पिसिआर रिपोर्ट नेगेटिभ बनाउने पक्राउ

-


     सुचनाको हक     
     माघ १९ गते २०७८ मा प्रकाशित


विदेश जाने भन्दै नक्कली पिसिआर रिपोर्ट बनाउने चारजना पक्राउ परेका छन् । नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

महाशाखाका अनुसार उनीहरूलाई भक्तपुरको मध्यपुर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौँको तीनकुने स्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जिल्ला धनुषा बिदेह नगरपालिका घर भई हाल ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोसन कुमार छिट्टान , धनुषा छिरेश्वर घर भई हाल गौशाला बस्ने २५ वर्षीय  नागेन्द्र यादव , काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर सुर्यबिनायक सल्लाघारी बस्ने २९ वर्षीय माधव मैनाली , सर्लाही बलरा घर भई हाल भक्तपुर कौशलटार बस्ने २४ वर्षीय नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा रहेको  महानगरीय अपराध महाशाखाले जनाएको छ ।

त्यस्तै रौतहट राजदेवी बसतपुर घर भई हाल भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको पिसिआर ल्याब सञ्चालक  ४० वर्षीय भावेश मिश्र र  काठमाण्डौं पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रा.लि. को पिसिआर ल्याब सञ्चालक  ४० वर्षीय निर्मल गिरी फरार रहेका छन् ।

महाशाखाका अनुसार ती अस्पताल र ल्याबबाट सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबविनै बिचौलियाहरूले आफैँले आफ्नो स्वाब सङ्कलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको अनुसन्धानमा खुलेको छ।

त्यस्तै, विचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी एक जनाबाट १० हजार रुपैयाँसम्म असुल गरेको पाइएको पनि महाशाखाले बताएको छ ।

उनीहरूको साथबाट पीसीआर रिपोर्ट नेगेटिभ बनाउने कम्प्युटर मनिटर, ल्यापटप, सीपीयु, नक्कली पीसीआर रिपोर्ट र मोबाइलगायत सामग्रीसमेत बरामद गरिएको महाशाखाले जनाएको छ। अहिले दुबै अस्पतालका पीसीआर ल्याबहरु सिल गरी सबै सेवा बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको महाशाखाको भनाइ छ।