सशस्त्र प्रहरी बल नेपालका एक जना एसपीमाथि १० लाख रुपैयाँ डिलमा संलग्न भएको भन्दै छानबिन थालिएको छ । मकवानपुरका एसपी अनिल कार्कीविरुद्ध उजुरी छानबिन गर्न आइजी राजु अर्यालले सीमा सुरक्षा बिभागका डिआइजी गणेश ठाडा मगरलाई त्यसतर्फ पठाएका छन् ।
कार्कीले मधेशबाट अवैध तरिकाले राजधानी र पोखरासम्म विभिन्न सामान पुर्याउँदै आएका तस्करसँग डिल गरेको उजुरी पर्नासाथ मुख्यालय हलचोकले कारबाही प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ ।
टोली हेटौंडा पुगेर फर्किसकेको छ । एसपीलाई मकवानपुरमै राखिएको छ,तर अनुसन्धानको प्रक्रिया पूरा नभएकाले थप निर्णय नभएको बताइन्छ ।
प्राप्त समाचारअनुसार कार्कीले तस्करहरुको प्रस्तावबमोजिम बेरोकतोक सामान बोकेका सवारी साधन छाडिदिने वचन दिएका थिए । त्यसको निम्ति १० लाखको डिल भए पनि पाँच लाख ५० हजारमा कुरो मिलाइएको आरोप थियो ।
त्यही कुरो मिलेको साढे पाँच लाख रुपैयाँ कार्कीले भनेको ठाउँमा छाडिदिन जाँदा अख्तियारको स्टिङ अपरेशन टोलीसँग लगभग जम्काभेट भयो । त्यही विषयमा अख्तियारले गृहलाई ‘के हो ?’ भन्दै कार्कीमाथि छानबिन गर्न लेखी पठाएपछि सशस्त्र मुख्यालयले ठाडामगरको नेतृत्वमा छानबिन थालेको हो ।