नक्कली नोटकाे काराेवार बढ्दै, काठमाडौं र सुनसरीबाट नक्कली नोटसहित तीनजना पक्राउ

-


     सुचनाको हक     
     वैशाख २३ गते २०८० मा प्रकाशित


काठमाडौंका विभिन्न स्थानबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३१ वर्षीया सम्झना गहतराज र बाँके नेपालगंज घर भई काठमाडौं बागबजारस्थित होटलमा बस्ने ३२ वर्षीय सादाय हलुवाई रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती क्षेत्रमा नक्कली नोटहरुबाट सामान किनबेच हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सम्झना गहतराजलाई एक हजारको १ थान नक्कली नोटसहित फेला पारी पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा काठमाडौं बागबजारस्थित सादाय हलुवाईको कोठाबाट एक हजार दरको ४९ थान नक्कली नोट, प्रिन्ट गरेको काट्न बाँकी एकहजार दरको नोट १ सय २६ थान प्रहरीले फेला पारेकाे छ । 

  त्यसैगरी  पाँच सय दरको नोट २ थान, प्रिन्ट गरेको काट्न बाँकी पाँच सय दरको नोट ६० थान, प्रिन्टर मेसिन १ थान, बैंकको चेक बुक १ थान, नेपाली नागरिकता १ थान, फलामको रूलर १ थान, मसि ५ थान, रंगिन पेपर ५० थान, फोटोकपि पेपर र मोबाइल २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर मुद्रा सम्बन्धी कसुरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

सुनसरीकाे ईटहरी उपमहानगरपालिका-१ आपगाछीबाट एक हजार दरको ६ थान र पाँच सय दरको २२ थान नक्कली नोटसहित गढी गाउँपालिका-२ बस्ने ३८ वर्षीय जमिल खातुनलाई  प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागेको सिरुवा मेलामा खातुनले जेरी किनमेल गरी एक हजार दरको नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई तलासी गर्दा उनको साथबाट उक्त नक्कली नोट फेला परेको हो ।

क)पक्राउ परेका व्यक्तिहरु:-

१. जिल्ला जाजरकोट भुर गा.बि.स. घर भइ हाल का.जि. टोखा न.पा.७ बस्ने बर्ष ३१ कि सम्झना गहतराज ।

२. जिल्ला बाँके नेपालगन्ज एक्लौनी न.पा.३ घर भई हाल का.जि. बागबजारस्थित युनिक होटलमा कोठा लिइ बस्ने बर्ष ३२ को सादाय हलुवाई ।

ख) बरामद दशी:

१.तयारी १००० को नोट – ४९ थान

२. प्रीन्ट गरेको काट्न बाँकी १००० को नोट थान – १२६

३. तयारी ५०० को नोट थान – २

४. प्रिन्ट गरेको काट्न बाँकी ५०० को नोट थान – ६०

५. EPSON कम्पनीको प्रिन्ट मेसिन थान -१

६. प्रयोग गरिसकेको रु १०० को रिचार्ज कार्ड थान – १

७. प्रयोग गरिसकेको रु ५० को रिचार्ज कार्ड थान – ३

८. कृषि विकास बैंकको चेक बुक थान – १

९. नेपाली नागरिकता थान – १

१०. फलामको १२ इन्चको रुलर थान – १

११. INK (मसी) थान – ५

१२. रंगिन पेपर थान – ५०

१३. फोटोकपी पेपरको रिम

१४. मोबाइल थान- २

 उक्त घटनाको सम्बन्धमा बरामद दशी सहित  पक्राउ परेका निज व्यक्तिहरुला ई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२२ बमोजिम मुद्रा सम्बन्धी कसुरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।