मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले पालिकास्तरमा हुने कुनै पनि कार्यक्रम, समारोहमा आयातित खादा, माला, ब्याचलगायतका सामग्री प्रयोग नगर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले सार्वजनिक कार्यक्रम, सभा सभारोह, स्वागत सत्कार कार्यक्रममा आयातित कपडाको खादा, माला, ब्याचलगायतका सामान निषेध गर्ने भएको हो । स्थानीय मौलिक उत्पादन बाहेक अन्य कुनै सामान प्रयोग नगरिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
सार्वजनिक कार्यक्रममा हुने खर्चमा मितव्ययिता अपनाउन, वातावरणीय प्रदुषणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न, भड्किलो संस्कृति र कुरीति रोक्न उक्त निर्णय गरिएको उनको भनाई छ । यसले स्थानीय उत्पादनलाई प्रोत्साहनसमेत गर्ने उनी बताउँछन् ।
त्यस्तै, आयातित पत्रु खाना, चिसो तथा पेय पदार्थहरुको प्रयोगमा न्यूनीकरण गर्दै स्थानीय, रैथाने र मौलिक खाद्य पदार्थको प्रयोगमा जोड दिइने उनले जानकारी दिए । शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक संघसंस्था एवम् कार्यालयको एक सय मीटर आसपासका क्षेत्रमा सूर्तीजन्य, मदिराजन्य पदार्थ बिक्रीवितरण गर्न रोक लगाइएको अध्यक्ष मल्लले बताए ।
निषेधित क्षेत्रभित्र सूर्तीजन्य, मदिराजन्य सामग्री बेचबिखन गरेको वा प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने गाउँपालिकाले चेतावनी दिइएको छ ।