पाण्डेलाई जबर्जस्ती चोख्याएपछि अख्तियार क्रुद्ध

-


     सुचनाको हक     
     चैत्र २६ गते २०७९ मा प्रकाशित


राप्रपा नेता एवम् सांसद विक्रम पाण्डे प्रमुख रहेको सिटिसिई कालिका कन्ट्रक्शन जेभीले सिक्टा सिंचाई आयोजना सात वर्षमा सम्पन्न गर्ने गरी २०६१ सालमा ठेक्का पायो । ४५ किलोमिटर मध्ये ४२ किमी नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा जेभीले लिएको थियो । तर चरम भ्रष्टाचारका कारण नहर निर्माणमा गरिएको लगानी शुन्य अवस्थामा पुगेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलायो । 


अख्तियारले पूर्वमन्त्री समेत रहेका पाण्डेसहितका व्यक्तिले दुई अर्ब १३ करोड ७६ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको माग दाबी गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सिक्टा सिंचाईं भ्रष्टाचार प्रकरणमा दुई वर्ष कैद सजाय, विगो बराबरको जरिवाना  र विगो रकम जफत गर्न अदालतसँग माग थियो ।


  अभियोग दाबी अनुसार निर्माण लागत भन्दा बढी मर्मत खर्च लाग्ने गरी कमजोर नहर बनाएको भन्ने छ । नहरमा गुणस्तरहीन जोर्नी निर्माण गरेर कामै नलाग्ने बनाइएको अभियोग दाबी छ । 


करिव सवा दुई अर्ब बिगोेको भ्रष्टाचार काण्डमा मुछिएका पाण्डेसहित सबै प्रतिवादीलाई सफाइ दिएपछि असन्तुष्ट बनेको अख्तियारले तथ्य प्रमाणको सही विश्लेषण नगरिएको निश्कर्षसहित अघिल्लो मंगलवार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । भ्रष्टाचार प्रकरणमा २१ मंसिर ०७५ मा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सरकारलाई नोक्सानी पु¥याउने बदनियतका साथ भुक्तानी लिने र दिने गरिएको दाबी अख्तियारको छ ।


  भ्रष्टाचार काण्डमा पाण्डेसहित १६ जना सरकारी अधिकारीलाई दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय माग थियो । तर विशेषले सफाई दिँदा कर्मचारी र ठेकेदारको बदनियत नदेखिएको फैसलामा उल्लेख गरेको छ । निर्माणस्थलको ‘माटो घुलनशील’ रहेका कारण नहर भत्केको ठहर अदालतको छ । 


भ्रष्टाचार मुद्दामा मुछिएका पाण्डे, आयोजनाका तत्कालीन प्रमुखहरु सरोजचन्द्र पाण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्की, सिंचाई विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, सीडीई रविनाथबाबु श्रेष्ठ र आशिषचन्द्र खनालसहित सबैले अदालतबाट एकमुष्ट ‘क्लिन चिट’  पाएका छन् । 


अख्तियारको अनुसन्धानबाट वस्तुगत यथार्थलाई वेवास्ता गरी गलत डिजाइन तयार पारिएको तथ्य बाहिरिएको थियो । ५० घनमिटर क्षमताको हुनुपर्ने नहरले न्यून पानीको वहाव पनि धान्न नसकेको अवस्था छानविन प्रतिवेदनमा दर्शाइएको छ ।


  सम्झौता अनुसार भत्किएको नहर मर्मतमा समेत वेवास्ता गरिएको निश्कर्ष अख्तियारको छ । आयोजनामा भएको गुणस्तरहीन कामलाई वैधता दिँदै अदालतले भ्रष्टाचारमा उन्मुक्ति दिलाएपछि अख्तियार असन्तुष्ट बनेको छ । पश्चिम राप्तीबाट नहर बनाएर बाँके जिल्लाका ४२ हजार ७६६ हेक्टर जमिन सिंचित गर्ने लक्ष्य सहित आयोजना शुरु गरिएको हो ।