्मचारीबाट प्रहरीका घुमुवा जस्तो हप्ता असुली गर्ने गर्दथे भन्ने चर्चा अझै पनि ती निकायमा हुने गरेको छ ।
हालको लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा रहँदा रुखो स्वभाव देखाएकै कारण तत्कालीन मन्त्री कुलप्रसाद केसी सोनाम र सचिवसँग उनको विवादसमेत भएको थियो । त्यहाँका कर्मचारीहरुलाई हुकुमी शैली प्रदर्शन गरेकै कारण उनलाई प्रदेशबाट धपाएर संघतिरै फर्काइएको थियो । भूमिब्यवस्था मन्त्रालयमा उनको सरुवा भएको थियो । केही समयमात्र उनी त्यहाँ रहे ।
फेरि राजनीतिक दबाब र प्रभावमा पारेर उनी गृहमन्त्रालय हुँदै रुपन्देही जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी समेत बन्न सफल भएका थिए । त्यहाँ पनि उनको ब्यवहारका कारण ३ महिना पनि टिक्न सकेनन् । त्यसपछि उनी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेर उद्योग मन्त्रालयमा सरुवा भए । उद्योग विभागमा जान निकै मरिमेटेर लागेका सापकोटालाई तत्कालीन उद्योग सचिवले उनको कार्यशैलीका कारण पठाउन चाहेनन् । रहँदाबस्दा मातृका यादव फेरि उद्योग मन्त्री भएर आए । मात्रिकाले पनि सचिवालयमा उनी सहित २ उपसचिव निजी सचिवका रुपमा राखे । बैकुन्ठले भने सचिवालयमा रहेर बिचौलियाको भूमिका खेलेको र मातहतका निकायका कर्मचारीलाई मातृकाको नाम लिंदै दुःख दिएको फेहरिस्त मन्त्रीकोमा पुगेको थियो ।
गुनासो धेरै आएपछि उनलाई मातृकाले पनि साइड लगाइदिए । काममा भन्दा सेटिङमा बिश्वास गर्ने सापकोटा तत्कालीन मेयरलाई भनसुन गरेर बुढानीलकन्ठको प्रमुख प्रशासकीय अधिकृत भए । त्यहाँ १ वर्ष मुस्किलले टिकेका उनी त्यसपछि स्थानीय तहमा हुने अकूत लाभ देखेर गोकर्णेश्वर पुग्न सफल भए । उपत्यकाका स्थानीय तहमा बसेका प्रमुख प्रशासकीय अधिकृत सामान्यतया दोहो¥याएर उपत्यकाकै अर्को पालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न नसक्ने परम्परालाई बैकुन्ठले तोडेका छन् ।
बुढानीलकन्ठ र गोकर्णेश्वर आर्थिक रुपमा स्रोत साधन सम्पन्न र काम गर्न पनि सहज पालिकाका रुपमा चिनिन्छन् । यी दुवै पालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका बैकुन्ठ अहिले आफ्नो सरुवा थमौती गर्न मरिमेटेर लागेको कर्मचारीहरु बताउछन् । उनले भन्ने गरेका छन्–सके सरुवा थमौती गरिदिनुपर्यो । नसक्ने भए काठमाडौंकै बुढानीलकन्ठ, नागार्जुन भए पनि हुन्छ । टोखा नगरपालिकामा हालैमात्र नयाँ प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका कारण बैकुन्ठले त्यसलाई प्राथमिकतामा राखेका छैनन् । टोखामा सरुवा हुन जोडबलकै साथ लागेका निर्वाचन आयोगका उपसचिव कमल ज्ञवाली हिस्स परेका छन् । टोखाको प्रमुख प्रशासकीय अधिकृतमा हालै उपसचिव शेरबहादुर केसी सरुवा भएका छन् । साभार (साँघु साप्ताहिक, २०७९ चैत १३)