बागलुङका कार्यालय बिदाको दिन पनि खुल्ने

-


     सुचनाको हक     
     वैशाख १३ गते २०८० मा प्रकाशित


जिल्ला प्रशासन कार्यालय, बागलुङले नियमित सेवा प्रवाह गर्ने भएको छ । प्रशासनसहित सदरमुकामका अन्य एक दर्जनबढी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने विशेष व्यवस्था मिलाएको बताइएको छ । 

शनिबारबाहेक विभिन्न चाडबाड तथा दिवसको समयमा दिइने सार्वजनिक बिदामा सेवाग्राहीले कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा पाउने छन् । यो वर्ष १६ दिन सार्वजनिक बिदा परेको छ । यी बिदाका दिन कार्यालय खुल्ने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । 

वैशाख २२ गते उभौली वर्ष, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १४ गते रक्षाबन्धन, भदौ २० गते श्रीकृष्ण जन्माष्टमी, असोज २८ गते घटस्थापना, पुस ९ गते क्रिसमस डे, पुस १० गते उधौली पर्व, योमरी पुन्हि, पुस १५ गते तमु ल्होसारका दिन कार्यालय सञ्चालनमा रहनेछ । 

त्यस्तै, पुस २७ गते पृथ्वीजयन्ती, माघ १ गते माघी पर्व, माघ २७ गते सोनाम ल्होसार, फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्री, फागुन २८ गते ग्याल्पो ल्होसार र ईदउल फित्रका अवसरमा पनि नियमितझैं सेवा प्रवाह गरिनेछ । 

नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, कर, उद्योग, वाणिज्य, वैदेशिक रोजगार, मालपोत, नापी, भेटेरिनरी, खानेपानी तथा सरसफाईलगायत सेवा सार्वजनिक बिदाका दिन पनि प्रदान गरिने प्रशासनले जनाएको छ ।