पछिल्लो केही समयदेखि जिल्ला सदरमुकाम बेसीशहर वरपरका बासिन्दाको घरबाटै तोलाका तोला सुन चोरीको हल्ला भुसको आगो झैँ फैलिएपनि प्रहरीमा कसैको उजुरी परेको थिएन । गत साउन ३० गते बेसिशहर नगरपालिकाको योजना शाखाका शम्भु घिमिरे ५ बजेतिर घरमा पुग्दा तल गेटदेखि बेड रूमसम्म सबै कोठा खुलै देखेपछि सदरमुकाम कै विद्यालय जनविकास माविकी शिक्षिका बालकुमारी अधिकारीलाई फोन गरेर किन ताला नलगाएको भन्दै कराए । एक घण्टापछि बालकुमारी पनि आइपुगिन् ।
घर पुगेपछि बालकुमारीले आफ्नो गरगहना राखेको दराज खुल्लै देखिन् । सुन राखेको पोकै गायब भएको पाइन् । उनको घरमा नगरपालिका मै कार्यरत आफ्नै भदैनी सरला अधिकारी र दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका परिवार भाडामा बस्दै आएका थिए । दिउँसोको २ बजेतिरको समयमा सरला र अध्यक्ष श्रीमती दुर्गा गुरुङ कोठामा पुगेको बताइन्छ । त्यसबाट प्रहरीले अलिअलि शंका गर्ने ठाउँ पायो । बालकुमारीले उजुरी गरेको भोलिपल्टै बैशाखमा मात्रै बिबाह गरेका गंगा ÷जमुना रिमालले पनि आफ्नो बिबाहको करिब १३ तोला बराबरको सुनको गहना हराएको उजुरी दिए ।
बालकुमारीका साथै गंगा र जमुनाले उजुरी गरेको चाल पाएपछि अरुणा श्रेष्ठले पनि आफ्नो ११ तोला सुन हराएको बताइन् । त्यसको केही दिनमै सुजा घिमिरेले साढे दुई तोलाको गहना चोरी भएको भन्दै उजुरी दिइन् । जिल्ला प्रहरी कार्यालयमा एकपछि अर्को सुन चोरीको उजुरी पर्दै जानू, प्रहरीले कुनै भेउ नपाउनुले प्रहरी पनि तनावमै थियो ।
अनुसन्धानको जिम्मा लिएका थिए स्मार्ट प्रहरी अधिकृतको पहिचान बनाएका प्रहरी निरीक्षक वुद्धि सुवेदीले । प्रहरी अधिकृत सुवेदीलाई एउटा सूचना प्राप्त भयो, सुन चोरी भएकै दिन दिउँसो साढे २ बजेतिर ९८०६७४८९७७ नम्बरबाट बालकुमारीलाई मिस्ड कल आएको थियो । राति ८ बजेतिर कलब्याक गर्दा ग्रामीण सामुुदायिक विकास केन्द्रकी अफिसर सुजा घिमिरेले दिउँसो फोन गरेको पत्ता लाग्यो । उनले फोनमा तपाइँको पनि चोरी भएछ है १ कस्तो ढोका खुल्लै छाड्नु भएको १ मेरो पनि हराएको हो, मैले त उजुरी गरिनँ । तपाईंले त गर्नु भएछ है १ खै के पत्ता लाग्ला र भन्दै फोनमा भएको बातचित अनुसन्धान अधिकृतलाई जानकारी गराइन् ।
त्यसपछि सुवेदीले अनुसन्धानको डण्डा त्यतै तेर्साएर सुजाको कारोबार र उनको गतिविधिलाई शुक्ष्म ढंगले नियाल्न थाले । सुजाले सुन पसलदेखि बैंकमा समेत सुनको राम्रै कारोबार गरेको देखियो । उनी आफैं गएर दिएको उजुरी पनि नक्कली प्रमाणित भयो । सुजाले हराएको भनिएको गहना बैंकमा राखेको पत्तो लाग्यो ।
त्यसपछि प्रहरीलाई अनुसन्धानमा हाइसञ्चो हुन थाल्यो । विभिन्न प्रमाण जुटाएर ठिक्क पारेका सुवेदीले आइतबार ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) नामको गैरसरकारी संस्थाकी अफिसर सुजालाई गिरफ्तार गर्न अफिसमै पुगे । केही सोधपुछ गर्न परेकाले लिन आएको बताएका सुवेदीमाथि सुजाले तथानाम गाली गरिन् । उनले ठूलै स्वरमा प्रकाउ पुर्जी मागिन् । मानहानीको मुद्दा हाल्ने भन्दै धम्कीको भाषा प्रयोग गरेपनि संयमित बनेको प्रहरी टोलीले सुजालाई गिरफ्तार गरेको थियो ।
सुजाले नेपाल बैंकमा राखेको धितोको सुन जमुना रिमालको भएको प्रामाणित भएपछि प्रहरी गिरफ्तार गर्न गएको थियो । प्रहरीको नियन्त्रणमा परेकी सुजाको धम्की र आफू निर्दोष भएको अडान धेरैबेर टिकेन । अन्ततः उनले बालकुमारी र जमुनाको गहना चोरेको स्वीकार गरिन् ।
राम्रै परिवारकी, पढेलेखेकी, मासिक ६० हजारको तलब खाने २७ वर्षकी निकट भविश्यमा लमजुङ अस्पतालमा कार्यरत एक डाक्टरसँग वैवाहिक जीवनमा बाँधिन लागेकी सुन्दरी युवती यसरी चोरीमा संलग्न भएको आशंका कसैले पनि गर्न सक्दैनथ्यो । उनको चोर्ने तरिका भने अचम्मैको थियो ।
बेसीशहरकी स्थायीबासी उनले चोरी गर्ने घरमा पहिले नै रेकी गर्ने गरेको पाइएको छ । एनजीओकि हाकिम, छोरीहरुको साथी भएकाले उनलाई कुनै पनि घरमा रोकतोकको कुरै भएन । उनले चोरी गरेको घरमा व्यक्तिगत सम्बन्ध धेरै राम्रो भएको पाइएको छ ।
गगा जमुना सुजाका मिल्ने साथी मात्रै नभएर आरसिडिसीको अफिस नै उनीहरुको घरमा छ । वैशाख १० मा बिबाह गरेका उनीहरुले आफ्नो गहना हराएको वैशाख २५ गते थाहा पाएपनि घरतिरको डरले कतै जानकारी गराएनन्् । तत्काल प्रहरीमा उजुरी पनि गरेनन् । बालकुमारीले उजुरी गरेपछि प्रहरी कार्यालय पुगेका गंगा जमुनाले नेपाल बैंकमा आफ्नो गहना देखेपछि भने आँखाबाट आँसु खसालेका हुन् । प्रहरीको अनुसन्धानमा सुजाले आफुले चोरेको सकारेपछि थप अनुसन्धानका लागि सोमबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।
यता स्थानीय अरुणा श्रेष्ठ (सुजा कि दिदी शोभा कि मिल्ने साथी) ले पनि हिजो आफ्नो १० तोला ८५ लालको विभिन्न गहना हराएको भन्दै उजुरी हालेकी छन् । तर सुजाले बालकुमारी र गंगा जमुनाको बाहेक अरुको सुनबारे आफुलाई थाहा नभएको बताएकी छन् । प्रहरीले घिमिरेको घरमा छापा मार्दा बालकुमारीका सबै गहनाहरु रानीहार १ थान, बाला २ थान, पत्थरजडित औंठी २ थान, सामान्य औंठी २ थान, सिक्री १ थान, मिनीहार १ थान, टप ४ थान, पत्थर जडित टप २ थान, गणेशको मूर्ति लकेट १ थान, झुम्का २ थान बरामद गरेको छ ।
बाँकी सुन सदरमुकामस्थित नेपाल बैंकमा र केही सुन ललितपुर पुर्याएर बिक्री गरेको देखिन आएको छ । प्रारम्भिक अनुसन्धानमा आफ्नो घर बैंकले लिलाम गर्न लागेकाले ऋण चुक्ताका लागि उक्त काम गरेको उनको भनाई छ । यता बैंकमा सुन बेचेर वा ऋण झिकेर किस्ता तथा ब्याज बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सुन हराएका सबैले गहना माया मारिसके पनि प्रहरीको गहिरो अनुसन्धानबाट चोरीमा संलग्नलाई पक्रन सक्नुले जिल्ला प्रहरीको साखलाई राम्रैसँग माथि पुर्याएको स्थानीयको भनाई छ ।