जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहाले जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग रु. १५,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहालाई सेवाग्राहीबाट रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, कलैया, बाराका खरिदार रामविश्वास साहले जग्गा रजिष्ट्रेशन गरिदिनको लागि रु.१५,०००।– घुस/रिसवत माग गरी प्रतिवादी गौरीशंकर कुमार कुशवाहलाई लिन लगाई उक्त घुस/रिसवत निज गौरीशंकर कुमार कुशवाहले लिएको हुँदा प्रतिवादी रामविश्वास साहले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएकोले निज रामविश्वास साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु.१५,०००।- (पन्ध्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) वमोजिम जरिवाना सजायसमेत हुन र प्रतिवादी गौरीशंकर कुमार कुशवाहले घुस/रिसवत वापतको रु.१५,०००।- सेवाग्राहीबाट लिई आफूसाथ राखेको र निजको साथबाट नै बरामद भएको देखिएकोबाट निज गौरीशंकर कुमार कुशवाहले मुख्य कसुरदार रामविश्वास साहले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरको मतियार भई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २२ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज गौरीशंकर कुमार कुशवाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ वमोजिमको कसुरमा विगो रु.१५,०००।- (पन्ध्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 3 को उपदफा (१) वमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) वमोजिम मुख्य कसुरदार रामविश्वास साहलाई हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ वमोजिम आधा सजाय हुन मागदावी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ।