गल्फमा दलालको मनपरी लिन्छन ३ देखि ६ लाख सम्म

- ३ लाख दिएर मलेसिया गएका हरुको बिचल्ली

-


     सुचनाको हक     
     जेठ १३ गते २०८० मा प्रकाशित


१०/२० हजार मा गल्फ जान पाइन्छ भन्ने सुने पनि हाल मलेसिया को ३ लाख र दुबइको ६ लाख सम्म लिने गर्छन मेनपावर कम्पनि हरु

सर्लाही गौडेता-३ का रामजतन महतो खेतीपाती गरेर परिवार चलाइरहेकै थिए । तर आमा बिरामी भएपछि उनको परिवार ऋणमा पर्‍यो ।

काठमाडौंको शिक्षण अस्पतालमा तीन महिना आमाको उपचार गरेर ऋणसहित सर्लाही फर्किएका उनलाई मेनपावर ऐजेण्टको काम गरिरहेका नरेन्द्र ठाकुरले मलेसियामा आकर्षक जागिर खुलेको भन्दै जान फकाए ।

ठाकुरले मलेसिया जान ३ लाख रुपैयाँ खर्च लाग्ने र पुगेपछि २ हजार ३४३ मलेसियन रिङ्गेट (साढे ६७ हजार नेपाली रुपैयाँ) तलब हुने बताएका थिए । त्यसपछि घरसल्लाह गरेर महतोले ठाकुरलाई ऋण खोजेर ३ लाख बुझाए अनि ४ असोज २०७९ मा मलेसिया उडे ।

मलेसिया जाँदा मेनपावर परी ओभरसिस प्रालिले भनेको काम गर्ने कम्पनी डाइनमिक वियर कम्पनी थियो, तर महतो जब मलेसिया ओर्लिए मेनपावरले भनेको कम्पनी नै भेटेनन् ।

भेटुन् पनि कसरी ? उनलाई त मलेसियामा कामदार सप्लाइ गर्ने कम्पनीमा पठाइएको रहेछ । जुन कुरा उनलाई मलेसियामा पुगेपछि थाहा हुन्छ ।

‘त्यो सप्लायर्सले म जस्ता करिब २ सय कामदारहरुलाई नेपालबाट झुक्काएर मलेसिया पुर्‍याएको रहेको छ,’ महतोले भने, ‘हामीलाई एउटै कम्पनी हो २ वर्षसम्म काम गर्न पाउँछौ भनेर लगेको थियो, तर उहाँ पुग्दा मान्छे सप्लाई गर्ने कम्पनीमा लग्यो, त्यसपछि १० दिन एउटा कम्पनीमा, १५ दिन अर्को कम्पनीमा काम गराउँदै डुलायो ।’

उनले ८ महिनामा ६ वटा कम्पनीमा काम गर्दा जम्मा ४ महिना जति काम गर्न पाए पनि वेसिक तलबसम्म नदिएको गुनासो गरे । ‘कम्पनीहरुले हामीलाई भेडा बाख्रा जस्तो व्यवहार गरे, कहिले भोकै काम लगाए, कहिले काम लगाएर पैसा दिएनन् । हामी त बेचिएको सामान जस्तो गरे’ यति भन्दै गर्दा महतो भक्कानिए । भक्कानिँदै थपे, ‘मलेसियामा कम्पनीहरुले बिरामी हुँदा काम गर्न नसकेपछि होस्टेलबाट निकाल्दिने, औषधिको पैसा आफैंलाई तिर्न लगाउने गरे ।’

खाने खर्चसमेत घरबाट मगाउनु पर्‍यो

सर्लाहीकै हरिकृष्ण कुशुवाहको पीडा र दुख पनि महतोको जस्तै छ । उनी पनि ४ असोजमा परी मेनपावरबाट नै महतोसँगै उडेका थिए । काम गर्ने भनेर गएको कम्पनी नै नभेटिएपछि विना तलब होस्टेलमा बसिरहेका उनलाई एकदिन सप्लाइ कम्पनीले मलेसियाको पारागमा कठिन काम गर्न लगायो ।

‘हामीलाई क्विन्टल भन्दा माथिका सामानहरु ओसार्न लगाउँथे, त्यसको पैसा पनि आधा मात्रै पाउँथ्यौं । त्यहि बेला म बिरामी भएँ, बिरामी भएपछि होस्टेलले खानाको कुपन खोसिदियो २ दिनसम्म भोक्कै सुतें,’ कुशवाहले भने ।

उनले खानाकै लागि घरबाट ४५ हजार रुपैयाँ मगाएको बताए । ‘१ कठ्ठा जमिन धरौटी राखेर ३ लाख दलाललाई दिएको थिएँ उनीहरुले मेरो विचल्ली पारिदियो, अहिले त घर न घाट भएको छु’, धापासी हाइटमा सेल्टर लिएर बसेका कुशुवाहले आँसु झार्दै भने ।

सोहि म्यानपावरका एजेन्ट रामदुल्ला ठाकुरलाई ३ लाख बुझाएर मलेसिया गएका लक्ष्मी महतोले भारतबाट ऋण लिएर विदेश जाँदा ठगिएको बताए ।

‘ठाकुरले हिट कम्पनीमा जागिर छ, ७० हजार सोझै नेपाल पठाउन सक्छ भनेपछि मैले भारतमा रहेका आफन्तहरुसँग पैसा मागेर बुझाएँ । पुगेपछि ठगिएको थाहा भयो,’ लक्ष्मी भन्छन् ‘घरमा छोरीहरुको विवाह गर्ने समय आइसकेको छ, पैसा छैन, आफन्तहरु अहिले पैसा नपठाएको भन्दै घरमै माग्न आइरहेका छन्,’ फेरि महताको गला अवरुद्ध भयो ।

उनले नेपाल आएपछि आफूले पैसा बुझाएका ठाकुरलाई खोजे पनि उनले फेला पारेका छैनन् । ‘हामी परी मेनपावरमा पनि गयौं त्यहाँ हामीलाई मतलब छैन, आफैं खोज भनेर पठाए, अब हामी चाहीँ कहाँ जानु ?’ लक्ष्मीले भने ।

सर्लाहीकै सञ्जीवकुमार महतो पनि सोहि एजेण्ट ठाकुरमार्फत मलेसिया गएर अलपत्र परे । उनले पनि ऋण खोजेर नै दलालमार्फत मलेसिया गएका थिए, तर अनेक हण्डर खाएर पनि आफ्नो लगानी उठाउन नसकेको भन्दै काठमाडौंमा वैदेशिक रोजगार बोर्ड, म्यानपावर कम्पनी धाइरहेका छन् ।

सर्लाहीका मोहम्मद जफरुल हुसेन अहिले तनावमा छन् । नरेन्द्र ठाकुरलाई ३ लाख २० हजार दिएर मलेसिया पुगेका उनी ठगिएको थाहा पाएपछि १० महिनापछि फेरि नेपाल नै फर्केका छन् ।

‘मेरो पोखरामा पसल थियो, आर्थिक मन्दिले गर्दा बैंकको ऋण समेत तिर्न सकिन, मलेसियामा गएर कमाउने सोचले दलाललाई पैसा बुझाएँ । अहिले न पसल छ, न ऋण तिर्न सकँे, न पैसा उठ्यो ।’ निराश भएका हुसेनले भने ‘अब घर पनि के भनेर जाने, मर्नु न बाँच्नु भएको छ ।’

उनीसँगै मलेसियामा दुख पाएर फर्केका भोगेन्द्र महतो दलालहरुले आफूलाई बेचेको महसुस गरेर स्वदेश फर्केका छन् । ‘मलाई त लगेर बेचिएको रहेछ, कहिले कता लगेको छ कहिले कता ? अरुको देशमा भारी काम लगाएपछि गर्न सकिन भन्दा निकालिदियो,’ महतोले भने ‘१० दिन काम गरेपछि फेरि सप्लाई कम्पनीले १० दिन काम नै दिँदैन थियो, त्यसपछि कुन ठाउँमा डिमाण्ड कति दिनको आउँछ, त्यति नै दिन गयो, काम गर्‍यो, तर त्यहँा बेसिक भन्ने नै हुँदैन थियो ।’

उनले शारिरीक रुपमा गर्नै नसक्ने काम लगाएपछि बिरामी हुँदा पनि आफ्नै खर्चमा उपचार गर्नुपर्ने बाध्यता रहेको बताए । ‘बिरामी भएर काम गर्न नगएपछि कुपनमा छाप लाग्दैन थियो, त्यसपछि खाना खानै पाईँदैन थियो, आफैंले बनाउँछु भन्दा सबै सामान खोसिदिए,’ होस्टेलमा मानवीय दृष्टिकोणबाट पनि नहेरिएको बताए ।

मलेसियास्थित नेपाली दूतावासको सहयोगमा उद्धार गरिएका ८ जना मध्ये रामजतन महतो र साजन महतोले परी ओभरसिज प्रालिका दलाल नरेन्द्र ठाकुरलाई ३ लाख रुपैयाँ बुझाएका थिए । यस्तै मोहम्मद जफरुल हुसेनले ३ लाख २० हजार बुझाएका थिए । परी ओभरसिजका अर्का दलाल रामदुल्ला ठाकुरलाई लक्ष्मी महतो, सञ्जीवकुमार महतो, भोगेन्द्र महता र धरमेन्द्र महतोले जनही ३ लाख बुझाएका थिए । नरफी महतोलेे मेनपावरमै ३ लाख बुझाएका थिए । पीडित रामजतन महतोका अनुसार, १२९ जना नेपाली अझै मलेसिया यसरी नै फसिरहेका छन् ।

मलेसियामा अनेक हण्डर ठक्करपछि उनीहरु जसोतसो मलेसियास्थित नेपाली दूतावासमा पुगेपछि उनीहरु नेपाल र्फकन पाएका हुन् ।

८ दिनअघि कामाडौं उत्रिएका उनीहरु आफूलाई फसाउनेहरु खोजिरहेका छन् । वैदेशिक रोजगार बोर्डमा गएर बारम्बार कुरा राख्दा पनि महानिर्देशक मदन दाहालले खासै वास्ता नगरेको उनीहरुको आरोप छ ।

उनीहरुले क्षतिपूर्तिसहित आफ्नो फसेको पैसा दिनुपर्ने माग गरेका छन् । ‘हामीलाई जसरी पनि आफ्नो फसेको पैसा उठाइदिनु पर्‍यो, हामीले १० महिना मलेसियामा दुख पायौं कम्तीमा बेसिक तलब हामीलाई दिनुपर्छ,’ सरकारसँग उनीहरुले माग गरे ।