छोरीलाई बलात्कार गर्ने बुवालाई दैलेख जिल्ला अदालतले ३३ वर्ष कैद सजायको फैसला गरेको छ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार उक्त फैसला गरेको हो।
दैलेखका ५० वर्षीय ती बाबुले १७ वर्षीया आफ्नी छोरीलाई २०७९ चैत १ गते बलात्कार गरेका थिए। चैत २१ गते बालिका पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। २१ गते नै प्रहरीले अभियुक्त बुवालाई पक्राउ गरेको थियो।
बलात्कार पुष्टि भएपछि बुलावाई हाडनाता करणी मुद्दामा २५ वर्ष र उमेरअनुसारको करणी मुद्दामा ८ वर्ष गरी ३३ वर्ष कैद सजाय सुनाइएको हो।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २२० को उपदफा २ (क) मा जन्माउने आमा छोरा वा बाबु छोरीको करणी भएमा जन्मकैद हुने व्यवस्था गरिएको छ।
यस्तै, दफा २१९ को उपदफा ३ (ङ) मा १८ वा त्यसभन्दा बढी उमेरको महिलालाई करणी गरेमा ७ देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।