कुवेत हिँडेका ११७ श्रमिकलाई विमानस्थलबाट फिर्ता

-


     सुचनाको हक     
     असार २८ गते २०८० मा प्रकाशित


त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिँडेका ११७ श्रमिकलाई विमानस्थलबाट फिर्ता पठाएको छ। 

श्रम स्वीकृति लिएर हिँडेका ११७ श्रमिकहरूको कागजात शंकास्पद भेटिएपछि फर्काइएको कार्यालय प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए। उनका अनुसार यसरी फर्काइएका अधिकांश महिला छन्। 

कार्यालयले भिसा शंकास्पद देखिएको भन्दै बुधबार साँझ सलाम एयरमार्फत् कुवेत जान लागेका १०१ जना फर्काएको हो। भिसा शंकास्पद देखिएपछि बिहीबार पनि कुवेत हिडेका १६ जनालाई फर्काएको हो। 

उनीहरूले विभिन्न म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएका थिए। कुवेतस्थित विभिन्न कम्पनीहरूमा काम गर्ने भनेर श्रम स्वीकृति दिइएको थियो। 

सोधपुछका क्रममा तथा कागजात हेर्दा अन्य कामको आवरणमा त्यहाँको घरेलु काममा लैजान लागेको देखिएपछि कार्यालयले उनीहरूलाई विमानस्थलबाटै फर्काएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए। 

सरकारले घरेलु कामदारका रूपमा कुवेतसहित खाडीका सबै मुलुक र मलेसिया जान रोक लगाएको छ।

घरेलु काममा रोक लगाएकै अवस्थामा अन्य कामको आवरणमा जोखिमपूर्ण घरेलु काममै पठाउन लागेको पाइएपछि रोक लगाइएको उनको तर्क छ।

‘अर्कै काम देखाएर घरेलु काममा पठाउन लागेको भेटियो। किनभने श्रम स्वीकृतिमा एउटा काम भनेको छ। सम्झौता पत्रमा अर्कै काम छ। किन यसरी फरक–फरक भयो। यस्तो त हुनु भएन नि?,’ उनले प्रश्न गरे। 

कतिपयको भिसा पनि स्वीकृत भइनसकेको उनको भनाइ छ।

‘भिसा अप्रुभल वेटिङ भनेर देखाइएको अवस्था छ। कतिपयको हातमा एउटा भिसा छ झोलामा अर्को भिसा छ, यस्तो अवस्थामा कसरी पठाउन सकिन्छ भन्नुस् त?,’ उनले भने।

केही कागजात पनि नक्कली भएको दाबी उनको छ। यस विषयमा अब के गर्ने भनेर सम्बन्धित सबै निकायबीच छलफल सुरू भएको उनले बताए। उनकाअनुसार यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृहमन्त्रालयका सचिव, वैदेशिक रोजगार महाशाखा प्रमुख, अध्यागमन तथा वैदेशिक रोजगार विभागका महानिर्देशकसहित छलफल भएकाे हाे।

यस विषयमा थप अनुसन्धान गरिने छलफल भएको छ। अनुसन्धानबाट जाली भिसा तथा श्रम स्वीकृति दिइएको भेटिए सम्बन्धित निकाय (वैदेशिक रोजगार विभाग तथा म्यानपावर व्यवसायीहरू) लाई कारबाही अघि बढाइने उल्लेख गरिएको छ।

श्रम स्वीकृति दिँदा भिसा तथा सम्झौतापत्र दुबैमा एउटै काम स्पष्ट हुनुपर्ने भन्ने विषयमा पनि छलफल भएको उनले बताए।

म्यानपावर व्यवसायीहरूले भने श्रम स्वीकृति लिएर कानुनी प्रकृया पूरा गरेर गएका श्रमिकहरूलाई अध्यागमनले नियतबस फिर्ता गराएको आरोप लगाएका छन्। 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी श्रम स्वीकृति लिएर गएका श्रमिकलाई पटक-पटक विमानस्थलमा रोकेर दुःख दिने काम भएको बताउँछन्। ‘भिसा जाँचपछि सरकारले ठीक भएरै श्रम स्वीकृति दिने हो। तर यो दुःख दिने नियत भयो,’ उनले भने। 

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरूङ वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिडेका  श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले फर्काउन नमिल्ने बताउँछन्। 

भिसा, कम्पनी र पद फरक भएको कारण देखाउँदै विमानस्थलका कर्मचारीले पूर्वाग्रह राखेर वैदेशिक रोजगारीमा जाने श्रमिक रोक्ने प्रवृत्ति मौलाएपछि करिब ९ वर्षअघि नै वैदेशिक रोजगार व्यवसायी संघको पहलमा यस सम्बन्धी केही निर्णय भएको उनले बताए। 

२०७१ साल वैशाख ३० गते अध्यागमन विभागका तत्कालीन महानिर्देशक शरदचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले श्रमिकहरूको भिसामा उल्लेख हुने पेशा, कम्पनीलगायत विवरणमा भिसा र श्रम स्टिकरमा फरक परेको अवस्थामा पनि अध्यागमनले रोक्न नपाउने निर्णय भएको उनको भनाइ छ।  

‘वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइसकेका श्रमिक अर्को निकायले शंकाकै भरमा रोक्नु हास्यास्पद र खेदजनक विषय हो,’ उनले भने। 

कुवेत जान हिडेका ११७ श्रमिकलाई हवाई टिकटको क्षतिपूर्ति सहित नि:शर्त उडान अनुमति दिनुपर्ने उनको तर्क छ।

कार्यालय प्रमुख सुवेदी भने कार्यालयले कानुनी जबाफ दिन सक्नेगरी काम गरेको बताउँछन्। ‘हामीले यसै रोकेको छैन। रोक्नैपर्ने देखिएपछि रोकेका हौं,’ उनले भने। 

पछिल्लो समय मलेसिया खाडी लगायत विभिन्न मुलुकमा कम्पनीको काम देखाएर घरेलु श्रमिकमा जाने प्रवृत्ति बढेपछि अध्यागमनले कडाइ गरेको बताएको छ।

यसअघि पनि श्रम स्वीकृति लिएर जोर्डन हिडेका १५ जना महिलालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको थियो।

उनीहरू एससिसी म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर हिडेका थिए। ति महिला श्रमिकको भिसा शंकास्पद भएको भन्दै उनीहरूलाई फर्काइएको थियो। ‍वैशाखयता भिजिट भिसामा जाने चार हजार भन्दा बढीलाई पनि विमानस्थलबाट फर्काइएको छ।

नेपालीहरू घरेलु कामदारका रूपमा जाने प्रमुख गन्तव्य मुलुकहरू कुवेत, साउदी अरब, युएई, लेबनान, जोर्डनलगायत हुन्।

घरेलु श्रमिकका रूपमा पुरूषभन्दा धेरै महिला जाने गर्छन्। तर २०७२ सालदेखि नेपालले जोर्डन तथा इजरायलमा मात्रै घरेलु कामदार पठाउँदै आएको छ। त्यस बेला संसदको तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ठोस कानुन नबन्दासम्म मलेसिया तथा खाडीमा घरेलु कामदारका रूपमा पठाउन रोक लगाउन निर्देशन दिएको थियो।

फेरि २०७७ असोजको दोस्रो साता संसदीय समितिले निर्देशन सच्यायो। विभिन्न शर्त पूरा भएका मुलुकमा घरेलु कामदार खुला गर्न सकिने निर्देशन समितिले दिएको छ। जसमा नेपालबाट घरेलु कामदार लैजान इच्छुक मुलुकमा कामदारको सेवा, शर्त, सुविधासम्बन्धी छुट्टै कानुनी व्यवस्था हुनुपर्ने उल्लेख छ।

त्यस्तै, श्रम सम्झैता पनि गरिनुपर्नेछ। सम्झौतामा पारिश्रमिक, बिदा, स्वास्थ्य उपचार, बीमा जस्ता अतिरिक्त सुविधा सुनिश्चित हुनुपर्ने छ।

घरेलु काममा जाने सीपयुक्त हुनुपर्ने, सम्बन्धित गन्तव्य मुलुकको भाषा जानेको हुनुपर्ने लगायत शर्त समितिको छ।

समितिको निर्देशनपछि पनि सरकारले घरेलु काममा नयाँ श्रम स्वीकृति खुला गरेको छैन। हाल गन्तव्य मुलुकमा घरेलु कामदारका रूपमा कार्यरत श्रमिकहरू नेपाल फर्किएर पुनः श्रम स्वीकृति लिई जान पाउने व्यवस्था भने गरिएको छ।