शंकर श्रेष्ठ
एक पाकेट लेज (जङ्क फुड) किन्दा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मेघनाथ गौतम आफैं नमज्जाले ठगिए । धादिङको धुनीवेशी नगरपालिका–६ को खाना खजाना होटलद्वारा सञ्चालित कोल्ड स्टोरले ७५ रुपैयाँको लेजलाई एक १२० लियो । १०५ रुपैयाँको बदाम जुसलाई १५० रुपैयाँ लिएको पाइयो ।
बजार अनुगमनको क्रममा ग्राहक बनेर सामान किन्दा आफुमाथी भएको व्यवहार सुनाउँदै गौतम भन्छन्, ‘राजमार्ग क्षेत्रका खुद्रा पसलेहरुको नियत ग्राहकलाई खाए खा, नखाए घिच भनेजस्तै देखियो, देख्दा थोरै रकम भएपनि व्यापारीले कालोबजारी नै चलाएको पाइयो ।’
विना दर्ताका कोल्ड स्टोरले ग्राहकको ढाड सेकिने गरी महँगो मूल्य असुलिरहेका छन् । ट्यागमा लेखिएको मूल्यभन्दा किन बढी ? भनेर सोधेमा कुटुँला झैं गर्ने गरेको यात्रुको दुःखेसो छ । ‘तपाईं नखानुस्, तपाईंलाई जबरजस्ती खानु भनिएको छैन । व्यस्त छु, तपाईंसँग बार्गेनिङ गर्ने फुर्सद छैन,’ व्यापारीहरुको रेडिमेड जवाफ हुने गर्छ । एक त ग्राहकको ढाड सेकिने गरी महँगो मूल्य असुलेकै छन्, होटल तथा कोल्ड स्टोर सञ्चालकहरुको दादागिरीले यात्रामा रहेका उपभोक्ता बोल्न सकेको देखिँदैन ।
अनुगमनकै क्रममा ग्राहक बनेर धुनीवेशी नगरपालिका–९ स्थित हाइवे ब्रेक लाइट कोल्ड स्टोर पुगेका उपभोक्ता हित संरक्षण मञ्च धादिङका शिव सापकोटा पनि राम्र्र्रैसँग ठगिए । ‘१६ रुपैयाँको एक बोत्तल पानीलाई ३० रुपैयाँ लियो । झण्डै दोब्वर महँगो हो’, सापकोटा भन्छन्, ‘होटल तथा पसल सञ्चालकहरुको दादागिरीसँग ग्राहकको पत्तो चल्दैन रहेछ, एकाध रुपैयाँमा लफडा नगरौं भनेर चुपचाप फर्किनु ग्राहकको बाध्यता रहेछ ।’
१६ रुपैयाँको एक बोत्तल पानीलाई ३० रुपैयाँसम्म लिनु व्यापारीको ज्यादती र कालो बजारी भएको उनको भनाई छ । काठमाडौंबाट रात्रि बस चढेर गन्तव्यतर्फ हिँडेका अग्रिम पौडेलसँग पनि राजगर्मामा ठगिएको तीतो अनुभव थुप्रै छ । थाक्रेको न्यू गण्डकी स्टाफ होटल अगाडि हातमा पानीको बोत्तल र केही जंकफुड लिएर उभिएका पौडेल भन्छन्– ‘नखाउँ भोक लागेको छ, खाउँ भने पसलेहरुको व्यवहार र मूल्य सुनेर रिङ्गटा लाग्छ ।’
दिनमा भन्दा पनि रातको समयमा यात्रा गर्ने यात्रुहरु २० रुपैयाँको पानीलाई ४०, २० रुपैयाँको चाउचाउलाई ४० तिर्न बाध्य छन् । सोझो र विदेशी जस्तो लाग्यो भने झन् बढी ठगिन्छन् । काठमाडौबाट भारत जाँदै गरेका सौरभ झा भन्छन्, ‘हामी मधेसी जस्तो देखेपछि पसलेहरुले गर्ने व्यवहार झन घिनलाग्दो पाइन्छ । नयाँ ठाउँ त्यसमा पनि चिनेको कोही हुँदैन, केही भन्दैनौं ।’
त्रिभुवन राजपथ नागढुङ्गादेखि नौबिसे र पृथ्वी राजमार्गको नौबिसेदेखि मुग्लिन आसपासमा सञ्चालित होटल तथा पसलहरुले अधिकतम खुद्रा मूल्यभन्दा निकै महँगोमा खाद्य सामाग्री बिक्री वितरण गरेको भेटिएपछि अनुगमन टोलीले झण्डै दुई दर्जन होटल तथा पसलहरुलाई कारबाही गरिसकेको छ । पटक पटक सार्वजनिक सूचना गरेर अथवा अनुगमनमा भेटेरै सम्झाउँदा पनि अटेर गरेकाहरुलाई कारबाही गरिरहेको अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।
अनुगमनपछि धेरै पटक निर्देशन दिएपनि अझै केही व्यवसायी नसुध्रिएको उनको भनाई छ । पटक पटक दिएको निर्देशन पालना नगरी मापदण्ड विपरित सञ्चालन गर्ने होटल तथा पसलेहरुलाई निर्मम भएर हदैसम्मको कारबाही गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
चाडपर्व नजिकिएसँगै अनुगमनलाई बृहत बनाइएको छ । अब निरन्तर अनुगमन गरिने उनले बताए । ‘बिहान, दिउँसो, बेलुका, मध्यरात केही भन्दैनौं । अहिले केही दिनदेखि दिनरात निरन्तर अनुगमन गरिरहेका छौं । ग्राहकको गुनासोपछि मध्यरातमा पनि अनुगमन गरिएको हो । अनुगमनका क्रममा भेटिएका समस्या मात्रै सुधार गर्न सके राजमार्गभन्दा मुख खुम्चाउनेहरुले आहा भन्ने थिए’, उनले भने ।
होटलका किचन र कोल्ड स्टोरको फ्रिज मै अखाद्य वस्तु भेटिएको खाद्य प्रविधि डिभिजन कार्यालय नुवाकोटका खाद्य निरीक्षक नवराज श्रेष्ठले बताए । उनले भने, ‘धादिङ, नुवाकोट र रसुवामा पटक पटक अनुगमन गरेर निर्देशन दियौं । विगत पाँच वर्षलाई हेर्ने हो भने केही सुधार भएका छन् । तर सोचेजति भएको छैन ।’ अनुगमन टोलीले रात्री बसमा यात्रा गर्ने यात्रुलाई लक्षित गरेर मध्यरातमा पनि अनुगमन गर्दै आएको उनको दाबी छ ।