अबैध क्रसर उद्योगको संरक्षणमा सरकार र दलका नेता !!!

-


     सुचनाको हक     
     वैशाख ६ गते २०८० मा प्रकाशित


रोशन कार्की

राजनीतिक दलका नेतादेखि सरकारकै संरक्षणमा अहिले देशभर प्राकृतिक स्रोत साधानको अत्याधिक दोहन हुदै आएको छ । सो दोहनबाट सरकारी ढुकुटीमा जम्मा हुनु पर्ने कर राजश्व समेत छली गर्दै आफुखुसी मुल्य निर्धारण गरी खुलेआम बिक्री हुदै आएपनि कारबाही नहुदाँ सो अबैधधन्दाले उग्र रुप लिदै गएको छ ।

यसरी प्राकृतिक स्रोत साधानको खुलेआम दोहन गर्ने कार्यमा देशभर सञ्चालनमा रहेका क्रसर उद्योगहरु रहेका छन् । क्रसर उद्योगका लगानीकर्ताहरुको दादागिरी यतिसम्म रहेको छ की सो बारे मानिसले प्रश्न सोध्न त परको कुरा फोटो खिच्न समेत नदिन गरेका छन् । सो धन्दामा दलका नेता र सरकारी कर्मचारीकै आड पाएका व्यवसायीदेखि सरकारका पूर्व सचिवसम्मले क्रसरमा लगानी गरेका छन् ।

सरकारले तयार गरेको क्रसर उद्योग सञ्चालनको मापदण्डलाई लत्याउदै अहिले पूर्ण रुपमा सञ्चालनमा रहेका छन् । क्रसर उद्योगहरु नदी, बस्ती र राजमार्गभन्दा ५ सय मिटर पर हुनुपर्ने सरकारी मापदण्ड रहेको छ । तर क्रसर उद्योग सो मापदण्ड विपरित बस्तीकै बीचमा समेत रहेका छन् ।

केही सडकसँगै जोडिएका छन् । गण्डकी प्रदेशभरि १ सयभन्दा बढी क्रसर उद्योग दर्ता नभई चलेका छन् । तनहुँको कोत्रेजस्तै पर्वतको कालीगण्डकी दोहनमा क्रसर उद्योग लागिरहेको छ । सरकारले २०७७ साउन ५ गते जारी गरेको ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डअनुसार घना बस्ती र वन क्षेत्रको २ किलोमिटर भित्र क्रसर उद्योग खोल्न पाइँदैन ।

राजमार्गको ५ सय मिटर दूरीको नदी, सडक, पुल तथा झोलुंगे पुलको १ किलोमिटर तल, ५ सय मिटर माथिको नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न पनि नपाइने व्यवस्था छ । तर सो मापदण्डलाई लत्याउदै देशभर अबैध रुपमा सञ्चालित भएका छन । क्रसर उद्योग भन्नेबित्तिकै डन राख्ने, कर्मचारीदेखि राजनीतिक दलका नेतासम्म सेटिङ मिलाउने भन्ने समेत सर्वसाधारणले बुझ्ने गरेका छन् ।

त्यो राज्यकै कारण हुदै आएको छ । डनगिरी संरक्षण गर्ने राज्य नै भएको भेटिएको छ । पछिल्लो समयमा स्थानीय तहपिच्छेका कानुन बनाएका छन्, त्यही कानुन र मापदण्ड देखाएर स्वार्थ जोडिएका कर्मचारीदेखि नेतासम्मले आर्थिक लाभ लिदै आएका छन् । भने देश खोक्रो बनाउदै गएका छन् ।

क्रसर व्यवसायी भन्नेबित्तिकै डन हुन्, गुण्डा हुन्, अवैध हुन्, कर्मचारीदेखि नेतासम्म पोस्छन् भन्ने चित्र राज्यकै कारण बन्दै गएको हो । अहिलेको सरकारको मापदण्डअनुसार देशभरिको कुनै पनि उद्योग वैध हुन सक्ने अबस्थामा रहेका छैनन् । तनहुँका क्रसरमा मन्त्रीका परिवार, पूर्वसचिवदेखि राजनीतिक पहुँच राख्ने व्यक्तिहरुको लगानी रहेको खुलेको छ ।

क्रसर उद्योग खास नेताले चलाउँछन् कि डनले । यो क्षेत्र कसले चलाइरहेको छ भन्ने बारे अहिले चौतफी रुपमा बहस समेत सुरु भएको छ । राजनीतिक पहुँच र शक्तिको आडमा अवैधधन्दा चलिरहेको छ । अवैध रुपमा चलेको क्रसरमा प्रदेशकै मन्त्रीको संरक्षण र अवैध उद्योगमा पानीबिजुली जोड्न मन्त्री आफै लाग्ने समेत गरिएको छ । जहिल्यै क्रसरको विषय सतहमा आउँछ ।

चर्चा पाउँछ । अनुगमनको कुरा आउँछ तर केही समयपछि सेलाएर जाने गरेको छ । कारण नदी–खोलाजन्य पदार्थ संकलन र बिक्री–वितरणको व्यवसायमा संलग्न नेता र जनप्रतिनिधिहरूले स्थानीय सरकारको अधिकारको चरम दुरुपयोग गर्दै आएका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाबाट बालुवा, गिट्टी, ढुंगा उत्खनन गर्ने ठेक्का लिएका ठेकेदारले बगरमा जथाभावी उत्खनन गर्दै आएका छन् ।

सुकुटे आसपासको सुनकोशी बगरमा नदी उत्खनन गर्ने डोजर, स्काभेटर र टिप्परका ताँती लाग्न थालेपछि स्थानीय बासिन्दाले नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा बेथिति रोक्न माग गरे पनि सुनुवाइ भएको छैन । नदी खोलामा जथाभावी दोहन बढ्नुको मुख्य कारण ठेक्का र क्रसर व्यवसायमा जनप्रतिनिधि र राजनीतिक दलका नेताको संलग्नता हुनु हो ।

सुकुटे नजिक सुनकोशी नदीबाट ढुंगा, गिट्टी र बालुवा निकाल्ने ठेक्का रघुसिं तामाङ, बजिरसिं तामाङ र छत्रमान तामाङले लिएका छन् । उनीहरू तीनै जना चौतारा साँगाचोकगढी नगरपालिकाका पुर्वमेयर अमानसिं तामाङका छोराहरू हुन् । तत्कालिन समयमा अमानसिंलार्ई नेकपा माओबादीका केन्द्रीय सदस्य तथा हालका साँसद माधव सापकोटा र प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलालको संरक्षण रहेको आरोप लगाइएको छ ।

तर मंसिर चार गते भएका निर्वाचनमा माओबादी केन्द्र छोडेर अमानसिह एमाले प्रबेश गरेपछि भने उनीहरुले हात झिकेको बताइएको छ । बाह्रबिसे नगरपालिकाका पुर्वप्रमुख निम्फोन्जो शेर्पा पनि क्रसर व्यवसायमा संलग्न व्यक्ती हुन् । राजकुमार बस्नेत र विदुर पराजुलीका नाममा दर्ता भएको क्रसरमा उनको लगानी रहेको छ । सो क्रसर बाह्रबिसे नगरपालिका–९ जुरेको पहिरोमा सञ्चालित छ ।

उक्त उद्योगमा पुर्ववडाध्यक्ष सानु लामाको पनि लगानी रहेको छ राजकुमार बस्नेत नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतका भाई समेत रहेकाले सो अबैधधन्दामा साँसद बस्नेतले संरक्षण गर्दै आएका छन् । भोटेकोशी गाउँपालिकाका पुर्वअध्यक्ष राजकुमार पौडेलको लगानी मेलम्ची नगरपालिकाको फटकशिलामा शिवराम श्रेष्ठको नाममा दर्ता रहेको जाल्पा इन्फ्रास्ट्रक्चर क्रसर उद्योगमा रहेको छ ।

बागमती प्रदेशका पुर्वमन्त्री सरेश नेपालका छोरा विश्वास र विवेक नेपालको नाममा खाडीचौरको अक्करमा मानसरोवर बिजनेश ग्रुप प्रालिको नाम दिई क्रसर उद्योग सञ्चालन गरिएको छ । सिन्धुपाल्चोकमा मात्र होइन, अन्य जिल्लामा पनि नदी खोलामा बेथिति निम्त्याउनमा नेता र जनप्रतिनिधि नै अगाडि देखिन्छन् ।

नदी–खोलामा एकातिर तोकिएभन्दा बढी र जथाभावी उत्खनन भइरहेको छ भने अर्कोतिर अधिकांश क्रसर उद्योग र बालुवा खानी मापदण्ड विपरीत सञ्चालित छन् । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाका सुनकोशी, चिउरी आँपबगर, चुखाबेसीमा उत्खनन र बिक्री वितरणको ठेक्का प्रतिनिधिसभाका पुर्वसदस्य गंगाबहादुर तामाङले लिएका छन् ।

पुर्वसांसद तामाङको दुवाकोट कन्स्ट्रक्सन र शालीनदी निर्माण सेवा प्रालिले सुनकोशी बगरको ठेक्का लिएसंगै नदी दोहन गर्दै आएको छ । तेमाल गाउँपालिका–२ मा सञ्चालित हेञ्जन दोर्जे क्रसर उद्योगका सञ्चालक ज्ञानबहादुर तामाङको व्यवसायमा पुर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन र पुर्वगृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव प्रतीक तामाङको लगानी रहेको बताइएको छ ।

काभ्रेकै रोसी गाउँपालिका, कटुञ्जेमा सञ्चालित ओम सत्य साई र नाङसाल रोडाढुंगा उद्योग तीर्थ लामा, गणेश लामा, छिरिङ लामा र वाङ्चुक लामाको लगानीमा सञ्चालन गरिएको छ । तीर्थ यसअघि नेपाली कांग्रेसबाट सांसद थिए भने गणेश लामा विजयकुमार गच्छदारसँगै कांग्रेस प्रवेश गरेका व्यक्ति हुन् ।

सिन्धुपाल्चोकको मेलम्चीमा प्रक्रिया मिचेर सञ्चालन भएका क्रसर उद्योगहरुले अत्यधिक दोहन गरेर नदीजन्य सामग्री निकालेपनि कारबाही कसैलाई गरिएको छैन । मेलम्ची नगरपालिकाबाट नदीभित्र एक्साभेटर हालेर उत्खननको अनुमति लिने किरण थापा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का पुर्ववडाध्यक्ष रहेका छन् ।

मेलम्ची–१३ मा सञ्चालित जाल्पा क्रसर उद्योग प्रालि थापाकै हो । मेलम्ची नगरपालिकाबाट नदीजन्य स्रोत संकलन र निकासीको ठेक्का पाएको तीनपिप्ले निर्माण सेवाका सञ्चालकमध्ये एक सानुकान्छा लामा नेपाली कांग्रेस, काभ्रेका नेता गणेश लामाका काका हुन । चौतारा साँचोगढी नगरपालिकाको सुकुटेमा सञ्चालित इन्द्ररत्न क्रसर उद्योगमा नेकपाका स्थानीय नेता एवम् मेलम्ची नगरपालिका–१३ का पुर्ववडाध्यक्ष देवेन्द्र घोरसाइनेको लगानी छ ।

सिन्धुपाल्चोकमा सञ्चालित अधिकांश क्रसर उद्योगमा जनप्रतिनिधि र दलका नेता तथा कार्यकर्ताको प्रत्यक्ष/अप्रत्यक्ष लगानी छ । अहिले मेलम्ची नगरपालिकाको वडा नम्बर १२ र १३ को सडक, बगर क्षेत्र र खेतीयोग्य जमीन समेत क्रसर व्यवसायीको कब्जामा रहेको छ । यो समाचार तिब्र खबर बाट हामीले लिएको हो l