केही समयदेखि नेपालका प्रायः नेताले अपराधी नछुटोस् तर निर्दोषलाई सजायँँ नहोस् भन्ने गरेको सुनिन्छ । यो कानुनको सर्वमान्य सिद्धान्त नै हो । धर्मग्रन्थमा समेत निर्दोषलाई सजायँ दिन नहुने उल्लेख गरिएको पाइन्छ । रोमन कानुनको यही आशय थियो ।
यही जुलाई २६ मा लण्डनस्थित रोयल कोर्ट अफ जष्टिसले बलात्कारको आरोपमा १७ वर्षसम्म काराबास सजायँ भोगेका ५७ बर्षीय एन्ड्रयू माल्किन्सनलाई निर्दोष सावित गरेको छ । उनलाई सन् २००३ जुलाई १९ गते ग्रेटर म्यानचेस्टर साल्फोर्ड मोटरवेको छेउमा घाइते अवस्थामा छोडिएकी ३३ वर्षीया महिलालाई बलात्कार र ज्यान मार्ने उद्योग गरेको आरोपमा सन् २००४ फेब्रुअरी १० मा दोषी ठहर गरी जन्मकैदको सजायँ सुनाइएको थियो । तर, उनले शुरुदेखि आफू यस घटनासँग सम्बन्धित नभएको र निर्दोष रहेको बताउँदै आएका थिए । यो फैसलाविरुद्ध म्यानचेस्टर क्राउन कोर्टमा निवेदन दिए । त्यहाँबाट पुरानै सजायँलाई सदर गरियो । त्यसपछि सन् २००६ मा अपिल कोर्टमा आफू निर्दोष भएको याचना गर्दा पनि पत्याएनन् । त्यसपछि दुई पटकसम्म क्रिमिनल केश रिभ्यु कमिशनमा पुगे । त्यहाँबाट पनि न्याय पाउन सकेनन् ।
सामान्यत उनको कैद सजायँ सन् २०१० मै सक्किनुपर्ने थियो । तर अनुसन्धानमा आरोप स्वीकार गरेर प्रहरीलाई सहयोग नगरेको कारण अर्को दश वर्ष जेल बस्नुपर्यो । सन् २०२० मा जेलबाट छुटेपछि उनले आफूलाई निर्दोष सावित गर्नकमै बाँकी जीवन बिताउने निधो गरे । विभिन्न संघसंस्थासँग सहयोगको लागि सम्पर्क गरे । अन्ततः सरकारको डी एन ए संग्रहमा यस घटनामा पीडित महिलाले माथि लगाउने कपडामा भेटिएको डी एन एसँग मेल खाएको एउटा रिपोर्ट देखियो । उक्त व्यक्तिलाई पक्राउ गरी अनुसन्धानका लागि जमानतमा छोडिएको छ । यसबारे नयाँ फोरेन्सिक प्रमाणको आधारमा अनुसन्धान जारी छ । त्यही आधारमा एन्ड्रयु आफूलाई निर्दोष सावित गरिपाऊँ भनी पुनरावेदन अदालत पुगेका थिए ।
आफ्नो पार्टनरसँग ठाकठुक भएको कारण बिहान ५ बजेतिर २ बच्चाको आमा ती महिला घरबाट निस्केकी थिइन् । एकछिन बाहिर बसेर फर्किएला भनी प्रेमीले केही वास्ता गरेनन् । ती महिला भने त्यत्तिकै मूल सडकमा हिँड्न थालिन् । कसैले झाडीमा आऊ होइन भने मसँग पेस्तोल छ मार्छु भनेको सुनी आत्तिएर छिटो–छिटो हिँड्न थालिन् । तर, त्यो व्यक्तिले पिछा गरेर बलात्कार गरी त्यही बाटोको छेउमा छाडेर गयो । कुटपिटका क्रममा गालाको हड्डी भाँचिएको, भ्वाइस बक्स र स्तनमा चोट लागेको थियो । करिब आधा घण्टा पछाडि त्यही बाटो हिँडेको एक मानिसको सहयोगमा प्रहरीको जिम्मा लगाइयो । यो घटनाको अनुसन्धान गर्ने एक प्रहरीले आफ्नो २६ वर्षे जागिरे अनुभवमा यस्तो घटना नदेखेको बताएका थिए । ती महिलाले बताएको हुलियाअनुसारको आकृति प्रहरीले सार्वजनिक गरेपछि व्यापक खोज तलासी हुन थाल्यो । स्थानीय बोली जस्तो लाग्ने मानिस भनेकाले त्यसवरिपरि नै छानबिन केन्द्रित भयो । अन्ततः लामो समयसम्म विदेशमा काम गरेर केही समयदेखि मात्र यस ठाउँमा आई बसेका एन्ड्रयुलाई प्रहरीले पक्राउ गरेको थियो । पीडित महिलाले आफूलाई बलात्कार गर्ने पुरुष ऊ नै हो भनेका कारण उनीमाथि मुद्दा चलाएको र अदालतले सजायँ सुनाइएको थियो । त्यतिबेला अन्य कुनै प्रमाण प्रस्तुत गरिएको थिएन ।
यस घटनामा अन्य प्रमाण उपस्थित गराउन नसक्नु र डिएनए परिणामलाई सूक्ष्म ढंगले नकेलाउनु नै एक निर्दोष व्यक्ति यति लामो समयसम्म जेलजीवन बिताउन बाध्य हुनुको कारक थियो । यही कारण बाँकी जीवन प्रभावित हुने पक्का छ । उनले सफाइ पाइसकेपछि अहिले गलत ढंगले काराबासमा बस्न बाध्य भएकाहरूलाई क्षतिपर्तिसम्बन्धी प्रचलित कानुनमा व्यापक परिमार्जन गरिनुपर्ने आवाज उठ्न थालेको छ् । यसबारे प्रधानमन्त्रीको समेत ध्यानाकर्षण भएको समाचार आइरहेका छन् ।
तेस्रो विश्वका मुलुकमा विद्यमान कानुनीभन्दा पनि व्यावहारिक कारणले निर्दोष मानिस जेल पर्नु त्यति अनौठो होइन । अपराध अनुसन्धानमा प्रयोग हुने प्रविधि तथा जनशक्ति कमीका कारण त्यस्तो सम्भावना बढी हुन्छ । कतिपय अवस्थामा पहुँचको आधारमा वास्तविक अपराधीलाई उन्मुक्ति दिएर नक्कली मानिसलाई सजायँ दिई केश सामसुम पार्ने चलन पनि छ । तर, बेलायतजस्तो विकसित देशमा यस प्रकारको कमी कमजोरी हुनु पुलिस, प्रशासनसमेत वा न्यायालय मात्र नभई सिंगो सरकार र समाज नै जिम्मेवार छ ।
सन् १९८७ मा कार्डिफका पसले फिलिप सान्डर्सको हत्या आरोपमा माइकल ओ’ब्रायन, ड्यारेन हल र एलिस शेरवुडलाई यसरी नै गिरफ्तार गरियो । ड्यारेन हलसँगको सोधपुछमा केही शंका लागेको भरमा त्यसैलाई आधार बनाएर तीन जनाविरुद्ध अदालतले सजायँ सुनायो । उनीहरूले यो फैसलाविरुद्ध क्रिमिनल केश रिभ्यु कमिशनमा निवेदन दिए । कमिशनले ड्यारेनको स्वीकारोक्तिलाई अन्य कुनै प्रमाणले पनि पुष्टि नगरेको कारण तीनै जनालाई सफाइ दियो । यस क्रममा उनीहरूले ११ वर्ष जेल सजायँ भोग्नुपरेको थियो । जेलमुक्त भएपछि गैरन्यायिक ढंगबाट अनुसन्धान गरेकोले साउथ वेल्सका सम्बन्धित प्रहरीविरुद्ध र क्षतिपूर्तिका लागि उजुर हाल्दा कुनै प्रहरीलाई सजायँ भएन । क्षतिपूर्ति भने दिइयो । ओ’ब्रायन, जो अहिले एक लेखक र जेल सुधारक छन् उनले ‘म जेलमा हुँदा मेरो खाना र पानीको लागि ३७५०० पाउण्ड मेरो क्षतिपूर्ति रकमबाट कटाइएको थियो’ भनेर लेखेका छन् ।
सन् १९७४ मा बर्मिङघमको एउटा पबमा बम विष्फोटको घटनामा २१ व्यक्तिको मृत्यु १८० भन्दा बढी घाइते भएका थिए । यसलगत्तै ६ जना व्यक्तिलाई गिरफ्तार गरी मुद्दा चलाइयो । अदालतले पनि सबैलाई आजीवन कारावासको सजायँ सुनाइयो । तर, सन् १९९१ मा पुनरावेदन अदालतले शुरुको फैसला खारेज गरी सबलाई निर्दोष सावित गर्यो । यसलाई बर्मिङघम सिक्स भनेर चिनिन्छ जुन बेलायती कानुनी इतिहासमा लज्जास्पद घटनाको रूपमा दर्ज भएको छ । त्यसैगरी, यही प्रकृतिको अर्को घटना त्यही वर्ष गिल्डफोर्डमा पनि घटेको थियो । त्यहाँको पबमा भएको बम विष्फोटले पाँच व्यक्तिको ज्यान लियो र अरू धेरै घाइते भए । यस घटनामा चार जनालाई आजीवन सजायँ तोकिएको थियो तर १४ वर्षपछाडि माथिल्लो अदालतले नयाँ प्रमाणको आधारमा निर्दोष सावित गरेको छ ।
आफूले नगरेको अपराधका लागि २७ वर्ष जेल जीवन बिताएर स्टिफन डाउनिङ अन्ततः २००२ मा रिहा भएका थिए । उनी १७ वर्षको हुँदा डर्बिशायरको बेकवेल शहरमा वेन्डी सेवेलको हत्या अभियोगमा पक्राउ परे । उनले आफू निर्दोष भएको प्रमाणित गर्न अनवरत प्रयास गरे र सफल पनि भए । जुडिथ वार्डलाई सन् १९७० पछि बेलायतमा शृंखलाबद्ध बम विष्फोट गरेको अभियोगमा २४ वर्षको उमेरमा सन् १९७४ मा पक्राउ गरिएको थियो । उनी बयान तोड मोड गरेको कारण दोषी ठहर भएकी थिइन् तर १८ वर्ष जेलजीवन बिताएपछि पुनरावेदन अदालतले निर्दोष सावित गर्यो । सन् १९९९ मा एक ब्रिटिश टेलिभिजन प्रस्तोता जिल डान्डोको हत्या आरोपमा ब्यारी जर्जलाई एक वर्षपछाडि गिरफ्तार गरी सन् २००१ मा आजीवन कारावासको सजायँ सुनाइयो । कानुनी सल्लाहकारको अथक प्रयासमा सन् २००८ मा उनी यो आरोपबाट मुक्त भए ।
सन् १९९३ मा कोलिन स्ट्यागलाई एक महिला राहेल निकेललाई एक वर्षअगाडि आफ्नो छोराको सामुन्ने क्रुरतापूर्बक हत्या गरेको आरोपमा पक्राउ गरियो । उनको मानसिक अवस्था अलि ठीक नभएको र शंकास्पद बयान दिएको आधारमा मुद्दा चलाउन खोजियो तर अदालतले अनुमति नदिएको कारण एक वर्षभन्दा बढी कस्टडीमा बस्नुपर्यो । यो अपराधमा सन् २००८ मा रोबर्ट नेपर नामक व्यक्तिलाई नयाँ डिएनए प्रमाणहरूको आधारमा पक्राउ गरी सजायँ दिइएको थियो । लण्डनमा सडक झगडामा मारिएका एसायास कासाहुनको हत्या आरोपी १७ वर्षीय साम हलमलाई पक्राउ गरी साक्षीको बकपत्रको आधारमा आजीवन कैद सजायँ सुनाइयो । सात वर्षको अथक प्रयासपछि सन् २०१२ मा उनी निर्दोष भए । सन् १९७८ मा लण्डन ब्रिजवाटरमा पत्रिका बेच्ने १३ वर्षीय कार्ललाई मारेको गलत आरोपमा एक वर्षपछि पक्राउ गरी चार जनालाई आजीवन कैद सजायँ दिइयो ।
१८ वर्षपछाडि उनीहरूलाई माथिल्लो अदालतले सफाइ दियो । छिटफुट रूपमा हुने यी र यस्ता घटनाको कमी कमजोरीबाट शिक्षा ग्रहण गरी अपराध कानुनमा विभिन्न परिमार्जन हुँदै आएका छन् । विकसित समाजमा अपराध गर्नेहरूले पनि नयाँ–नयाँ तरिका प्रयोग गर्ने हुँदा कानुन, पुलिस र न्यायालयले पनि त्यहीअनुसार आफ्नो कार्यविधिमा सुधार ल्याई सकेसम्म निर्दोषहरूले सजायँ नपाओस् भन्ने सिद्धान्त पालना गर्न हरदम प्रयास हुनुपर्छ ।
(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका लेखक नेपालका अधिवक्ता हुन्)