कास्की जिल्लामा वन विज्ञान बिषयको पढाई सञ्चालन गर्दै आएको जानकि माध्यमिक विद्यालयले यतिखेर पढ्दै कमाउँदै कार्यक्रम शुरु गरेको छ ।
विद्यालयले विदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीलाई बाँसका सामाग्री निर्माण गर्ने तालीम सञ्चालन गरेको हो । तालीममा कक्षा ९ र १० मा अध्ययनरत २० जना विद्यार्थीको सहभागिता रहेको कुरा सहायक प्रधानाध्यापक एवम् प्रशिक्षक कमलप्रसाद आचार्यले बताउनुभएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको शुभारम्भ गर्दै विद्यार्थीले उत्पादन गरेको सामाग्री औपचारिक कार्यक्रममा उपहारका रुपमा प्रयोग गरिने जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा गुणस्तरीय, प्राविधियुक्त एवम् आयआर्जन गर्ने शिक्षानै भविष्यका कर्णाधार विद्यार्थीको मेरुदण्ड भएको उल्लेख गर्दै आयआर्जनका लागि सीपमूलक कार्यक्रममा वडास्तरबाट आर्थिक तथा वजारिकरणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालय आवश्यक कच्चा पदार्थमा आत्मनिर्भर वन्नु अपरिहार्य छ उहाँले भन्नुभयो, स्थानको व्यवस्था गर्नुहोस आवश्यक बाँसका विरुवा वडाबाट उपलव्ध हुन्छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक अर्जुन कडेल, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र शर्मा, बालक्लवका अध्यक्ष मोनिका पौडेल,प्रशिक्षक कमल आचार्य, शिक्षक तुलसी गिरी लगायतले व्यवसायिक शिक्षामा जोड दिनु भएको थियो ।