बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया घूससहित समातिएका छन् । नौ हजार रुपैयाँ घूस बुझेका उनलाई अख्तियारको टोलीले आज पक्रेको हो ।
अनुदानको रकम भुक्तानी सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले कडवियालाई नियन्त्रणमा लिएको बताइएको छ ।
अनुसन्धानका क्रममा पशु फर्म निर्माण कार्य सम्पन्न भएपछि अनुदान रकम प्राप्त गर्न वडा कार्यालयबाट सिफारिस गरिदिने आश्वासनका साथ सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का कार्यवाहक वडा अध्यक्ष दिलावर कवडियाले अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज कार्यवाहक वडा अध्यक्ष दिलावर कवडियालाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष एवं वडा सदस्य दिलावर कवडियाले पशु फर्म निर्माण कार्य सम्पन्न भएपछि अनुदान रकम प्राप्त गर्नको लागि वडा कार्यालयबाट सिफारिस गरिदिएवापत सेवाग्राहीसँग रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको हुँदा निज दिलावर कवडियालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु.९,०००।- (नौ हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजाय समेत हुन मागदावी लिइ विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।