बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केराउ, सुपारी, छोकडा र मरिच पैठारीमा रोक लगाएको छ । विभागले सामान आपूर्तिका लागि व्यवसायीले आवश्यक कागजात पूरा नगरेको र तोकिएको समयमा आयात हुने एकीन नगरी निवेदन मात्र पेश गरेको बताएको छ । आवश्यक कागज पत्र पूरा नगरेकै निकासी प्रक्रिया अघि बढाउन रोक लगाइएको विभाग स्रोतले जानकारी दिएको छ ।
हरियो केराउ आयातका लागि २ सय ३३ वटा निवेदन प्राप्त भएको विभागले जनाएको छ । प्राप्त निवदेनमा १२ लाख २५ हजार २ सय ९० मेट्रिक टन केराउ आयात गर्ने भनिएको छ । सुपारी आयातका लागि ८५ निवेदन दर्ता भएको बताइएको छ । ८५ निवेदकले २ लाख २७ हजार २ सय ७० सुपारी आयात गरिने उल्लेख गरिएको विभागले जानकारी दिएको छ ।
त्यसैगरी, छोकडा आयातका गर्नका लागि १ सय १ जना व्यापारीले निवेदन दिएका छन् । आयातकर्ताले ४१ हजार ९ सय ९५ मेट्रिक टन सुपारी आयातका निवेदन दिएको प्राप्त समाचारमा उल्लेख छ । दाना मरिच आयात गर्नका लागि १ सय ६९ जना व्यापारीले निवेदन दिएको विभाग स्रोतले जानकारी दिएको छ । १ लाख ४० हजार ८२ मेट्रिक टन मरिच आयात अनुमति दिनका लागि निवेदन प्राप्त भएको विभाग स्रोतले जानकारी दिएको छ ।
विभागले पैठारीकर्ताबाट माग भएको र तोकिएको वस्तु समयमा आयात हुने गरी निश्चित गर्न पनि व्यापारीलाई निर्देशन दिएको छ । आयात गरिएको सामान तोकिएको समयमा उपभोक्ताको समक्ष पुग्ने निश्चित गर्न पनि विभागले निर्देशन दिएको बताइन्छ । अहिले ठाडो निवेदन मात्र पेश गरिएको छ ।
यसको आधारमा विभागले अनुमति दिन सक्दैन । यसका लागि कम्पनी दर्ता अनुमति पत्र, ०७७÷७८ सम्मको कर चुक्ता गरेको प्रमाण पत्रसमेत पेश गर्न विभागले सम्वन्धित पक्षसँग अनुरोध गरेको छ । कुन कुन मुलुकबाट कुन प्रकारका सामान आयात गर्ने हो सो को जानकारी स्पष्ट पार्नसमेत विभागले अनुरोध गरेको बुझिएको छ ।
सामान आयातको लागि नो अब्जेक्सन लेटर (एनओसी) र जारी गर्ने समयसमेत उल्लेख गर्नुपर्ने विभागले जनाएको छ । यस अघि सामान आयात गरेको भए सो को विवरण र आयात गरेको प्रमाण खुल्ने विवरण खुलाएर बिभागमा कागजातसहित निवेदन प्राप्त भएपछि मात्र आयात गर्न अनुमति दिन सकिने विभागस्रोतले जानकारी दिएको छ । स्मरण रहोस्, मरिच, सुपारी, केराउ जस्ता खाद्य पदार्थ भारततर्फ तस्करी हुने गरेको छ । नेपालले महँगो अमेरिकी डलरमा आयात गर्ने उल्लेखित सामग्रीहरु तस्करहरुले भारततिर तस्करीको बाटोका निर्यात गर्ने गरेका छन् ।