होमवर्क नमिलेको बहाना गर्दै आफ्नै छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने मोरङ जहदाका एक शिक्षक धरौटीमा रिहा भएका छन्।
पाँच जना छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेका मोरङको जहदा गाउँपालिकास्थित जनप्रिय आधरभूत विद्यालयका २७ वर्षे शिक्षक विकासकुमार साह धरौटीमा रिहा भएका हुन्।
मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजलासले साहसँग १ लाख रुपैयाँ धरौटी लिएर छोड्न मंगलबार आदेश दिएको थियो।
शिक्षक साहविरूद्ध पाँच जना छात्राको जाहेरीमा छुट्टा–छुट्टै अभियोग दर्ता भएको थियो।
थुनछेक पछि न्यायाधीश अर्यालको इजालासले पाँच वटा मुद्दामा जनही २० हजार रुपैयाँको दरले धरौटीमा छोड्न आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए। अदालतले तोकेको धरौटी रकम बुझाएर शिक्षक साह रिहा भएका छन्।
साहले पछिल्लो पटक जेठ ३२ गते छात्राहरूलाई यौन दुर्व्यवहार गरेको उजुरी मोरङ प्रहरीमा परेको थियो। प्रहरीमा जाहेरी परेपछि शिक्षक साह असार ११ गते पक्राउ परेका थिए।
साह करारमा नियुक्त भएका शिक्षक हुन्। उनले कक्षा ४ देखि ८ सम्म विज्ञान विषय पढाउँदै आएका छन्। उनीमाथि गत वर्ष पनि विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो। त्यसबेला स्कुलमा घटना मिलाइएको थियो।
दोस्रो पटक पाँच जना छात्रामाथि दुर्व्यवहार गरेको घटना बाहिरिएपछि उनीविरूद्ध पीडित छात्राका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए।
‘होमवर्क मिलेन भन्दै सर्टभित्र हात लैजाने, विभिन्न अंगमा सुम्सुम्याउने, चिमोट्ने जस्ता यौनजन्य दुर्व्यवहार पटकपटक गर्दै आएका थिए,’ अभियोगपत्रमा उल्लेख थियो।
नियमित विद्यालय जाने छात्राहरू अचानक स्कुल नजाने भन्दै रुने मात्र गर्न थालेपछि बाल यौन दुर्व्यवहारको घटना बाहिर आएको हो।