इलामको रोङ गाउँपालिकाले सानो पाथीभरा मन्दिर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । रोङ गाउँपालिका(३ स्थित पाथीभरा मन्दिरको सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीले सार्वजनिक नगरेपछि गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा पाथीभरा मन्दिरको भेटी बापतको ८८ लाख बढी रकम हिनामिना भएको दावी गरिएको छ । अध्ययन प्रतिवेदनमा ८८ लाख ८३ हजार एक २४ रुपैयाँ पाथीभरा संरक्षण संस्थासँग नगद मौज्दात रहेको दावी गरिएको छ । त्यस्तै १७ लाख ६६ हजार नौ सय नौ रुपैयाँको बैंक मौज्दात भेटिएको उल्लेख छ । अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष ०७५/७६ देखि ०७९ माघ मसान्तसम्म पाथीभरा मन्दिरको आम्दानी तीन करोड १४ लाख ६२ हजार नौ २९ रुपैयाँ देखिएको छ । जसमध्ये खर्च दुई करोड २० लाख ९१ हजार दुई ४२ रुपैयाँ देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा आम्दानीतर्फ आव ०७५/७६ मा ८६ लाख छ हजार छ सय ६४, ०७६/७७ मा ७१ लाख ४३ हजार तीन सय ४५, ०७७/७८ मा ४२ लाख तीन हजार पाँच सय ३४, ०७८/७९ मा ८२ लाख एक हजार सात सय ७३ र ०७९ माघसम्म ३३ लाख सात हजार छ सय १२ रुपैयाँ देखिएको छ ।
त्यस्तै खर्चतर्फ आव ०७५/७६ मा ९१ लाख ९१ हजार एक सय ९५, ०७६/७७ मा ५० लाख २५ हजार सात सय ७०, ०७७/७८ मा ३६ लाख ५० हजार छ सय २२, ०७८/७९ मा २८ लाख १३ हजार सात सय ७८ र ०७९ माघसम्म १८ लाख नौ हजार आठ सय ७७ रुपैयाँ देखिएको छ । संस्थाले उपलब्ध गराएको विवरणमा आव ०७९/८० मा कुनै निर्माण कार्य नभएको जानकारी गराएको भएपनि सात लाख ६९ हजार पाँच सय ५९ बराबरको निमाण सामग्रीको बिल भेटिएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले आव ०७५र७६, ०७६र७७ र ०७७र७८ को लेखापरिक्षण गरेको पाइएतापनि ०७४र०७५ पछि नवीकरण नगरेको र नवीकरण नहुनुको कारण समेत नपाईएको प्रतिवेदनमा उल्लेख छ । अध्ययन प्रतिवेदनका आधारमा संस्थालले रकम हिनामिना गरेको हुन सक्ने गाउँपालिकाको आशंका छ । ‘अध्ययनका क्रममा प्राप्त कागजातका आधारमा ८८ लाख ८३ हजार एक सय २४ रुपैयाँ पाथीभरा संरक्षण संस्थासँग मौज्दात देखिन्छ’ गाउँपालिकाले अध्ययनका लागि खटाएका चार्टर एकाउन्टेन प्रज्वल अधिकारीले भने, ‘तर, त्यो रकम कहाँ छ थाहा छैन । हिसाबमा चाँही देखिएको छ ।’
संस्थाले चलाएका कतिपय रसिद नभेटिएको र कतिपय केरमेट गरेको पाईएको अधिकारीले पत्रकार सम्मेलनमा बताए । ‘५ महिनाको २४६ रसिद बक पाईएन, कतिपय रसिदमा केरमेट समेत पाइयो, दान पेटिकामा कति रकम उठ्यो, त्यसको त हिसाब नै छैन । उठाएको रकम बैंकमा जम्मा नगरी सोझै भुक्तानी गरिने पाईयो’ अधिकारीले भने, ‘अध्ययन प्रतिवेदन प्राप्त कागजातका आधारमा मात्र तयार गरिएकाले कागजी विवरण भन्दा बाहिर पनि कारोबार हुनसक्ने सम्भावना प्रशस्तै देखिन्छ ।’
पाथीभरा मन्दिरमा भेटी हिनामिना भएको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले गत २३ जेठमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा रोङ गाउँपालिकाको तर्फबाट प्रतिनिधिका रुपमा चार्टर एकाउन्टेन अधिकारी सदस्य थिए ।
तीन महिनापछि आइतबार समितिले प्रजिअ श्रवणकुमार पोखरेललाई प्रतिवेदन बुझाएको थियो । तर, प्रजिअ पोख्रेलले प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरेपछि गाउँपालिका आफैंले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । छानबिन प्रतिवेदन सार्वजनिक गर्न प्रजिअलाई दवाव दिन आफ्नो अध्ययन प्रतिवेदन सार्वजिक गरिएको गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो सुवासले बताए ।
‘हामीले गाउँपालिकालाई प्रतिवेदनको एकप्रति उलब्ध गराइदिन प्रजिअलाई टेलिफोनमार्फत भन्यौ, उहाँले दिन मिल्दैन भन्नुभयो । दिन नमिल्ने लेखेर दिन सक्नुहुन्छरु भन्ने प्रश्न गर्दा लिखित पत्र पठाउनुहोस् म त्यही लेखेर पठाउँछु भन्नुभयो’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, ‘हामीले तुरुन्त लिखित पत्र पठायौं, तर अहिलेसम्म त्यसको केही प्रतिक्रया आएको छैन । छानविन प्रतिवेदन सार्वजनिक गराउन दवाव दिन हामीले अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हौं ।’
उसो त सार्वजनिक नभएको छानविन प्रतिवेदन र सार्वजनिक भएको अध्ययन प्रतवेदनको रकममा भने कुनै फरक छैन । गाउँपालिकाका प्रतिनिधि छानबिन समितिका सदस्य चार्टर एकाउन्टेन अधिकारीले नै अध्ययन प्रतिवेदन तयार गरेकाले दुवै प्रतिवेदनको रकममा फरक नरहेको अधिकारीले बताए । तर प्रतिवेदनको ढाँचा र भाषामा भने भिन्नता रहेको अधिकारीले बताए । सोही कारण अधिकारीले छानबिन समितिको निर्णयमा ‘नोट अफ डिसेन्ट’ समेत लेखेको बताए ।
यता गाउँपालिका अध्यक्ष स्याङ्बोले पाथीभरा मन्दिरमा भएको अनियमितता ढाकछोप गर्ने बहानामा प्रजिअले छानबिन प्रतिवेदन लुकाएको आरोप लगाए । ‘अध्ययन गर्छु भनेर प्रजिअले प्रतिवेदन सार्वजनिक गर्नुभएको छैन । उहाँले जति दिनमा अध्ययन गरेपनि प्रतिवेदन परिवर्तन गर्न सक्नुहुन्न’ अध्यक्ष स्याङ्बोले भने, ‘उहाँलाई चित्त बुझेन भने पनि प्रतिवेदन परिवर्तन गर्न सक्नुहुन्न । यो अनियमितता ढाकछोप गर्ने बहाना मात्र हो ।’
उता प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले छानबिन समितिबाट प्राप्त प्रतिवेदन एक साताभित्र सञ्चारकर्मीहरुमाझ सार्वजनिक गर्ने बताए । ‘मलाई ३१ भदौ साँझमा प्रतिवेदन प्राप्त भयो । यो बीचमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको श्रदाञ्जलीसभा, संविधान दिवसलगायतमा व्यस्त भईयो । अध्ययन गर्ने मौका पाइएन’ प्रजिअ पोख्रलले भने, ‘अरु केही होइन, आजदेखि प्रतिवेदन अध्ययन गर्न सुरु गरेका छौं । अबको एक हप्तामा सञ्चारकर्मीहरुमाझ प्रतिवेदन सार्वजनिक गर्छौं ।’
पाथीभरा संरक्षण संस्थाको मातहतमा रहेको उक्त मन्दिरको संचालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाको स्वामित्वमा ल्याईएको थियो । गाउँपाकिाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी गाउँसभाबाट २०७९ माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याईएको हो ।
७ महिनामा १ करोड बढी भेटी संकलन
पाथीभरा मन्दिरमा ७ महिना ३ दिनमा एक करोड छ लाख ११ हजार तीन सय ४४ रुपैयाँ भेटी सङ्कलन भएको छ । गएको १ फागुनदेखि ३ असोजसम्म संकलन भएको रकम पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको विवरण अनुसार सो अवधिमा ९७ लाख ५६ हजार पाँच सय ८४ रुपैयाँ नगद र आठ लाख ५४ हजार सात सय ६० रुपैयाँ बराबरको जिन्सी संकलन भएको पाथीभरा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए ।
समितिका अनुसार फागुनमा १६ लाख ६८ हजार छ सय ६२ नगद र दुई लाख २५ हजार बराबरको जिन्सी, चैतमा २० लाख २१ हजार सात सय ६१ नगद र ८४ हजार छ सय ६० बराबरको जिन्सी, वैशाखमा २० लाख ८० हजार पाँच सय नगद र एक लाख बराबरको जिन्सी, जेठमा १७ लाख छ हजार दुई सय ९९ नगद र दुई लाख ७० हजार सात सय बराबरको जिन्सी सङ्कलन भएको छ ।
त्यस्तै असारमा १० लाख २७ हजार सात सय २६ नगद र ८४ हजार बराबरको जिन्सी, साउनमा चार लाख ४२ हजार पाँच सय २८ नगद र २१ हजार जिन्सी, भदौमा सात लाख ५५ हजार आठ सय ७४ नगद र ६९ हजार चार सय जिन्सी र असोज ३ गतेससम्म ५३ हजार एक सय २० रुपैयाँ रकम सङ्कलन भएको हो ।
पाथीभरा मन्दिरमा संकलन भएको रकम त्यही ठाउँको विकासमा खर्च गरिने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । ‘भक्तजनहरुको सहयोग सही ढङ्गले सदुपयोग हुनुपर्छ भन्नेमा पालिका सधैं दृढ छ’ अध्यक्ष स्याङ्बोले भने, ‘हामी सधैं पारदर्शीता र सुशासनको पक्षमा छौं, हिजोको जस्तो हुनुहुँदैन ।’ पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रुपमा आम्दानी सार्वजनिक गर्न थालेको छ ।
यता स्थानीय सरोकारवालाहरुले सात महिनामा १ करोड बढी भेटी संकलन भएको पाथीभरामा करोडौं भ्रष्टाचार भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । गाउँपालिकाको अध्ययन प्रतिवेदन अनुसार पुरानो समितिले ५ वर्षमा ३ करोड मात्र भेटी संकलन गरेको देखिएको छ । पुरानो समिति र नयाँ समितिले संकलन गरेको रकममा अन्तर धेरै देखिएकाले पुरानो समितिबाट करोडौं रकम हिनामिना भएको आशंका स्थानीय सरोकारवालाहरुको रहेको छ ।