नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्ण प्रसाद यादवले नेपाल विद्युत प्राधिकरण अन्तर्गत बिभिन्न कार्यालयहरुमा कार्यरत रहँदा स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज कृष्ण प्रसाद यादवले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४८।११।०९ देखि निज अवकास पाएको मिति २०७९।०२।०९ सम्मको अवधिको समग्र आय (आम्दानी) तथा ब्यय (खर्च तथा लगानी) को बिश्लेषण गर्दा निजको पारिश्रमिक बचत, प्रोत्साहन भत्तावापतको रकम, बिदेश भ्रमण भत्तावापत प्राप्त रकम, कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको कर्जा आय, नेपाल बिद्युत प्राधिकरणबाट लिएको कर्जा आय, बैकबाट लिएको कर्जा आय, सहकारीबाट लिएको कर्जा आय, शेयरबाट प्राप्त नगद लाभांश, ब्याज आम्दानी, घरबहाल आय, बीमा म्याचुयर्ड भई प्राप्त रकम, सवारी बिक्रीबाट प्राप्त रकम, शेयर बिक्रीबाट प्राप्त रकम, मुआब्जाबापत प्राप्त रकम र कृषि आयसमेत गरी जम्मा रु.१,७१,४६,०४४।४९ (एक करोड एकहत्तर लाख छयालीस हजार चौवालीस रूपैंया उनान्चास पैसा) आय आर्जन गरेको र सोही जाँच अवधिमा निजको ब्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च तथा छोरीहरु बिदेश पठाउँदाको खर्च, कर्जाको साँवाब्याज भुक्तानी, घरबहाल कर, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, शेयर खरिद तथा लगानी र बैंक मौज्दातसमेत गरी जम्मा रु.३,१३,९८,५९४।९० (तीन करोड तेह्र लाख अन्ठानब्बे हजार पाँच सय चौरानब्बे रूपैंया नब्बे पैसा) खर्च तथा लगानी गरेको देखिँदा निजले जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीमा गरेको कुल खर्च र सोही अवधिको आयव्ययको विवरण अनुसार स्रोत खुल्न आएको वैध आय रु.१,७१,४६,०४४।४९ को अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेको सम्पत्ति एवं खर्च तथा लगानी रु.३,१३,९८,५९४।९० देखिँदा आयभन्दा बढी भएको रु.१,४२,५२,५५०।४१ बराबरको रकमको स्रोत नखुलेको एवं निज राष्ट्रसेवक भएपश्चात के कस्तो श्रोतबाट आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेको हुँदा निज कृष्ण प्रसाद यादवले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई विगो रु.१,४२,५२,५५०।४१ (एक करोड बयालिस लाख बाउन्न हजार पाँच सय पचास रूपैंया एकचालीस पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५¸ दफा १६ग, दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगोबमोजिम जरिवाना र कैद सजाय हुन तथा निज कृष्ण प्रसाद यादवले आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।
यसैगरी कृष्ण प्रसाद यादवले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती मंजु देवी यादवसमेतको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिद लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम मंजु देवी यादवलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।