दुई थरी जन्ममिति भएको नागरिकता बोक्दा पूर्व प्रधानन्यायाधीश, न्यायाधीशदेखि प्रहरी र सेनाका हाकिमहरूसम्म फन्दामा परिसकेका छन् । आइजिपिका दाबेदार अशोक सिंह यहि कारण राजिनामा दिन बाध्य भए यही विषयले पूर्वगृहसचिव सुर्य प्रसाद सिलवाल समेत अप्ठ्यारोमा पर्ने देखिएको छ ।
झण्डै २ वर्ष गृहसचिव चलाएका र हाल वीमा समितिमा पुगेका सूर्य प्रसाद सिलवालमाथि यस्तो संकट आइलागेको हो । हिजो उनी आफैँले हाँकेको अड्डामा अहिले उनको नागरिकता छानबिनको माग गर्दै उजुरी परेको छ । राहदानीमा एकथरी र नागरिकतामा अर्कैथरी जन्ममिति भेटिएपछि विरोधीहरुले भनौ वा सचेत नागरिकले भनौ गृहमा सोमबार उजुर हालेका छन् । अघिल्लो साता युवराज सफलले तनहुँबाट निर्वाचित सांसद डा स्वर्णिम वाग्लेसहित, पूर्वउपराष्ट्रपति परमानन्द झा, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, कांग्रेस नेताहरू देवेन्द्रराज कँडेल, डा. मीनेन्द्र रिजाल, डा. नारायण खड्का, दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, सरिता गिरी, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधानलगायतसँग दोहोरो नागरिकता रहेको भन्दै उजुरी हालेकै शैलीमा सिलवालको नागरिकता प्रकरणलाई दूधको दूध पानीको पानी बनाउन गृहलाई गुहारिएको हो ।
प्राप्त डकुमेन्टअनुसार ०९०४००७६ पासपोर्ट नम्बर रहेका सिलवालले त्यसमा जन्ममिति ९ नोभेम्बर १९६१ उल्लेख गरेका छन् । ३१ जुलाई २०१५ मा उक्त राहदानीको जन्ममिति नेपालीमा रुपान्तरण गर्दा २०१८ साल कात्तिक २४ गते हुन आउँछ जबकि जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको नागरिकता (२६०/९९७३ नम्बर) अनुसार जन्ममिति २०१६ कात्तिक २२ गते उल्लेख छ । जन्मथलो पर्सा, अलौ भएका सिलवालले अर्थ मन्त्रालयमा पेश गरेको जन्ममिति भने २०१६ साल कात्तिक २२ गते नै उल्लेख छ । यस्तै २०१६ साल कात्तिक २२ कै मिति राखेर मतदाता नामावली बनाएको भेटिन्छ तर उनले लिएको राहदानी र नागरिकतामा जन्ममिति २ वर्ष २ दिनको अन्तर छ । एक जना पूर्व सिडिओले पछिल्लो पटक जारी गरेको नागरिकताबाटै उनले राहदानी लिएको हुनसक्ने बताए ।
०१५ सालमा जारी भएको राहदानीअनुसार उनको जन्ममिति नोभेम्बर ९, १९६१ अर्थात २०१८ साल कात्तिक २४ हुन आउँछ । एउटै नागरिकता नम्बरबाट लिएको पासपोर्टमा कसरी दुई वर्ष दुई दिन जन्ममिति फरक प¥यो ? जनआस्थाले सिलवालसँग यो विषयमा जिज्ञासा राख्दा यो पुरानो विषय भन्दै पन्छिए । ०७० चैत्र २८ देखि ०७२ मंसिर ६ सम्म गृहसचिवको जिम्मेवारीमा थिए । सिलवाल ०७७ माघ तेश्रो साता वीमा समिति (प्राधिकरण) को प्रमुखमा नियुक्त भएका हुन् । पूरै समय काम गर्न पाएको खण्डमा २०८१ माघसम्म प्रमुखमा रहन्छन् ।