काँग्रेस कार्यकर्ताले कर्मचारी कुटेको विरोधमा कालोपट्टी

-


     सुचनाको हक     
     चैत्र २७ गते २०७९ मा प्रकाशित


नेपाली काँग्रेसका कार्यकर्ताले कार्यकक्षमै कर्मचारी कुटेको भन्दै तनहुँको भिमाद नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । 

काँग्रेस भिमाद नगर समितिको अगुवाईमा नेविसंघका कार्यकर्तासमेत जम्मा पारेर उपसचिव पदमराज आचार्यमाथि कार्यकक्षमै दुर्व्यवहार गरेर शिक्षा, युवा तथा खेलकुद शाखामा तालाबन्दी गरेको विरुद्धमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । आज विज्ञप्ति जारी गर्दै उनीहरुले ताला नखोलिएसम्म कालोपट्टी बाँधेर विरोध जनाउने बताएका छन् । 

काँग्रेस र उसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध केही व्यक्तिहरुले नगरपालिकाको काम कारबाहीको विषयलाई लिएर उपसचिव आचार्यमाथि कार्यकक्षमै अभद्र व्यवहार र शाखामा तालाबन्दी गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेस र सो निकट भातृसंगठन नेपाल विद्यार्थी संघमा आबद्ध केही व्यक्तिहरुले नगरपालिकाको काम कारबाहीको विषयलाई लिएर कार्यकक्षमा उपसचिव पदमराज आचार्यमाथि गरिएको अभद्र व्यवहार र शिक्षा, युवा तथा खेलकुद शाखामा गरिएको तालाबन्दीप्रति भिमाद नगरपालिकाका सम्पूर्ण कर्मचारीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

कार्यालयको काम कारबाहीप्रति चित्त नबुझे कानूनबमोजिम छुट्टै विधि र प्रक्रियाअनुसार आवश्यक पहलकदमी लिनुपर्नेमा राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार, धाकधम्की दिनु निन्दनीय कार्य भएको भन्दै कर्मचारीहरुले दोषीमाथि कारबाहीको मागसमेत गरेका छन् ।

यस्ता कार्यले आफूहरुको मनोबल गिरेको, भयरहित वातावरणमा कार्यसम्पादन गर्ने अवस्था नरहेको उल्लेख गर्दै कर्मचारीहरुले कार्यकक्षमै दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान गरी कानूनी दायरामा नल्याउँदासम्म हातमा कालोपट्टी बाँधेर विरोध जनाउने चेतावनी दिएका हुन् ।