नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका “द्वन्द्व विज्ञ” तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार प्रोफेसर डाक्टर इन्द्रजित राई प्रहरी हिरासतमा पुगेको खबरले भोजपुरको राई समूहमा हलचल ल्याएको छ । राम्रै आर्थिक हैसियत भएका,विगतमा त्यस्तो कुनै खराब चालचलन नदेखिएका राई एकाएक राज्यविरुद्धको अपराध गाँसिएको संगठित ठगीमा परेको खबरले भोजपुरको रामप्रसाद गाउँपालिकाका राईहरु अचम्भित बनेका छन् ।
राजधानीमा घरजग्गा भएको, भारतबाट मासिक ५० हजार भारु. पेन्सन आउने र अन्य आम्दानीको स्रोत समेत टन्नै भएका राईलाई कसले त्यहाँ पुर्यायो होला ? भन्ने जिज्ञासामा भोजपुर बस्ने उनका केही आफन्तले छोरो निरज राईले त्यो अवस्थामा पुर्याएको आशंका गरेका छन् । उनीहरुले भने, ‘छोरोले बिगार्यो । बाउलाई त्यो हालतमा पुर्याउने छोरो निरज नै हो ।’
नक्कली शरणार्थी काण्डबाट प्राप्त रकमले गोदावरीमा घर बनाएको आरोप बाउ छोरामाथि लागेको छ । पुख्र्यौली घर भोजपुरको रामप्रसाद गाउँपालिका भए पनि इन्द्रजितको हर्कतले वीर पुरुष रामप्रसादको नाम धुलोमा मिसिएको टिप्पणी गर्नेहरु भोजपुरमा धेरै छन् । रामप्रसाद राई तत्कालीन समयमा राणा विरोधी आन्दोलनका सशक्त योद्धा थिए । उनैको सम्मानमा गाउँपालिकाको नाम नै रामप्रसाद राखिएको हो ।
इन्द्रजितको अर्को छोरो नेपाली सेनामा कर्णेल छन् । कर्णेल गौरव राई कामको सिलसिलामा धेरै पटक मिसन अर्थात शान्ति सेनामा गइसकेका छन् ।
स्वयम् इन्द्रजितको नाममा काठमाडौंको ब्रिटिश कलेजमा लगानी रहेको पाइएको छ । उनी भारतका विभिन्न सैनिक एकेडेमीमा अध्यापन गर्थे । नातागोता पनि अधिकांश बेलायती सेनाको ठूलै दर्जामा रहेका उनैको जोडबलमा धेरै जनाले ललितपुर मानभवनको युनाइटेड एकेडेमीमा लगानी गरेको भन्नेहरु पनि भेटिएका छन् ।
उच्चपदस्थ अधिकांश बेलायती लाहुरेमध्ये धेरैजसो उनका नातेदार हुन् । तर,उनै राईले अप्ठेरो पर्यो भन्दै शरणार्थी प्रकरणका मुख्य एकजना सानु भण्डारीसँग टेलिफोन कुराकानीमा पैसा मागेको टेलिफोन रेकर्ड बाहिर आइसकेको छ ।
सम्भवतः छोरोले व्यापार गर्ने नाममा इन्द्रजितको पदीय हैसियतलाई दुरुपयोग गर्न फसाएको भन्नेहरु धेरै छन् । निरज पेशाले व्यापारी हुन् । उनी हेटौंडामा प्लास्टिक उद्योगसँगै पछिल्ला दिनमा घरजग्गाको कारोबार गर्थे । नेकपाकालमा एमाले निकट व्यापारीहरुको महासंघमा उनी माओवादीको तर्फबाट सचिव थिए । ‘ती सानोतिनो नेता नै हुन्,’ उक्त महासंघका तत्कालीन पदाधिकारीहरुले बताए ।