ठग्नेहरुलाई कसरी लाउने होला ठेगान ?

-


     सुचनाको हक     
     जेठ २० गते २०८० मा प्रकाशित


छलछाम र ठगठागको दुनियाँमा ठग्ने होइन छलिने/ठगिनेचाहिँ दोषी हुँदो रहेछ । ठग्नेहरू उल्टै पानीमाथिको ओभानो बन्दा रहेछन् । राज्यका शक्तिहरू नै तिनै ठगका पक्षमा उभिए पछि पीडितहरूले रुँदै हिँड्नुबाहेक अरु के नै गर्न सक्छन् र ?

लहरो तान्दा पहरो थर्केकै शैलीमा भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलवालाहरू तानिइरहँदा उस्तै डरलाग्दो ठगी धन्दा बाहिर आएको छ । पिरामिड शैलीको कारोबारमा हजारौं सर्वसाधारणलाई ठगी गरेका एक कसुरदारलाई काठमाडौं जिल्ला अदालतका श्रीमान्ले साढे सात लाख धरौटी तिरेर छाडेपछि हामी झन् मर्माहत भएका छौं । वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐनको दफा ११ मा पिरामिडमा आधारित व्यवसाय गर्न नहुने उल्लेख छ । ऐनविपरीत यस्तो कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई बिगो खुलेको भए सोबमोजिमको जरिवाना र बिगो नखुलेकोमा पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षदेखि पाँच वर्षसम्म कैद वा दुवै सजायँ हुने ऐन व्यवस्था छ ।

यसरी सरकारले बन्देज लगाएको काम गर्दै आएका नुवाकोटका विष्णु तामाङलाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले धरौटीमा छाड्न आदेश दिएको छ । करोडौं ठगिएको भन्दै १५ जना पीडितले दिएको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान व्युरोले मुद्दा चलाएको थियो । वैशाख ३१ गते ८ नम्बर इजलासबाट यस्तो आदेश दिइएपछि पीडितहरू झनै मर्माहत बनेका हौं । नुवाकोट जिल्ला कुमरी गाविस हाल बेलकोटगढी नगरपालिका २ का विष्णु तामाङहरूको समूहले हो यस्तो धन्दा चलाउँदै आएको । नाताले भाञ्जा पर्ने सोम तामाङलाई अगाडि सारेर उनले बेलकोटको एउटा सिंगो बस्ती मात्र होइन सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, दोलखा, रामेछाप, रसुवासम्मका तामाङ बस्तीमा पुगी सयौंलाई ठगी गरेको भेटिएको छ । उनले बस्ती बस्तीमा पुगेर नेपालमा ठूलो फ्याक्ट्री सञ्चालन गर्ने र अहिले लगानी गर्नेहरू कम्पनीको सेयर होल्डर बनाइने, यसमा लगानी गरे प्रसस्त लाभ हासिल गर्न सकिने प्रलोभन देखाएका थिए । अहिले जति लगानी गरिन्छ, वर्ष दिनपछि नै त्यसको डबल रकम फिर्ता गर्ने लोभ देखाइएपछि १ लाखदेखि १ करोडसम्म लगानी गर्नेहरू भेटिएका छन् । इन्फिनिटी ग्लोबल ट्रेडर्स अनलाइन नेटवर्किङ व्यवसायजस्तै हो । यसले वस्तु तथा सेवाको बिक्री गर्दैन । तर, कम्पनीका प्रतिनिधि यसबाट दोब्बर प्रतिफल प्राप्त हुने भन्दै गाउँ गाउँ पुगेका थिए । कम्पनीको कुनै पनि प्रतिनिधिसँग भेटी आफूलाई उपयुक्त हुने लगानीको विकल्प रोज्नुपर्ने, एउटा जिमेल आइडी क्रिएट भएपछि लगानी गर्न सकिने उनीहरुको भनाइ थियो ।

सिआइबीले कञ्चटमा पिस्तोल तेस्र्याएर समाएका उनै विष्णु तामाङ २९ दिन हिरासतमा बसेर साढे सात लाख धरौटी तिरी निस्कन सफल भएका छन् ।

उक्त अनलाइन नेटवर्क व्यवसायमा दैनिक १ प्रतिशतको दरले नाफा आउने आश्वासन पाएर गाउँदेखि शहरसम्मका सर्वसाधारणले लगानी गर्दछन् । कुनै समय दुबईमा सेक्युरिटी काम गरेर फर्किएका उनै तामाङको समूहले यो नाममा बाग्मती प्रदेशका अधिकांश जिल्लाका सर्वसाधारण र स्थानीयलाई ठगी गरेको भेटिएको छ । हुनेले पैसा सहजै लगानी गरे, नहुनेले गाई–भैँसी बेचे । केहीले ३६ प्रतिशतसम्म महँगो ब्याजमा ऋण लिएर नगदै हाले । वर्षदिनसम्म प्रतिफल नआएपछि पैसा फिर्ता माग्नु स्वाभाविक थियो । हातले दिएर खुट्टाले दुःख पाउनु नै थियो । अनि शुरु भयो दुःख । पैसा फिर्ता ‘आउँछ–आउँछ’ भन्ने मात्र । केहीलाई वेबसाइट नै बन्द भइसकेका कारण लगानी फिर्ता दिन नसक्ने जवाफसमेत आइसकेको । कसैलाई के गर्न सक्छस् गर भन्दै उल्टै थर्काइयो पनि । यसबीच पैसा फिर्ता माग्दै तारन्तार फोन सम्पर्क गर्ने पीडितको फोन नम्बर, फेसबुक, ह्वाटसप, भाइबर सबै ब्लकमा परे ।

गाउँमा खेतीपाती गर्ने, भैंसी, बाख्रा पाल्ने सोझा सिधालाई के थाहा बैंकिङ प्रणाली ? उनीहरूले चेकमार्फत होइन, धोक्रामै लगेर पैसा बुझाएका थिए । फलानाले ठग्यो हजुर पैसा फिर्ता पाइएन भनेर उजुरी गर्न जाँदा उल्टै प्रहरीले प्रमाण नपुगेको भन्दै पठाइदिन्थ्यो । विदेशबाट फर्किएका, केही पैसा भएका, शहरतिर बसेका शिक्षितहरूले चेकमार्फत कारोबार गरेका थिए । बैकिङ च्यानलबाट पैसा दिएकाहरूले केही समय अगाडि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा उजुर गरेपछि यो प्रकरणमा सिआइबी सिरियस भएर लाग्यो र काठमाडौं जिल्ला अदालतमा मुद्दा चलायो । १८ जना वादी ३ करोड बढी ठगी गरेको प्रमाण र उजुरीसहित सिआईबीमा पुगेका थिए । त्यतिखेरै विष्णुले हद गरे थुन्ने हो, ५ लाख धरौटी तिर्छु, निस्कन्छु, कसैको एक रुपैयाँ फिर्ता गर्दिनँ भन्थ्यो हाकाहाकी ! करोडौं ठगेर धेरै सर्वसाधारणलाई मर्नु न बाँच्नुको स्थितिमा पु¥याएको एउटा ठगले कसको आड भरोसा पाएर यसरी बोल्न सक्छ ? सिआइबीले कञ्चटमा पिस्तोल तेस्र्याएर समाएका उनै विष्णु तामाङ २९ दिन हिरासतमा बसेर साढे सात लाख धरौटी तिरी निस्कन सफल भएका छन् । कृष्णराज तिमिल्सिना डेढ एक लाख धरौटीमा छुटेका छन् । इन्फिनिटीका मुख्य डिजाइनर राकेश पन्त र भारतीय नागरिक दीपक भास्करका अलावा इन्दिरा शाह, सुस्मिता, सूर्य खरेल, राजन खतिवडाहरू हुन् । राकेश पन्त फरार छन् । अदालतका श्रीमान्ले उनै पन्तकी छोरीलाई समेत धरौटीमा छोड्न आदेश दिएका छन् ।

यिनैलाई माओवादीले नुवाकोट बेलकोटगढी २ बाट उम्मेदवार बनायो रामहरि ढुंगानाकै जोडबलमा तर जमानतसमेत बचाउन सकेनन् । नाताले भाञ्जा पर्ने सोमलाल तामाङ माओवादीका नगरकमिटी सदस्य पनि हुन् । विष्णुका लागि पैसा उठाइदिने काम भाञ्जाले गर्दै आएका छन् । उनै विष्णु कष्टडीमा हुँदा रामहरिले विमला सुवेदीलाई भेटेर जसरी भए पनि छुटाइदिनुप¥यो भन्दै अनुनय विनय गर्न पुगेका थिए ।

कुनै समय मासिक २० हजार तलब थाप्ने विष्णुले अहिले सयौंलाई पीडित बनाएर भक्तपुर दधिकोट शिकारीटारमा करोडौंको बंगला ठडाएका छन् । हेटौंडा, चितवन, नुवाकोटमा प्रशस्त जग्गा जमिन जोडेका छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा परेको थियो । काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहाइ भएकै भोलिपल्ट सम्पत्ति शुद्धीकरण विभागले एक लाख जरिवाना तिराएर उन्मुक्ति दिएको छ । महिनौं लगाएर खोजी गरिएका अभियुक्तलाई केही लाख धरौटीमा छोडिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोलाई पनि चित्त बुझेको छैन । फेरि पुरक निवेदन दिने तयारी छ । त्यहाँबाट पनि सेटिङ कलामा पारगत विष्णुहरू उम्किए के अनौठो भयो र ?