जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ७ स्थित बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु,
इन्जिनियर महेश सिंह कठायत र असिष्टेण्ट सब-इन्जिनियर हस्त बहादुर मल्लले आ.व.२०७४।०७५ मा जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा निर्माण सम्पन्न भनिएको बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण गर्ने क्रममा वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी नभए नगरेको कार्यसमेत गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले गलत नापी किताब, उपभोक्ताको बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी बाटो निर्माण कार्यको भुक्तानीसमेत दिई रु.२२,३६,४८२।– हानी पुर्याएको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय खण्ड (ग) र (ङ) को कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम बिगो रु.२२,३६,४८२।– (बाइस लाख छत्तीस हजार चार सय बयासी रुपैंया) कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुलउपर हुन साथै निजहरुले भए गरेको कार्यभन्दा बढी नभए नगरेको कुरा देखाई बदनियतपूर्वक गलत नापी किताब, उपभोक्ताको बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उप-दफा (२) बमोजिमको कसुर भएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुनसमेत मागदावी लिइएको छ।
छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाही,
तत्कालीन नगर उप-प्रमुख सुन्तला रोकाया र वडा नं. ७ सदस्य पशुपती शाहीले
आ.व.२०७४/०७५ मा जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा निर्माण सम्पन्न भनिएको बिसौनीदेखि किउरीसम्मको बाटो निर्माणको भुक्तानीको क्रममा उपभोक्ता समितिबाट वास्तविक रुपमा नभए नगरेको कामलाई लागत स्टिमेट अनुसार कार्यसम्पन्न भएको भनी बदनियतपूर्वक भुक्तानीको लागि सिफारिस गरेको, अनुगमन समितिको प्रतिवेदन नै नभएको अवस्थामा बदनियतपूर्वक भुक्तानीको कारवाही अगाडि बढाउन आदेश गरेको कार्यबाट वास्तविकरुपमा नभए नगरेको बढी मूल्याङ्कन भएको रु.२२,३६,४८२।– भुक्तानी गरी गराई सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा (३) बमोजिमको भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले निजहरु हरिजङ्ग शाही, सुन्तला रोकाया र पशुपती शाहीलाई बिगो रु.२२,३६,४८२।– (बाइस लाख छत्तीस हजार चार सय बयासी रुपैंया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको सजाय हुन मागदाबी लिइएको छ।
साथै, बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्यारी शाही, कोषाध्यक्ष नानी कामी र सचिव सादना मल्लले वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी नभए नगरेको कार्यसमेत नापी किताबमा चढाउन लगाई गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ता समितिको बिल तयार गर्न लगाई उक्त कागजातहरु गैरकानूनी लाभ लिने बदनियतले छायाँनाथ रारा नगरपालिका, मुगुमा पेश गरी भुक्तानीसमेत लिई रु.२२,३६,४८२।– हानिनोक्सानी पुर्याएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर भएको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो रु. २२,३६,४८२।– (बाइस लाख छत्तीस हजार चार सय बयासी रुपैंया) कायम गरी सजाय हुन एवं उक्त बिगो समेत जफत हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको।