मिलन केन्द्र बन्दै छ ज्येष्ठ नागरिकको सहारा

-


     सुचनाको हक     
     भाद्र ३ गते २०८० मा प्रकाशित


ज्येष्ठ नागरिक गङ्गाराम भट्टराई घरमा बसिरहन पट्यार लागेपछि वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा पुगेर भजन कीर्तनमा रमाउनुहुन्छ। सो सेवा केन्द्रमा नियमित हुने भजन कीर्तन, प्रवचन र देउडा गीतमा रमाउन उहाँसँगै अन्य नागरिक पनि त्यहाँ पुग्नुहुन्छ। 

२०६५ सालदेखि नै उहाँ नियमित सेवा केन्द्रमा जाने गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, “दैनिक गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्न पाइन्छ।” सेवा केन्द्रमा छरछिमेकका अरूलाई पनि लिएर जाने गरेको उहाँ बताउनुहुन्छ। घरमा बसिरहँदा खासै आनन्द आउँदैन, दिक्क लाग्छ, दिवा सेवा केन्द्रमा जाँदा रमाइलो हुन्छ आनन्द आउँछ उहाँले भन्नुभयो। मनमा शान्त छ र शरीर फूर्तिलो हुन्छ। 

७२ वर्षीय खगिसरा अधिकारी पनि दिउँसोको समयमा दिवा सेवा केन्द्रमा पुग्नुहुन्छ। भजन कीर्तन र देउडालगायतका गीत सङ्गीतको धुन बज्दा आफूमा उत्साह र उमङ्ग थपिने गरेको उहाँले बताउनुभयो। आफ्ना लागि दिन कटाउने मेलो वा सहरा नै यो सेवा केन्द्र बनेको उहाँको भनाइ छ। यहाँ आउँदा छुट्टै खालको आनन्द आउँछ दुःख पीर सबै भुल्छु सेवा केन्द्रमा हुने गतिविधिका कारण आफ्नो रोग निको हुँदै गएको उहाँको अनुभव छ। 

यस नागरिक सेवा केन्द्रमा भइरहने गतिविधिले मनमा शान्ति हुने गरेको अर्का ज्येष्ठ नागरिक ७३ वर्षीय विष्णु भट्टराईले अनुभव सुनाउनुभयो। उहाँले भन्नुभयो, “जीवन ठिकै चलेको छ। घरमा पनि सबैले स्याहार र माया गरिरहन्छन्। दिवा सेवा केन्द्रमा आउन थालेको १० वर्ष पुग्यो यसैमा रमाइरहन्छु।” 

यस केन्द्रमा दैनिक ३० देखि ४५ जनासम्म ज्येष्ठ नागरिक पुग्ने गरेको बताइएको छ। हारमोनियम, तबला, खैँजडी, मिजरा, मादलको धुनमा भजन कीर्तनमा ज्येष्ठ नागरिक उत्साही हुने गरेका छन्। वीरेन्द्रनगर नगरपालिका–८ को आवास क्षेत्र सङ्गम टोलमा एउटा भवनमा सञ्चालनमा रहेको उक्त सेवा केन्दले वृद्धवृद्धाका लागि दिउँसोको समयमा भजन कीर्तनसहितको गीतसङ्गीतको व्यवस्थापन गरेर मनोरञ्जन दिँदै आएको छ। 

वीरेन्द्रनगर नगरपालिकाले भेला हुने ज्येष्ठ नागरिकका लागि खाजा र चियाको व्यवस्था गरिदिएको छ। वृद्ध सेवा केन्द्र सुर्खेतद्वारा सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्र २०६५ सालबाट सुरु गरिएको हो। वृद्ध सेवा केन्द्रकी अध्यक्षसमेत रहेकी डम्बर आचार्यले समाजका पथप्रदर्शक ज्येष्ठ नागरिकलाई आफू एक्लिएको अनुभव र मानसिक चिन्ता महसुस हुन नदिन नागरिक मिलन केन्द्र (दिवा सेवा) सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।