दानमा समेत घोटाला गर्ने अध्यक्ष कारबाहीमा

-


     सुचनाको हक     
     भाद्र १८ गते २०८० मा प्रकाशित


जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिका वडा नं. २ मा वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनिमियतता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिका वडा नं. २ का तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेतले लिखुपिके गाउँपालिका वडा नं. २ को भवन निर्माणको लागि जग्गा नि:शुल्क दानपत्रमार्फत प्राप्त गरी उक्त दानपत्रबाट प्राप्त जग्गालाई रु.६,००,०००।–(छ लाख रुपैयाँ) मा खरिद गरेको भनी देखाई भुक्तानीको लागि लिखुपिके गाउँपालिकामा पेश गरी जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जिवन सुवेदीले उक्त दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदासमेत जग्गा खरिद गरेको भनी झुट्ठा ब्यहोरा उल्लेख गरी भुक्तानी नै दिन नमिल्ने रकम रु.६,००,०००।– (छ लाख रुपैयाँ) भुक्तानी लिई दिई दिन लगाई निज प्रतिवादीहरु रमेश कुमार बस्नेत, राजेन्द्र भण्डारी र जिवन सुवेदीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) मा उल्लेख भएबमोजिमको कसुर गरेको हुँदा निजहरुलाई रु.६,००,०००।– (छ लाख रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी उल्लिखित बिगोसमेत असुल उपर हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।