मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका २७ घर भई हाल काठमाडौंको गुहेश्वरी बस्दै आएका ३४ वर्षीय कमल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । तामाङले सुविधा सम्पन्न जीवनशैलीको प्रलोभनमा अवैधानिक बाटो हुँदै अमेरिका पुर्याइदिने आश्वासनमा नेपालीलाई अन्यत्र देशमा पुर्याएर अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिनेजस्ता अपराधिक कार्य गर्दै आएको प्रहरीको दाबी छ ।
उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसार अपराधको कसुरमा चार वटा जाहेरी दरखास्त परेको छ । त्यस्तै, हवाई मार्गबाट अमेरिका लैजाने प्रलोभनमा एक जनासँग कम्तीमा ११ लाखदेखि ६० लाख रुपैयाँसम्म उठाएका थिए । हालसम्म दुई करोड २६ लाख २३ हजार ८९० रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीको भनाई छ ।
ब्यूरोले हिजो पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।