सेनाले अपहरण गर्दा आल्या बेगम १३ वर्षकी थिइन् । उनलाई सिधै सैनिक शिविरमा लगियो । पहिलो दिनै सामूहिक बलात्कारको शिकार बनिन् । त्यहाँ उनीजस्ता कैयौं महिला बन्दी थिए । सबैमाथि दिनहुँ पालैपालो बलात्कार हुन्थ्यो । एक त कम उमेर, उसमाथि लगातारको बलात्कारका कारण उनको अंग सुन्निन थालिसकेको थियो, हिँडडुल गर्न असमर्थ थियो, तैपनि उनी शारीरिक सम्बन्ध राख्न विवश भइन् । बलात्कृत त हुन्थिन् नै कतिपय परपीडक सैनिकले चुरोटले अनुहार, संवेदनशील अंगलगायत जताततै पोलिदिन्थे ।
खानाको हकमा सुख्खा रोटी र कहिलेकाहीँ मात्र तरकारी पनि पाउँथिन् । धेरैपटक भाग्ने कोसिस गरिन् तर सधैं असफल । उनीजस्ता भाग्न खोज्ने कतिपय महिला गोलीको शिकार बने । अन्तिम पटक उनी पनि गोलीको फेला परिन् । तर, पूर्व पाकिस्तानलाई स्वतन्त्र बनाई छुट्टै मुलुक बंगलादेश निर्माणार्थ संघर्षरत मुक्तिसेनाद्वारा उनको जीवनरक्षा भयो । घर फर्कंदा पेटमा ५ महिनाको बच्चा थियो । तर, बच्चाको जन्मिनेबित्तिकै मृत्यु भयो । सन् १९७१ मा बंगलादेश निर्माणपछि समाजले उनलाई चरित्रहीन महिला ठान्यो । जता गयो, उतै बेइज्जत भयो । अनेकन नराम्रो नाउँ दिइयो, जबकि मुक्ति संग्रामको दौरान उनी मात्र हैन, करिब २ लाख महिला बलात्कृत भएका थिए । पछि गाउँमा बस्नै नसकी राजधानी ढाकातर्फ हिँडिन् । त्यहाँ सानातिना काम गरी पेट पालिन् ।
पछि बिहे त भयो तर आजसम्म लोग्नेलाई आफू बलात्कृत भएको घटना सुनाउन सकेकी छैनन् । त्यो घटना सम्झिनसमेत तयार छैनन्, कसैले थाहा पाए भने हाँसोको पात्र बनिने डर छ उनलाई । आल्याकी छोरी यतिखेर १५ वर्षकी छन् । उनलाई आमाको कथा थाहा छ । आमाप्रति गर्व गर्छिन् । आमालाई वीरांगना मान्छिन् । स्मरणीय छ, बंगलादेश निर्माणपछि त्यहाँको सरकारले मुक्ति संग्रामको दौरान बलात्कृत सबै महिलालाई वीरांगना मानेको थियो ।
अमेरिकी लेखक र पत्रकार सलिल त्रिपाठीले सानो नगर कुमरखली पुगेर एउटा पुस्तक नै प्रकाशन गरेका छन्– ‘कर्नेल जो पश्चाताप गर्दैनन् ।’ उनले बंगलादेशको मुक्तिसंग्रामताका पाकिस्तानी सेना र उसका सहयोगी रजाकरहरूद्वारा बलात्कृत महिलाहरूसित भेटेरै कथाव्यथा सुनेका छन् । उनले भेटेमध्येकी एमके पनि हुन् । सन् १९७१ को समय एमके १९ वर्षकी थिइन् तर तीन सन्तानकी आमा । उनी र लोग्नेले मुक्तिसंग्राममा होमिएका स्वतन्त्रता सैनिकको हतियार बोकिदिन्थे । अक्टोबरको एकदिन, सैनिकहरु गाउँ पसे । एमके स–साना बच्चाबच्चीलाई काखी च्यापेर भागिन् । र, सैनिकहरू गाउँबाट गइसकेपछि मात्र घर फर्किन् ।
तर, एकछिनपछि नै फेरि सैनिकहरू आइरहेको देखिन् । त्यो बेला ३ महिनाको छोरा काखमा थियो । सेनाका जवानले बच्चालाई काखबाट खोसेर फ्याँकिदिने धम्की दिए । एमकेले छोराको ज्यानको भीख मागिन् । सेनाको साथमा रजाकरहरू पनि थिए । दुईजना रजाकरले एमकेलाई तानेर लगे । उनकी आमाले घुँडा टेकेर र रुँदै छोरीलाई नलान बिन्ति बिसाइन् । तर उनीहरूले हावामा गोली दाग्दै एमकेलाई घिसार्दै लगे ।
त्यो बेला एमकेका पति आन्दोलनकारीलाई सहयोग गर्न खोलातिर गएका थिए । उनी आफैँ पनि संघर्षमा सिधै होमिन चाहन्थे तर साथीहरूले भर्खरकी पत्नीलाई घरमै छोडेर संघर्षमा नहोमिन भनेकाले मात्र नगएका हुन् । उनी खोलामा माझीबाट माछा किनेर बजारमा लगी बेच्ने गर्थे । उनको गतिविधिबारे पाकिस्तान समर्थक समूह ‘शान्ति’ ले थाहा पाइसकेको थियो । त्यसैले त्यो दिन सेना उनको घर खोज्दै पुग्यो । त्यो बेला उनी माछा बेच्न बजारतिर जाँदै थिए ।
एकजना भाइ पर्नेले दगुर्दै आएर सेना घर पसेको सूचना दिए । तर, उनी घर फर्कन मिल्ने अवस्थामा थिएनन् । फर्किए पक्राउ पर्ने वा मारिने निश्चित थियो । त्यसैले खोलातिर दौडेर लुक्न पुगे । र, अर्कोदिन बिहान मात्र लुक्दै घर पुगे । घरको आंगनमा उनले एमकेलाई बेहोशीको अवस्थामा लडिरहेको देखे । बुझिहाले कि उनकी पत्नी सामुहिक बलात्कारको शिकार बनिसकिन् ।
बंगलादेश निर्माणको लागि पूर्वी पाकिस्तानमा भएको संघर्षको दौरान आल्या र एमकेजस्ता अढाई लाख हाराहारी महिला बलात्कृत बनेका थिए । पाकिस्तानबाट टुक्रिएर छुट्टै मुलुक बंगलादेश बनेलगत्तै त्यहाँ अवाञ्छित तवरबाट गर्भधारण गरेका महिलाको संख्या ७० हजारभन्दा पनि बढी थियो । अर्को एउटा तथ्यांकअनुसार राजधानी ढाकामा स्थापित पुनर्वास केन्द्रमा सन् १९७२ को पहिलो ३ महिनामा १ लाख ७० हजारले गर्भपतन गराएको र ३० हजारले सन्तान जन्माएको उल्लेख छ ।
त्यो बेला त्यहाँ कार्यरत अष्ट्रेलियाई चिकित्सक जेफ्री डेविसका अनुसार गर्भवती धेरै युवती लाज र बेइज्जतीको डरले आत्महत्या गर्ने तहसम्म पुगे । उनका अनुसार गर्भवती र शिशु जन्माउने अधिकांश युवती यौन रोगबाट संक्रमित थिए । बंगलादेशको निर्माणपश्चात् राष्ट्रपति बनेका शेख मुजबर रहमानले मुक्तिसंग्रामको दौरान बलात्कृत महिला सबैजना वीरांगना हुन् भनेर घोषणा गरेपनि बलात्कृत अधिकांश पत्नीलाई लोग्नेहरूले स्विकारेनन् ।
बलात्कृत कुमारी युवतीको बिहेको लागि ठूलो धनराशी दहेजको रूपमा मागियो । संघर्षको दौरान पाकिस्तानी सैनिक र सहयोगी रजाकरका सदस्यहरूले महिलामाथि बलात्कारको आतंक सिर्जना गरिएको थियो अर्थात आन्दोलनलाई दबाउन बलात्कारलाई एउटा सशक्त हतियारको रूपमा प्रयोग गरिएको इतिहासकारहरूको दाबी छ ।
सन् १९४७ को जुलाई ४ का दिन ब्रिटिश संसदमा एउटा ऐन पेश भयो र जुलाई १८ मा पारित गरियो । उक्त ऐनअनुरूप धर्मको आधारमा भारतको विभाजन हुने भयो । तदनुरूप अगस्त १४ मा पाकिस्तान र भोलिपल्ट भारतको स्थापना भयो । भारतको बंगाल प्रान्तलाई पूर्वी पाकिस्तानमा र पश्चिम बंगाललाई भारतमै रहन दिइयो । त्यसरी नै पञ्जाब प्रान्तको पश्चिमी भागलाई पश्चिम पाकिस्तानमा र बाँकीलाई भारतमै रहन दिइयो । भारतको एकातिर पूर्वी पाकिस्तान र अर्कोतिर पश्चिमी पाकिस्तान । अर्थात पाकिस्तानतिर यी दुवै भूभाग एकापसमा नजोडिने गरी बिभाजन गरियो । त्यतिबेलाको भारतको जनसंख्या ३९ करोड थियो ।
तीमध्ये ३३ करोड भारतमै रहे भने ३ करोड पूर्वी पाकिस्तान र ३ करोड पश्चिमी पाकिस्तानतिर भए । विभाजन पूर्व र विभाजनपछि पनि त्यहाँ हिन्दू र मुसलमानबीच ठूलो दंगा भयो, जसमा १० लाखले ज्यान गुमाए भने साढे थप १४ लाख पाकिस्तानबाट भारत र भारतबाट पाकिस्तानतर्फ लागे । सन् १९५१ मा गरिएको जनगणनाअनुसार ७२ लाख भारतीय पाकिस्तानतर्फ लागेको देखियो भने करिब ७५ लाख हिन्दू र सिख समुदाय पाकिस्तानबाट भारततर्फ प्रवेश गरेको पाइयो ।
भारतका लागि अन्तिम गभर्नर लर्ड माउन्टबेटनको योजनाअनुरूप गरिएको विभाजनमा हिन्दूहरूको बाक्लो बसोवास रहेको बंगालको खुलना जिल्ला पाकिस्तानमा तथा मुस्लिमहरूको बाक्लो बसोवास क्षेत्र मुर्सिदाबाद र माल्दालाई भारतमा रहन दिइएको थियो । पूर्वी पाकिस्तानका जनता अधिकांश मुस्लिम बंगाली थिए, अल्पसंख्यक हिन्दूहरूको वस्तिको माझमा छरिएका । उर्दू कमैले मात्र बोल्थे तर, पाकिस्तान सरकारले सोही भाषालाई राष्ट्रिय भाषा घोषित गरिदियो । यसको बिरोधमा बंगाली भाषा आन्दोलनको शुरुवात भयो । यसअघि नै सत्तारूढ मुस्लिम लिगविरुद्ध अवामी लिगको गठन थियो ।
यो दल पूर्वी पाकिस्तानमा बलियो दल सावित भयो । यहाँका जनताले आफूहरूलाई पाकिस्तानको दोश्रो दर्जाको नागरिक ठान्न थाले । पाकिस्तान स्थापना भएको ३ वर्षमै सेनाले वामपन्थीहरूसित मिलेर लियाकत अलिको सरकारविरुद्ध विद्रोह ग¥यो, उक्त असफल विद्रोहमा पन्जाबी भाषाका वरिष्ठ कवि फैज अहमद फैज सामेल थिए । सन् १९५८ मा चिफ मार्शल अयुब खाँले पाकिस्तानका प्रथम राष्ट्रपति इस्कन्दर मिर्जालाई अपदस्थ गरी सत्ता हातमा लिए । उनैले सेनाप्रमुख बनाएका ए.ए.के. नियाजीले पूर्वी पाकिस्तानका आन्दोलनकारीलाई ‘नीच, र झूठो बोल्नेहरूको भूमि’ भन्दिए ।
सेना प्रमुखको वक्तव्यलाई आन्दोलनकारीहरू क्रुद्ध बने । नतिजा, जातीय द्वन्द चर्कियो । पूर्वपाकिस्तान स्वतन्त्र हुनुपर्ने माग उठ्न थाल्यो । आन्दोलनकारीहरूको यो मागमा अवामी लिगले मलजल दियो । पाकिस्तानको उच्च वर्ग अन्दोलनकारीको कारक हिन्दूहरूलाई मान्थ्यो । मुलुकलाई पाक (शुद्ध) बनाउन हिन्दूहरूको बलिदान आवश्यक ठान्थ्यो । त्यसैले सेना र उनीहरूका सहयोगीले हिन्दू महिलामाथि बलात्कार गर्न थाले । मुस्लिम धर्मगुरुहरूले पनि बलात्कारीहरूलाई समर्थन जनाए ।
सेनाले हिन्दू बंगालीहरूलाई समातेर शिविरमा ल्याउन र बलात्कार गर्न थाल्यो । कति त सामुहिक बलात्कारको शिकार बने । शारीरिक सम्बन्ध बनाउन र बलात्कृत हुन नमान्नेहरु मारिन थाले । बृटिश युद्ध संवाददाता तथा लेखक औबरे मेननले एक जना १७ वर्षीया हिन्दू बेहुलीको यसरी उल्लेख गरेका छन्– दुईजना सैनिक बेहुला बेहुलीको लागि सजाइएको कोठाभित्र पसे । अरुले परिवारका अन्य सदस्यलाई नियन्त्रणमा लिए । बेहुला चिच्याइरहे । बेहुली रोइरहिन् । केहीबेरपछि बेहुलीको कक्षमा पसेका एकजना सैनिक उल्टो लुगा लगाएर निस्किए । उनले साथीहरूलाई केही कुरा भने । एकछिनमा अर्को एकजना सैनिक बेहुलीको कोठाभित्र पस्यो । यसरी घर पसेका ६ जनै सैनिकले ती बेहुलीमाथि बलात्कार गरे । उनीहरु निस्केपछि बेहुलाका बाबु बेहुलीको कोठाभित्र पसे । उनले आफ्नी नवविवाहित बुहारीलाई रगतपच्छे अवस्थामा फेला पारे । बेहुलाले पहिल्यै बान्ता गरिसकेका थिए र आफैंले वान्ता गरेको फोहरमा घुँडा टेकेर बसेका थिए ।
पछि बंगालीको मुक्ति संग्रामलाई भारतले सहयोग गरेपछि पाकिस्तानी सेना घुँडा टेक्न बाध्य बन्यो । र, सन् १९७१ को डिसेम्बर १६ मा स्वतन्त्र बंगलादेश बन्यो । पूर्वपाकिस्तान बंगलादेशमा परिणत भएपछि पाकिस्तान पश्चिम पाकिस्तानमा (वर्तमान पाकिस्तानको भूभाग) मा सीमित भयो । बंगलादेशको निर्माणमा अवामी लिगका नेता शेख मुजिबुर रहमानको ठूलो योगदान रह्यो ।
जनआस्था डट कम बाट लिइएको