संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त रहेको जनप्रतिनिधिहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले केही जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष एवम् सदस्य र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य पद रिक्त भएकाले सोको विवरण उपलब्ध गराउन मन्त्रालयले सबै जिल्ला समन्वय समिति कार्यालय र स्थानीय तहलाई निर्देशन दिएको छ ।
मन्त्रालयले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ को उपदफा (२) को प्रयोजनका लागि निर्वाचन आयोगको इमेल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको इमेल ठेगानामा रिक्त पदको विवरण उपलब्ध गराउन भनेको छ ।
उक्त ऐनको दफा ३, उपदफा (२) मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवम् नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ।
तर, एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने कानुनी व्यवस्था छ ।