सूचना मागको औपचारिक निवेदन लिएर सञ्चार संस्थाका प्रतिनिधि र नागरिकहरू कार्यकक्षमा छिर्न थालेपछि सरकारी कार्यालयका सूचना अधिकारी नै हराउन थालेका छन् । सिरहाको लहान नगरपालिकाका सूचना अधिकारी इञ्जिनियर सुशीलकुमार साह यस्तै बेपत्ता हुने मध्येका एक हुन् ।
हिजो सूचना र जानकारी मागिएको निवेदन दर्ता गराउन उनको कार्यकक्षमा पुगेका सञ्चारकर्मीहरूलाई कार्यकक्षमै पर्खार साह बेपत्ता भएको बताइन्छ । सुरूमा उनले निवेदन दर्ताका लागि कार्यालय प्रमुख प्रशासकीय अधिकत शुभद्रा गौतमको तोक आवश्यक पर्ने बताए । तोकको निम्ति सञ्चारकर्मीहरू गौतमको कार्यकक्षमा पुगे ।
प्रमुख प्रशासकीय अधिकृतका सहयोगी सूर्य पौडेलमार्फत् कार्यालय प्रमुखसम्म पुगेको निवेदन तोक नलागी पुनः सूचना अधिकारी साहकोमा पुर्याइयो । उनले पुनः निवेदन दर्तामा आनाकानी गरेको उपस्थित सञ्चारकर्मीहरुले बताए ।
साहले अड्डी कस्दै भने, ‘कार्यलय प्रमुखको तोक नभई निवेदन दर्तै हुँदैन, गर्न मिल्दैन ।’ त्यसपछि निवेदन पुनः कार्यालय प्रमुखकोमा पुग्यो । हाकिमको तोक आदेशपछि प्रशासन शाखा हुँदै दर्ता शाखामा निवेदन पुग्दा नपुग्दै सूचना अधिकारी साह कार्यकक्षबाट बेपत्ता भएका हुन् ।
‘फोनमा सम्पर्क गर्दा अरू कामले बाहिर निस्केको बताए,’ स्थानीय पत्रकार सन्तोष बराइलीले भने ।