नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्दा सुन तस्करीसम्बन्धि विवरणका केही तथ्य समेत खुलेका छन् । बालकृष्ण खाण गृहमन्त्री हुँदा प्रहरी मिलेमतोमै सुन तस्करी भएको विवरणहरू उनका पिए नरेन्द्र केसी, तत्कालीन सचिव टेकनारायण पाण्डे तथा बिचौलिया केशब दुलालबीचको मोबाइलबाट खुलेको छ ।
दुलालले एयरपोर्टबाट सुन तस्करीका लागि भनिदिनुप¥यो भनेका छन् । जसमा सचिव पाण्डेले यसमा प्रहरीले नमान्ने जवाफ दिएका छन् । त्यस्तै, दुलालले खाणका पीए केसीलाई पनि त्यस्तै आग्रह गरेकोमा आइजिपीलाई भनिदिने भनेर जवाफ दिएका छन् । जसले त्यतिबेला सुन तस्करी भएको प्रष्ट आधार दिन्छ ।
त्यसो त चुनावको मुखमा गृह मन्त्रालयसम्मकै सेटिङमा सुन तस्करी भएको चर्चा थियो । चुनाव खर्च उठाउन भनेर तस्करी गरिएको चर्चा प्रहरीमा थियो । मोबाइलका विवरणबाट त्यो प्रष्ट भएको छ । जसकारण यो विषयमा छुट्टै अनुसन्धानको आवश्यकता देखिएको छ । ‘देशका नागरिकलाई बेच्न तयार हुनेका लागि सुन तस्करी के ठूलो कुरा भयो र ?’ एक प्रहरी अधिकारी भन्छन्, ‘खाणको गिरोहमाथि विस्तृत छानबिन भएमा अनेक रहस्य खुल्नेछन् ।’
उता गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले खाणलाई जोगाउने गरी प्रहरीमा कागज गरिदिएका छन् । गोप्य प्रतिवेदन कीर्ते लगायतको विषयमा सबै गल्ती सचिव पाण्डेको भएको भनेर उनले बयान दिएका छन् । जबकी मन्त्रालयमा खाणको सबैभन्दा विश्वासपात्र भएर काम गरेका थिए । सोही प्रकरण पीडितहरु न्याय माग्दै जाँदा उनले थर्काएर पठाउने गरेका थिए ।