३ कोठे शौचालय बनाउन ५९५ बोरा सिमेन्ट

-


     सुचनाको हक     
     वैशाख २४ गते २०८० मा प्रकाशित


 गल्याङ नगरपालिका–६ पिडिखोलास्थित नरोदय माविमा निर्माण गरिएको ३ कोठे शौचालयमा ५ सय ९५ बोरा सिमेन्ट प्रयोग भएको छ । शिक्षक अभिभावक संघले विद्यालयको सामाजिक लेखापरीक्षण गर्नेक्रममा शौचालय निर्माण गर्दा ५ सय ९५ बोरा सिमेन्ट खर्च भएको देखिएको हो ।

एउटै बिलमा ५ सय ९५ बोरा सिमेन्ट खरिद गरेको देखिएपछि शौचालय निर्माणमा अनियमितता भएको आशंका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले गरेको छ । विद्यालयलाई शौचालय बनाउन पुनर्निर्माण प्राधिकरणले १४ लाखभन्दा बढी रकम दिएको थियो । त्यति रकमले शौचालय बनाउन नपुगेपछि ५ लाख विद्यालयले थप गरी १९ लाख लागेको लेखापरीक्षणमा उल्लेख छ । लेखापरीक्षण गर्दा १९ लाख खर्च भएको देखिएको शिक्षक अभिभावक संघका अध्यक्ष मेघनाथ बस्यालले जानकारी दिए । ‘आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्दा विद्यालयमा अनियमितता भएको शंका लाग्यो ।’ बस्यालले भने, ‘विद्यालयको हिसाबकिताब हेर्न थालेपछि विद्यालयका प्रधानाध्यापक बेखबर हुनुभयो ।’

३ महिनादेखी बेखबर रहेका विद्यालयका प्रधानाध्यापक प्रेम शर्मा पौडेल विद्यालय नआउँदा अन्य हिसाबकिताब पनि हेर्न नपाएको बस्यालले बताए । तीन कोठे शौचालयमा त्यति धेरै सिमेन्ट खर्च भएको हिसाब देखिएपछि विद्यालयमा आर्थिक अनियमितता भएको शंका लागेर लेखा परीक्षण गरिएको बस्यालको भनाइ छ । ‘अब प्रधानाध्यापक आएपछि यस विषयमा अझै गहिरिएर छानबिन गर्नुपर्छ,’ उनले भने ।

३ महिना बेखबर रहेका प्रअ पौडेल शुक्रबार मात्रै विद्यालय पुगेका छन् । उनले आपूmले विद्यालय व्यवस्थापन समिति र गल्याङ नगर शिक्षा शाखालाई जानकारी गराएर बिदामा बसेको बताए । शौचालयमा कसरी त्यति धेरै सिमेन्ट लाग्यो भन्ने प्रश्नमा पौडेलले भने, ‘कोभिड र बाढीपहिरो गएका बेला निर्माण गर्दा शौचालय निर्माणमा धेरै सिमेन्ट खर्च भयो ।’ विद्यालय ग्रामीण क्षेत्रमा रहेको र निर्माण सामग्री ल्याउँदा ढुवानी महँगो पर्न गएको उनको भनाइ छ । ‘लामो समय म बाहिर भएको र हिसाब पुरानो भएकाले सबै विषय खातापाता हेरेपछि मात्रै थाहा हुन्छ । अहिले यसै भन्न सकिन्न, उनले भने । शौचालय निर्माणको लागत केही महँगो भएको महसुस आपूmलाई पनि भएको भन्दै उनले व्यापारीले भ्याटको बिला मिलाउँदा सिमेन्टका बोरा धेरै देखाएको बताए ।

प्राविधिकका अनुसार सामान्यतया ३ कोठे शौचालय बनाउँदा बढीमा २ सय बोरा सिमेन्ट भए पुग्छ । सेप्टीट्यांकीसहितको स्टान्डर शौचालय बनाउँदा २ सय बोराभन्दा बढी नलाग्ने प्राविधिकको भनाइ छ ।